Main Menu

उत्तर कोरियाको तयारी

अमेरिकाको पश्चिमी किनारा पुग्ने क्षेप्यास्त्र परीक्षण

असोज २१, मस्को

भिड्नु परे भिड्ने मुडमा रहेका उत्तर कोरियाली जनसेना । फोटो : औङ मेइ/एपि

एकजना रुसी विधायकले उत्तर कोरियाले अमेरिकाको पश्चिम किनारा पुग्ने क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरिरहेको खुलासा गरेका छन् । उनी भर्खरै उत्तर कोरियाली राजधानी प्योङयाङ पुगेर फर्केका हुन् ।रुसी समाचार संस्था आरआइएले जनाए अनुसार रुसी तल्लो सदनको अन्तर्राष्ट्रिय मामिलाका एक सदस्य एन्टोन मोरोजोभ र अन्य दुईजना रुसी विधायकहरुले यही अक्टोबर २ देखि ६ सम्म प्योङयाङको भ्रमण गरी फेर्केका हुन् ।

आरआइएका अनुसार हिजो शुक्रवार विधायक मोरोजोभले भने, “उनीहरुले (उत्तर कोरियालीहरुले) लामो दूरीको क्षेप्यास्त्रका नयाँ परीक्षणहरु गर्न तयारी गरिरहेछन् । उनीहरुले हामीलाई ती क्षेप्यास्त्रहरुले अमेरिकी पश्चिमी किनारासम्म मार हान्न सक्ने क्षमता राख्ने गणितीय प्रमाण देखाएका छन् ।”

“हामीले बुझ्दासम्म तिनीहरुले निकट भविष्यमा एउटा थप लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गर्ने मनसाय देखाएका छन् । र, समग्रमा उनीहरु युद्धको मुडमा छन् ।” मोरोजोभ भन्छन् ।

उत्तर कोरियाली नयाँ क्षेप्यास्त्र परीक्षणले नराम्रो असर गर्ने भएकोले बजारमा त्यसले कयौं गुणा अनिश्चितता ल्याउने अनुमान लगानीकर्ताहरुले गरेका छन् । र, त्यसबाट उनीहरु अत्यन्त चिन्तित भएको अहिलेको स्थितिमा अमेरिकी ‘ट्रेजरी बन्ड’ को भाउ उच्च हुन पुगेको रुसी विधायक मोरोजोभको टिप्पणी रहेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रइटर्जका अनुसार विधायक मोरोजोभको वयान स्वतन्त्र रुपले पुष्टि भएको छैन । र, मोरोजोभले उत्तर कोरियाका खास कुन अधिकारीले आफूहरुको योजनाबद्ध परीक्षणबारे उनलाई जानकारी दिएका हुन् केही खुलाएनन् ।

वासिङ्टनमा एक अमेरिकी अधिकारीले ‘उत्तर कोरियाले आगामी १० अक्टोबरमा एउटा अर्को क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरिरहेको’ संकेत आफूहरुले पाएको बताए । त्यो दिन उत्तर कोरियाको सत्तारुढ कोरियाली श्रमिक पार्टीको स्थापना दिवस पर्दछ ।

ती अधिकारीले परिस्थिति अज्ञात भएको बताउँदै उत्तर कोरियाले परीक्षण गर्न सक्ने क्षेप्यास्त्रको किसिमबारे केही खुलाएनन् र विगतमा उसले आफूले दिएका संकेतहरु बाहेकका प्रक्षेपणहरु नगरेकोले सावधानी अपनाउन सतर्क गराएका छन् ।

यसै हप्ता वासिङ्टनमा भएको एक सम्मेलनमा बोल्दै एक वरिष्ठ सिआइए विश्लेषकले भने, “अक्टोबर १० मा उत्तर कोरियाली सरकारले कुनै प्रकारको हल्लावाजी गर्न सक्छ” । तर, उनले त्यो हल्ला कस्तो खालको हुन सक्छ भन्नेबारे केही खुलाएनन् ।

“किम जोङ उनले जे गरिरहेछन्, त्यसमा उनको उद्देश्य स्पष्ट देखिन्छ । मलाई लाग्दैन उनले त्यस अनुसार केही ठोस काम गरिसकेका छन्”, योङ सुक ली भन्छन् । उनी यही वर्ष स्थापना गरिएको ‘सिआइएको कोरिया मिसन केन्द्र’ का डेपुटी डिरेक्टर हुन् ।

उत्तर कोरियाली राजधानीस्थित रुसी दूतावासको हवाला दिँदै आरआइए समाचार संस्था भन्छ, “प्योङयाङमा मोरोजोभ प्रतिनिधि मण्डलको उच्च स्तरको बैठक थियो”

आरआइए समाचार संस्थाका अनुसार उत्तर कोरियाली अधिकारीहरुसँगका बैठकहरुको ब्याख्या गर्दै रुसी विधायक मोरोजोभ भन्छन्, “उनीहरु (उत्तर कोरियाली अधिकारीहरु) ले गम्भीर प्रतिवद्धता देखाए र आफूहरुको कार्यक्रमबारे आक्रमक शैलीमा ब्याख्या गरे”

विश्वका अन्य मुलुकहरुको तुलनामा उत्तर कोरियाको रुससँग नजिकको सम्बन्ध रहेको छ । त्यसैले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको हतियार कार्यक्रमलाई विरोध गरे पनि उनको स्वर अन्य पश्चिमी सरकारहरुको तुलनामा मलिन देखिन्छ । पुटिन भन्छन्, “प्योङयाङ आफ्नो हतियार कार्यक्रम त्याग्न गइरहेको छैन ।”

उनले वासिङटनले उत्तर कोरियामा सत्ता परिवर्तन गर्न प्रयत्न गरिरहेको आरोप लगाएका छन् । यदि त्यस्तो गरियो भने अकल्पनीय अराजक विनाश निम्तिन सक्ने पुटिनले भविष्यवाणी गरे ।

 

दगार्जियन डटकम/इमूल्याङ्कन

(Visited 147 times, 1 visits today)

टिप्पणी

comments