Main Menu

मुलुक र जनताको गरिमा बढाउने काम गर्नेछु – सञ्चारमन्त्री बस्नेत

नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत

साउन ११,  काठमाडौँ । नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना तथा सञ्चार मन्त्रालयमा आज साँझ पदबहाली गरे ।

नवनियुक्त मन्त्री बस्नेत मन्त्रालय पुग्नुहुँदा सचिव महेन्द्रमान गुरुङ्गलगायत मन्त्रालय मातहत विभाग र निकायका प्रमुखले स्वागत गरेका थिए ।

पदबहालीलगत्तै सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा सूचना तथा सञ्चार मन्त्रालय मातहत परेका कार्यक्रमको कार्यान्वयन गर्ने निर्णयमा उहाँले हस्ताक्षर गरेका थिए ।

त्यस निर्णयमा कार्यक्रम कार्यान्वयन, अनुगमन, आफ्नै स्रोत भएका मातहतका निकायले पेश गर्नुपर्ने प्रगति विवरण, योजना कार्यान्वयनपछि पेश गर्नुपर्ने प्रतिवेदन, मूल्याङ्कनसम्बन्धी विषय समेटिएका छन् । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुक र जनताको गरिमा बढाउने र परिणाम दिने गरी सञ्चार मन्त्रालयमा रहेर आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नवनियुक्त मन्त्री बस्नेतले आजै सूचना तथा सञ्चार मन्त्रालय, विभाग र मातहतका निकायका प्रमुखलाई निर्देशन दिँदै मेहनत र सुझबुझका साथ परिणाम दिने गरी काम गर्ने आफ्नो योजनामा सबैको साथ, सहयोग र सल्लाहको अपेक्षा गरेको बताए ।

“राम्रो काम गर्नेलाई प्रोत्साहन र गल्ती गर्नेलाई दण्डको व्यवस्था हुनुपर्छ भन्ने मेरो मान्यता हो, सबैले ठीक ढंगले ठीक समयमा कार्यसम्पादन गर्ने पद्धतिको विकास गर्न आवश्यक छ”– उनले भने ।

‘चेन अफ कमाण्ड’को सम्मान गर्दै समूहको भावनाअनुरुप काम गर्न सकियो भने मन्त्रालयले आफ्ना काम कारबाहीमा उत्कृष्ट नतिजा दिन सक्छ भन्नेमा आफू विश्वस्त रहेको सूचना तथा सञ्चारमन्त्री बस्नेतले स्पष्ट पारे ।

पीता खड्गबहादुर र माता कोमलमायाका जेठो छोरोका रुपमा विसं २०१५ मा सिन्धुपाल्चोक बाह्रबिसेमा जन्मेका बस्नेतले विसं २०३४ देखि नेविसङ्घबाट राजनीतिक जीवन प्रारम्भ गरेका हुन् । राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर बस्नेत विसं २०५६ मा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यसअघि स्वास्थ्य राज्यमन्त्री भइसकेका मन्त्री बस्नेत संविधानसभाको दोस्रो निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट संविधानसभा सदस्य चुनिएका थिए ।

यसअघि सचिव गुरुङले मन्त्रालयको समग्र वस्तुस्थिति, राष्ट्रिय आमसञ्चार नीतिलगायतका विषयमा मन्त्री बस्नेतलाई सामान्य जानकारी गराएका थिए ।

रासस

(Visited 349 times, 1 visits today)

टिप्पणी

comments