Main Menu

मिर्गौला झिकेर आफन्तसँग गुपचुप गरेको सम्झौता मान्य नहुने-बिरामीका आफन्त

परिवारकै सहमतिमा मिर्गौला झिकिएको होः मनमोहन अस्पताल

 

family-agreed-operation-manamohanअसार २२, काठमाडौँ । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल (प्रस्तावित) ले विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालको उपचारमा कुनै लापरबाही नभएको जनाएको छ ।

पत्थरीको शल्यक्रिया गर्दा मिर्गौला झिकिएको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित/प्रसारित भएपछि अस्पतालले आज पत्रकार सम्मलेन गरेर पत्थरीको शल्यक्रिया गर्ने क्रममा मिर्गौलाको शल्यक्रिया भएको बिषय साँचो हो भन्दै पत्थरीको शल्यक्रियाको क्रममा मिर्गौलाबाट रगत बगेर बिरामीको ज्यानै जान सक्ने जोखिम रहेपछि परिवारकै सहमतिमा मिर्गौला झिकिएको स्पष्ट पारेको छ ।

बिरामीको दुबै मिर्गौलामा पत्थरी भएकामध्ये देब्रे मिर्गौलाको २ सेन्टिमिटर लम्बाईको पत्थरी निकाल्ने तयारी हुँदा परीक्षणबाट उक्त मिर्गौला सामान्य अवस्थामा भन्दा तल मुत्रथैलीको नजिक रहेको देखिएको बताउँदै शल्यक्रियाका नेतृत्वकर्ता वरिष्ठ युरोलोजिष्ट प्रा. डा. गुणकुमार श्रेष्ठले भने, “शल्यक्रिया अघि नै बिरामी र बिरामीका आफन्तलाई शल्यक्रिया जटिल र जे पनि हुन सक्ने भनी सम्झाइएको थियो । भवितव्यमा परी केहि भएमा दोष दिइने छौनौँ भनी बिरामी र विरामीको आफन्तले सहि गरेपछि शल्यक्रिया गरेका थियौँ ।”

“शल्यक्रिया गर्दा असामान्य अवस्थामा रहेका मिर्गौलाबाट अत्यधिक रक्तश्राव भई ज्यानै जानसक्ने परिस्थितिको सिर्जना भएपछि उपलब्ध वैज्ञानिक उपाय गर्दा पनि रगतश्राव नरोकिएकाले परिवारकै सहमतिमा मिर्गौला झिकिएको हो,” उनले भने ।

रिमालको पत्थरी झिक्ने क्रममा मिर्गौला झिकेपछि अस्पताल प्रशासनले बिरामीका आफन्तसँग ६ बुँदे सम्झौता गरेको थियो । तर बिरामी र उनका आफन्तले मिर्गौला झिक्नुको कारणको माग गर्दै रु. ५० लाख क्षतिपूर्ति माग गरेका छन् । आफ्नो मिर्गौला अन्य प्रयोजनका लागि झिकिएको हुनसक्ने आरोप बिरामीले लगाउँदै आएका छन् ।

मिर्गौला झिक्नुको कारण आन्तरिक रक्तश्राव भनिएपनि अस्पताल र बिरामीका आफन्तबीच भएको ६ बुँदे सम्झौता पत्रमा बिरामीलाई अर्को मिर्गौला फेर्नुपर्ने भए फेरिदिने, जीवनभर उपचार निःशुल्क गर्ने, हालसम्म लागेको औषधिलगायतका सम्पूर्ण उपचारशुल्क मिनाहा गर्ने, बिरामीका दुई छोराको स्वास्थ्य र शिक्षाको निःशुल्क व्यवस्था गर्ने, बिरामीको श्रीमती र बिरामीलाई पनि निको भएपछि सोही अस्पतालमा रोजगारीको व्यवस्था गर्ने तथा बिरामीको जीवन बिमा गरिदिने उल्लेख छ ।

एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्केका ३२ वर्षीय रिमाल कोखको अत्याधिक दुखाईपछि गत जेठ २२ गते उपचारका लागि उक्त अस्पतालमा भर्ना भएका थिए । उनको जेठ २५ गते शल्यक्रिया भएको थियो ।

रिमालले शल्यक्रिया गर्नुपूर्व चिकित्सकले यस विषयमा आफूलाई कुनै जानकारी नदिई मिर्गौला झिकेर आफन्तसँग गुपचुप गरेको सम्झौता मान्य नहुने भन्दै न्यायका लागि महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दर्ता गराएका थिए ।

प्रहरी परिसरले आवश्यक कारबाही छिटै अगाडि बढाउने आश्वासन दिएको बिरामीकी बहिनी भगवती रिमालले बताइन् ।

मिलिसकेको कुरा सञ्चार माध्यममा आएको भन्दै बिरामीसँग गरिएको सम्झौता रद्द गर्ने चेतावनी अस्पतालले दिएको छ ।

‘‘उहाँहरू अदालतमै गएपनि केही हुँदैन । हार मात्र हुने हो,’’ अस्पतालका निर्देशक डा. धर्मराज सुवेदीले भने ।

‘‘परिवारको पूर्ण सहमतिमा मिर्गौला झिकिएको हो । उक्त मिर्गौला हामीसँग सुरक्षित छ, बिरामीलाई पूर्ण निको पारी पठाइएको थियो,” निर्देशक डा. सुवेदीले भने, ‘‘तीन हप्तापछि अनेक माग राख्दै बदनाम गराउने र भौतिक आक्रमणको धम्की बिरामी र उनका आफन्तले दिइरहेका छन् ।’’

अस्पतालले कुनै प्रकारका लापरवाही नभएको भन्दै मिलिसकेको बिषयलाई अहिले आएर उठाइनुमा राजनीतिक विषय जोडिएको अस्पतालले आरोप लगाएको छ । 

(Visited 192 times, 1 visits today)

टिप्पणी

comments