Main Menu

अमानवीयताकाे पराकाष्ठा : सुत्केरी हुन पठाइन्छन् गोठमा

फागुन ६, जाजरकोट

pregnant-woman-sent-goth

नलगाड नगरपालिका–८ की कैसी खत्रीलाई सुत्केरी बेथा लागेपछि गोठमा सारियो । गोबरको गन्ध र फोहोर खपेर उनी सुत्केरी भइन् । न न्यानो कपडा, न सफा ओछ्यान । परालमा नै उनले शिशु जन्माइन् । उनका श्रीमान् रविन खत्री यतिवेला कामका लागि भारत गएका छन् ।

उनकी सासू विष्णु खत्री ३० वर्षअघि पहिलोपटक सुत्केरी हुँदा पनि गोठमा नै पुर्‍याइएको थियो । उनी पनि यसरी नै असुरक्षित सुत्केरी भएकी थिइन् । ३० वर्षपछि पनि जाजरकोटका महिला उसरी नै असुरक्षित सुत्केरी भइरहेका छन् ।

‘गाउँका पुरुष सबै कमाउन गएका छन् । डोकोमा बोकेर अस्पताल लैजाने कोही छैन । हाम्रै पालादेखि भगवान् भरोसामा छ ।’

विष्णुका अनुसार स्वास्थ्य संस्था ४ घण्टा टाढा छ । उनका श्रीमान् रामबहादुर र छोरा रविन दुवैजना कामका लागि भारत गएका छन् । घरमा मात्र नभई सो गाउँमा नै पुरुष छैनन् । उनले भनिन्, ‘गाउँका पुरुष सबै कमाउन गएका छन् । डोकोमा बोकेर अस्पताल लैजाने कोही छैन । हाम्रै पालादेखि भगवान् भरोसामा छ ।’

बारेकोट गाउँपालिका वडा नम्बर–६ धुमाकी कल्धरी चलाउनेका चार छोराछोरी छन् । सबैलाई गोठमै जन्माएको कल्धरीको भनाइ छ । अहिले उनकी बुहारी पनि गोठमै सुत्केरी भइरहेकी छिन् ।

धुमाबाट सिलिङीचौरस्थित स्वास्थ्य संस्था पुग्न करिब पाँच घन्टा लाग्छ । बारेकोट गाउँपालिकाको कुनै पनि वडा सडक सञ्जालले जोडिएको छैन । सडकको पहुँचमा नहुनु र स्वास्थ्य संस्था घन्टौँ टाढा हुनुले कल्धरी मात्र होइन, यहाँका सबै महिला भगवान् भरोसामा सुत्केरी हुन बाध्य छन् ।

गर्भ जाँच गराउँदैनन्

गाउँमा स्ट्रेचरसमेत नहुँदा बिरामी डोकोमा बोक्न बाध्य हुनुपरेको जुनिचाँदे गाउँपालिका जुनिका हिमाल घर्तीले बताए । उनका अनुसार स्वास्थ्य संस्था जान र आउन मात्र एक दिन लाग्ने भएपछि अधिकांश महिला गर्भ जाँचसमेत गराउँदैनन् ।

‘उकाली–ओरालीका कारण गर्भवतीलाई आउजाउ गर्न समस्या हुन्छ । अझ एक दिनको बाटो हिँड्न सक्ने त कुरै भएन । त्यसैले कोही पनि गर्भ जाँच गर्न जाँदैनन्,’ उनले भने ।

शिवालय गाउँपालिका–९ का कैले थापाका अनुसार कामको चापले कतिपयको गर्भपतनसमेत हुने गरेको छ । गर्भवती भएको समयमा महिलाले पोषिलो खानासमेत नपाउने गरेको थापाले बताए ।

स्वास्थ्य संस्थामा आएर नियमित गर्भ जाँच गराएपछि मात्र भिटामिनलगायतका औषधि पाइने स्थानीय अगुवा राजेन्द्रविक्रम शाहले बताए ।

तर, यहाँका महिला स्वास्थ्य संस्था नै नजाँदा भिटामिन र अन्य आवश्यक औषधि पाउँदैनन् । सरकारी स्वास्थ्य संस्था टाढा हुँदा अधिकांश महिला निजीस्तरबाट बाँडिने जथाभावी औषधि खाइरहेको उनको भनाइ छ ।

किन राखिन्छ गोठमा ?

मध्यपश्चिम र सुदूरपश्चिमका कतिपय ठाउँमा सुत्केरी हुने वेला घरमा राखिँदैन । उनीहरूलाई गोठमा सारिन्छ । सुत्केरी र महिनावारी हुँदा घरमा बसे देउता रिसाउने डरले उनीहरूलाई बाहिर बस्न बाध्य पारिएको हो ।

महिनावारी हुँदा छाउगोठमा राख्ने गरिन्छ । छाउगोठमा कतिपय महिलाको मृत्यु हुने गरेको छ । त्यस्तै, गोठमा सुत्केरी हुँदा आमा र शिशु असुरक्षित हुने गरेका छन् ।

  • हेमन्त केसी

नयाँ पत्रिकाबाट

(Visited 300 times, 1 visits today)

टिप्पणी

comments