Main Menu

अफ्रिका नै आधुनिक मानवको उदयको थलो हो

  • तुल्सीदास महर्जन

modern-human-evolved-africaमानवशास्त्रीहरु के कुरामा विवाद गर्छन् भने आधुनिक मानवको उदय अर्थात् विकास अफ्रिकाबाट भयो या यूरोप, अफ्रिका र एशियाका विभिन्न ठाउँहरुबाट भयो । धेरै वैज्ञानिकहरु आधुनिक मानव अर्थात् होमो स्यापियन्स् स्यापियन्स्को उदय अफ्रिकाबाट नै भएको हो भन्ने कुरामा विश्वास गर्दछन् । अन्य केही वैज्ञानिकहरु भने यो विचारमा सहमत देखिन्नन् । तर अनुसन्धानहरुले आधुनिक मानवको उदय अफ्रिकाबाटै भएको हो भन्ने कुरालाई पुष्टि गर्छन् । यस्तो एक पुष्टि अमेरिकाको बर्कलेस्थित क्यालिफोर्निया विश्वविद्यालयका जीवावशेषविद् टिम ह्वाइट र उनको अगुवाइमा रहेको वैज्ञानिक टोलीले गरेको छ ।

अफ्रिका महादेशको इथियोपिया देशको दुर्गम क्षेत्रस्थित अफार उपत्यका प्राग मानवहरुका जीवावशेषहरु प्रशस्त भएको ठाउँ हो । त्यसैले त्यहाँ कैयौं जीवावशेषविद् तथा मानवशास्त्रीहरु निरन्तर अनुसन्धानमा लागिरहेका छन् । त्यही क्रममा वैज्ञानिक टिम ह्वाइट र उनको टोलीले सन् १९९७ मा अफ्रिकाको अफार क्षेत्रमा जमिनमुनि उत्खनन् गरेर एक पाको पुरुष मानवको करिब पूरै खप्पर, अर्को स्त्री मानवको तथा बालकको खप्परका केही भागहरु फेला पारेका थिए । करिब ६ वर्ष लगाएर गरिएको ती खप्परहरुको सूक्ष्म अध्ययन र विश्लेषणबाट वैज्ञानिक टिम र उनका सहकर्मी वैज्ञानिकहरुले के निश्कर्ष निकाले भने ती खप्परहरु आधुनिक मानवको शुरुको पुस्ताका हुन् । अर्थात् तिनीहरु होमो स्यापियन्स् मानवहरु थिए ।

आश्चर्य त के भयो भने ‘रेडियो कार्वन डेटिङ्ग’बाट ती मानवहरु आजभन्दा करिब १ लाख ६० हजार वर्ष पुराना भएको तथ्य थाहा भयो । आधुनिक मानवसँग प्रत्यक्ष नाता भएको यसअघिसम्म फेला परेको सबभन्दा पुरानो जीवावशेष करिब १ लाख देखि १ लाख ३० हजार वर्षसम्म मात्र पुरानो थियो । त्यो जीवावशेष पनि अफ्रिकामा नै फेला परेको थियो । यसले गर्दा यस अनुसन्धानले फेरि पनि आधुनिक मानवको उदय अफ्रिकाबाट नै भएको हो भन्ने कुराको शानदार पुष्टि गर्दछ ।

वैज्ञानिकहरुका अनुसार आधुनिक मानव होमो स्यापियन्स् स्यापियन्स्को सबभन्दा पछिल्लो पुस्ता आजभन्दा १ लाख देखि १ लाख ३० हजार वर्षबीचको समयमा उदय भएर आजभन्दा करिब ३० देखि ४० हजार वर्ष अघिसम्म अस्तित्वमा रहे ।

पछिल्लो समयको होमो स्यापियन्स् क्रोम्याग्नन् हो । तिनीहरुको जीवावशेष सर्बप्रथम सन् १८६८ मा फ्रान्सको क्रोम्याग्नन् गुफामा फेला परेको हो । क्रोम्याग्नन् मानवहरुसम्म आइपुग्दा मानव संस्कृति शुरु हुन पुग्यो । उनीहरुले जनावरहरुको हाडखोर तथा सिङ्गहरुबाट फरकफरक प्रकारका औजारहरु बनाउने, शरीरमा लुगा लगाउने, गुफाभित्र कलात्मक चित्रहरु कोरी मनमा उठेको भाव सञ्चार गर्ने, मन र आत्माको वोध गर्ने आदिजस्ता उन्नत सिप तथा व्यवहारहरु सिक्न थाले । वास्तवमा क्रोम्याग्नन् मानवहरु नै पछाडि गएर आधुनिक मानवहरुमा विकसित भएको हो भन्ने कुरा मानवशास्त्रीहरु पुष्टि गर्दछन् ।

तर, पछिल्लो अनुसन्धानले आधुनिक मानवको उदय पहिले सोचिएको भन्दा करिब ३० हजार वर्षपहिले नै भएको कुरा पुष्टि गर्दछ । अर्थात् आधुनिक मानव होमो स्यापियन्स्को उदय आजभन्दा करिब १ लाख ६० हजार वर्ष पहिले नै अफ्रिकामा भइसकेको रहेछ । अनुसन्धानमा संलग्न वैज्ञानिक टिम ह्वाइट तथा उनको टोलीले आधुनिक मानवको शुरुको त्यो पुस्तालाई होमो स्यापियन्स्को एउटा उपवर्गको रुपमा व्याख्या गरेका छन् । र, उनीहरुले त्यसको नाम होमो स्यापियन्स् इडल्टू (Homo sapiens idaltu) राखेका छन् । अफार उपत्यकाका अफ्रिकी मानिसहरुको भाषाबाट इडल्टूको अर्थ ‘जेठो’ हो ।

वैज्ञानिक टिम ह्वाइट र उनको टोलीको अनुसन्धान मानव विकासको इतिहासको अध्ययनमा धेरै महत्वपूर्ण उपलब्धि भएको कुरामा वैज्ञानिकहरु सहमत छन् । उनीहरु के भन्छन् भने होमो स्यापियन्स् इडल्टूले मानव विकासको श्रृंखलामा १ लाख देखि ३ लाख वर्षबीचको लामो खाली भाग भरिदिएको छ । त्यस्तैगरी वंशाणुविद्हरुले वंशाणु संरचनाको आधारमा आधुनिक मानवको उदय आजभन्दा १ लाख देखि २ लाख वर्षको बीचमा अफ्रिकाबाट भयो भन्ने अहिलेसम्म व्यक्त गर्दै आएको विचारलाई पनि पछिल्लो अनुसन्धानले पुष्टि गरिदिएको छ ।

अनुसन्धानमा संलग्न वैज्ञानिक टिम ह्वाइट र उनको टोलीले होमो स्यापियन्स् इडल्टूको जीवावशेष भेटिएको ठाउँमा ढुङ्गे बन्चरोलगायत हजारौं अन्य ढुङ्गे हतियारहरु फेला पारेका छन् । त्यस्तै त्यहाँ तिनीहरुले जल गैंडा तथा मृगका मासु झिकिएका हाडहरु पनि छरिएर रहेको अवस्थामा फेला पारेका छन् । टिम ह्वाइटका अनुसार अफार उपत्यका सम्भवतः पहिले एक ठूलो ताल तथा मानिसहरुको खाद्य सामग्री खोज्ने एक थलो थियो । अनुसन्धानमा संलग्न वैज्ञानिकहरुका अनुसार होमो स्यापियन्स् इडल्टूको खप्पर स्पष्ट रुपले आधुनिक मानवको स्वरुपसँग मेल खान्छ । त्यसको निधार माथि उठेको, अनुहार फराकिलो र आँखीभौ सानो किसिमको रहेको छ, जबकि प्राग मानवको खप्पर ठूलो आँखीभौ सहितको भद्दा खालको हुन्छ ।

वैज्ञानिकहरुका अनुसार नेन्डरथल मानव र होमो स्यापियन्स् इडल्टू साथसाथै अस्तित्वमा रहेको देखिन्छ । तर, पछि नेन्डरथलहरु लोप हुन गए भने होमो स्यापियन्स् आधुनिक मानवमा विकसित भयो । यसबाट बढी बुद्धिमान होमो स्यापिन्स्ले भद्दा नेन्डरथल मानवलाई विस्थापित गरेको तथ्य देखिन्छ ।

वैज्ञानिकहरुका अनुसार होमो स्यापियन्स् इडल्टूको खोजले पुनः के कुरालाई पुष्टि गरेको छ भने प्रकृतिमा कुनै पनि प्रजातिलाई अस्तित्वमा रहनको लागि प्राकृतिक छनौटको भूमिका प्राथमिक रहन्छ । यसले अर्को के कुरा पनि उजागर गरिदिएको छ भने आधुनिक मानव जातिको विकासको जरा एउटै रहेको छ । र, त्यसको विकासको थलो अफ्रिकाको सहारा मरुभूमिको वरपरको क्षेत्र नै हो ।

(Visited 403 times, 1 visits today)

टिप्पणी

comments