Main Menu

चिनियाँ राष्ट्रपति सि जिन पिङको दाबी

‘चीनको अर्थतन्त्र : मार्क्सवादी दर्शनमा नयाँ विकास !’

चिनियाँ राष्ट्रपति सि जिनपिङ

चिनियाँ राष्ट्रपति सि जिनपिङ

मंसिर १६, काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले चीनले मार्क्सवादी दर्शनमा नयाँ विकास गर्ने दाबी गरेका छन् । उनले चीनको आर्थिक विकास र आर्थिक नीतिको अनुभव र अभ्यासले मार्क्सवादी आर्थिक दर्शनमा नयाँ प्रगति हासिल गर्ने बताएका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको बीचमा सिले चीनको आर्थिक उन्नति अब मार्क्सवादी दर्शनको विकास गर्नेमा पुगेको चर्चा गरेका हुन् । अघिल्लो साता केन्द्रीय समितिको पोलिटब्युरो सदस्यहरूको छलफल तथा अध्ययन सत्रमा कार्ल मार्क्सको अर्थ–राजनीतिक अध्ययन विधि र आधारभूत सिद्धान्तबारे बोल्दै राष्ट्रपतिले यस्तो चर्चा गरेको चिनियाँ समाचार संस्था सिनुहा नेटले जनाएको छ ।

राष्ट्रपति सिले देशभित्र र बाहिरको आर्थिक अवस्थामा आएको अत्यन्तै जटिल परिस्थिति र अनेक आर्थिक परिघटनाहरूका बारेमा सही विश्लेषण गर्ने र निष्कर्षमा पुग्नका लागि मार्क्सवादी अर्थ–राजनीति नै वैज्ञानिक तरिका भएकोमा जोड दिएको सिन्हुवाले लेखेको छ । उनले समाजवादी बजार अर्थतन्त्रको व्यवस्थापन क्षमताको सुधार गर्न पनि मार्क्सवादी अर्थ–राजनीति नै सही हुने चर्चा गरेको जनाइएको छ ।

मार्क्सवादी अर्थ–राजनीतिको आधारभूत नीति र सँगसँगै नयाँ खुलापन र सुधारका अभ्यासहरूका थुप्रै सैद्धान्तिक उपलब्धिहरूबाट चिनियाँ कम्युनिस्ट पार्टी समृद्ध भएको भन्दै सिले बजारको निर्णायक भूमिकालाई आत्मसात गर्दै व्यवहारिक विकासमा अघि बढेको बताएका छन् ।

‘यो नयाँ विकास अवधारणाले नै हाम्रो देशको आर्थिक विकासलाई निर्देश गर्न सक्यो, जटिल समस्याहरूको गाँठो फुकाउन सक्यो र आर्थिक विकासमा नयाँ उचाइ हासिल गर्न सक्यो,’ बैठकमा सिले भनेको भनाइ सिन्हुवाले प्रकाशित गरेको छ ।

मार्क्सवादी अर्थ–राजनीतिक सिद्धान्तको आधारभूत मर्मका रुपमा जनतालाई केन्द्रमा राखेरै नीति निर्माण गरिएको र आर्थिक विकास प्रवद्र्धन गरिएको पनि सिले उल्लेख गरेका छन् । समाजवादी आर्थिक व्यवस्थाको आधारलाई बलियो बनाउँदै जानुपर्ने कुरामा प्रकाश पार्दै सिले सार्वजनिक क्षेत्रलाई प्रोत्साहित गर्ने र गैरसार्वजनिक क्षेत्रको विकासमा सहयोग र निर्देशन गर्ने कुरामा जोड दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोको छलफल तथा अध्ययन समूहको बैठकमा पार्टीका पोलिटब्युरो सदस्यहरूले शिक्षा मन्त्रालय अन्तर्गतको समाजविज्ञान समितिका प्राध्यापक गु हाइलिएङको प्रशिक्षण सुनेका थिए ।

कुनै खास विषयमा शीर्ष नेतृत्वले सिक्नुपर्ने भयो भने चिनियाँ कम्युनिस्ट पार्टीले समूह छलफल तथा अध्ययन आयोजना गर्ने गर्छ । यस्ता छलफल सत्रमा विषय–विशेषज्ञहरूलाई ल्याएर प्रशिक्षण चलाउने गरिन्छ । नयाँ महाधिवेशनपछि बनेको पोलिटब्युरोमा यो २८ औँ समूह छलफल तथा अध्ययन सत्र थियो ।

चीनमा सन् १९४९ मा माओ त्से तुङको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि त्यसको एक झण्डै एक दशकपछि समाजवादी अर्थनीति लागू गरिएको थियो । माओ त्से तुङको सन् १९७६ मा मृत्यु भएपछि भने चीनले बजार अर्थतन्त्रको बाटो र खुलापनको नीति लिएको थियो ।

(Visited 1,058 times, 1 visits today)

टिप्पणी

comments