Main Menu

बीमा कम्पनीको बदमासी – मृत्यु हुँदा समेत रकम दिएनन्

  • किरण भट्टराई

insurance-company-fraudअसार २१, काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा केही भइहाले आफू र घरपरिवारले राहत पाउने आशासहित कामदार विदेश जानुअघि जीवन बीमा र कामदार कल्याणकारी कोषमा रकम तिरेर जाने गर्छन् ।

रामेछापको मन्थली पिप्लेका शम्भु बुढाथोकीले ४ वर्षअघि विसं २०७० साउनमा वैदेशिक रोजगारीका लागि कुवेत जाँदा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दा पनि त्यस्तै आशा गरेका थिए । तर आशाअनुरुप उनी समस्यामा पर्दा बीमाबापतको राहत रकम पाएनन् ।

खाना पकाउने ‘कुक’को जागीरे भई रोजगारीका लागि कुवेत गएको ७ महिनापछि उनी पक्षाघातले थलिए । उच्च रक्तचाप अत्यधिक हुँदा मस्तिष्काघात भई उनलाई शरीरका सबै अङ्ग नचल्ने पक्षाघात भयो ।

कुवेतमै एक वर्ष उपचार गरे पनि बोल्न र चल्न नसक्ने अवस्थामा नेपाल फिर्ता पठाइएका बुढाथोकीलाई के कारणले त्यस्तो भयो भन्ने समेत परिवारले अझै भेउ पाउन सकेको छैन ।

“गएको ७ महिना भएको थियो । उहाँले पर्सि ३ लाख पैसा पठाइदिन लागेको छु भनेर फोन गर्नुभयो ।” उनकी जीवन सङ्गिनी गोमा बुढाथोकीले घटनाबारे सम्झना गर्दै भन्छिन्, “फोन गरेको अर्को दिन त्यस्तो भएछ ।”

नेपाल आएपछि वीर अस्पतालमा र मन्थलीमा पनि नियमित रुपमा उनलाई स्वास्थ्य जाँच गराइँदै आइए पनि स्वास्थ्यमा कुनै सुधार आएन । टाउकाको पछाडिको भाग चिरेको थियो, घाँटीमा पाइप हालेर तरल पदार्थ मात्रै खुवाइन्थ्यो । नेपाल फर्किएको ६ महिनापछि विसं २०७२ भदौ २ गते उनको मृत्यु भयो ।

स्वस्थ रुपमा गएका श्रीमान् त्यो अवस्थामा फर्किएपछि गोमाले धेरैचोटि श्रीमानसँग के भएको हो भनेर सोध्ने प्रयास गरिन् । तर शम्भुबाट कुनै प्रतिक्रिया आएन । शम्भुको न त शरीरका कुनै अङ्ग चल्थ्यो, न त बोली नै फुट्थ्यो । उनी केवल टोलाएर हेर्थे, कुनै प्रतिक्रिया दिँदैनथे ।

शम्भु यस्तो अवस्थामा फर्किएपछि गोमाले बीमारी भएको आधारमा पहिलोपटक र मृत्यु भएपछि पुनः दोस्रो पटक बीमाबापत पाउनुपर्ने रकम माग दाबी गर्दै प्राइम लाइफमा निवेदन दिइन् । तर ३ वर्षदेखिको उनको प्रयासले अझै मूर्त रुप लिन सकेको छैन ।

नियमानुसार उपचार गर्दा पनि कामदार एक वर्षसम्म सुधार नहुने किसिमको घाइते अवस्था बीमा अवधिभित्र भएमा उसलाई बीमाले पूर्ण रकम दिनुपर्छ । तर प्राइम लाइफले बीमा नियमले यस्तो घटनामा दिन नमिल्ने भन्दै क्षतिपूर्तिबापतको रकम नदिएको गोमाले जानकारी दिइन् ।

प्राइम लाइफले पटक-पटक बीमाको पैसा दिन्छु भन्दै उनलाई झुक्याइरह्यो, तर अहिलेसम्म दिएको छैन ।

“बीमाबापतको रकम पाइन्छ कि भनेर तीन/चारचोटि काठमाडौँ गएँ । उल्टै भएको पैसा पनि सकियो ।” उनी भन्छिन् ।

प्राइम लाइफको वैदेशिक रोजगार बीमाको क्षेत्र हेर्दै आएका अधिकृत विमलबहादुर राउतले यो घटनाबारे अनभिज्ञता प्रकट गर्दै प्रक्रिया पूरा भएर आएका सबै घटनामा आफूहरुले बीमाबापतको रकम दिने गरेको जिकिर गरे ।

“वर्षमा हामी रु. २० करोड जति वैदेशिक रोजगारमा गएका पीडित र उनका परिवारजनलाई दिँदै आएका छौँ ।” राउतले भने, “शम्भुजीको विषयमा केही प्रक्रिया पूरा नभएकाले नपाउनुभएको होला । प्रक्रिया पूरा भए नपाउने कुरै हुँदैन ।”

आफूले बीमा रकम नपाएपछि यो विषयमा गोमाले बीमा समितिमा पनि उजुरी गरिन् । निजी बीमा कम्पनीले त ठग्यो नै, सरकारी निकायको रुपमा रहेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले समेत उनलाई पूरै क्षतिपूर्ति रकम दिएन । बोर्डबाट उनले रु. ७५ हजार मात्रै पाइन् जबकि उनको जस्तै घटनामा अन्य व्यक्तिले बोर्डबाट रु. ३ लाखसम्म पाएका उदाहरण छन् ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेसँग यो विषयमा सोध्दा उनले ‘यस्तो घटनामा पूरै रकम पाउनुपर्ने हो । किन दिइएनछ, म अफिसमा सोधखोज गर्छु’ भन्ने जवाफ दिए ।

शम्भुलाई नेपाल ल्याइएपछि उपचारको क्रममा भैँसीदेखि बारी बेचे पनि निको हुन नसकेको पीडा गोमालाई छ । “एक जनाले झारफुक गरेर सञ्चो पारिदिन्छु भनेर पाँच दिन घरमै आएर बस्यो ।” गोमा भन्छिन्, “भदौ १ गते झारफुक गरेर रु. १५ हजार लगेर त्यो मान्छे गयो । अर्को दिन भदौ २ गते उहाँ बित्नुभयो ।”

श्रीमान् कुवेत जाँदा जग्गाको लालपुर्जा धितो राखी रु. १ लाख ऋण लिएर गएको उनले जानकारी दिइन् । श्रीमानको किरिया गर्दा लागेको रु. ५० हजार ऋण पनि तिर्न अझै बाँकी छ ।

उनका ३ छोरी र २ छोरा छन् । जेठी छोरीको बिहे भइसक्यो । घरमा रहेकी एउटी छोरी कक्षा १० मा, एउटा छोरा कक्षा ८, अर्की छोरी कक्षा ५ मा र सानो ४ वर्षको छोरा नर्सरीमा पढ्दैछन् ।

बीमाबापतको रकम आए छोराछोरीलाई धेरै पढाउने गोमाको चाहना छ । कान्छो छोरालाई काखमा च्याप्दै आँखाबाट आँसु झार्दै उनले प्रश्न गरिन्, “छोराछोरीलाई धेरै पढाउने मन छ तर, कमाउने मान्छे बित्नुभयो । खान त ६ महिनालाई मात्रै पुग्छ, कसरी पढाउने हो हजुर ?” 

(Visited 131 times, 1 visits today)

टिप्पणी

comments