Main Menu

२ नं.प्रदेशमा बागी उम्मेदवार उठे प्रेस सेन्टरले कार्वाही गर्ने

वैशाख १८, काठमाडौं
आगामी २०७५ वैशाख २२ सम्पन्न हुन गइरहेको पत्रकार महासंघको २ नं. प्रदेशको अधिवेशनमा प्रदेश समितिका लागि हुने निर्वाचनमा प्रेस सेन्टर नेपालको तर्फबाट उम्मेदवारहरु घोषणा गरिएको छ । समितिले हिजोको मितिमा जारी गरेको प्रेस विज्ञप्तिमा महासचिव पदमा मणिलाल विश्वकर्मा, खुल्ला सदस्य पदमा शैलेन्द्र झा र जनजाति सदस्य पदमा जगत राईलाई उम्मेदवार चयन गरिएको जनाइएको छ ।

यसअघि २०७५ वैशाख ४ गते तीन ठूला पत्रकार संघहरु प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबिच औपचारिक रुपमा निर्वाचनमा संयुक्त प्यानल बनाई जाने सम्झौता भएको थियो । यस अनुसार प्रदेश महासंघबाट समितिमा कोको कुनकुन पदमा निर्वाचित हुँदैछन् भन्ने कुरा निश्चित भएको छ । स्मरणीय छ प्रेस युनियन नेपाली कांग्रेस पार्टी, प्रेस चौतारी नेकपा (एमाले) र प्रेस सेन्टर नेकपा (माओवादी केन्द्र) सँग निकट छन् । यसले गर्दा तीन ठूला पार्टीहरु निकटका पत्रकार संघहरु पद बाँडफाँड गरी अधिवेशनमा जाने भइसकेपछि तिनीहरुभन्दा बाहिरकाहरुले अब प्रदेश समितिमा चियाउनु पनि नपर्ने स्थितिको सिर्जना भएको छ ।

यस स्थितिलाई कतिपय दलगत हिसाबले स्वतन्त्र भनाउन रुचाउने पत्रकारहरुले रुचाएका छैनन् । र, असन्तुष्ट पत्रकारहरुले आफूहरु पनि सहभागी हुनका लागि कस्तो भूमिका खेल्ने भनी सोचिरहेको अवस्थामा केही पत्रकारहरुले प्रेस सेन्टर नेपालबाटै उम्मेदवारी दिने भनी प्रचार गरिरहेका छन् । यस्तो प्रचारलाई प्रेस सेन्टर नेपालले भ्रम छरेको महसुस गरेको छ । विज्ञप्तिमा प्रेस सेन्टर नेपाल भन्छ, “प्रेस सेन्टरको उम्मेदवार हुँ भनी केही व्यक्तिले एकाध जिल्लामा भ्रम सिर्जना गर्ने कार्य गरिरहेको भन्ने सूचना प्राप्त भएकाले त्यसखाले भ्रममा नपर्न सूचित गर्दै यदि कसैले संगठनको विधि र प्रक्रियाभन्दा बाहिर गएर गतिविधि गरेमा मिति २०७५ वैशाख ४ गतेका दिन प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबीच भएको संयुक्त सहमति पत्र र तीनै संगठनका महासचिव त्रयले जारी गरेको संयुक्त विशेष परिपत्रको बुँदा बम्बर ६ विपरीत कार्य ठहरिने र सोही अनुसार कारवाही हुने” ।

(Visited 145 times, 1 visits today)

टिप्पणी

comments