Main Menu

मानव पुर्खाले खेती गर्न कहिले र कसरी सिके ?

  • तुल्सीदास महर्जन

human-agriculture-learnबिज्ञानको अलिकतिमात्र ज्ञान हुने जसलाई पनि अब के कुरा छिपेन भने मानवजाति पृथ्वीमा अनन्तकालदेखि रहँदै आएको होइन । साना र सरल जीवनबाट क्रमशः एकपछि अर्को गर्दै ठूला र जटिल जीवनमा विकसित हुँदै आउँदा नै पृथ्वीमा मानवजातिको उदय हुनपुग्यो । महान् बैज्ञानिक चार्ल्स डार्बिनको बिकासवादको सिद्धान्त (Theory of Evolution) ले यो कुरालाई पुष्टि गरेको छ ।

मावनशास्त्रीहरुले के कुरा पत्ता लगाएका छन् भने पुच्छर नभएको बाँदर र मानवको पुर्खा एउटै पुर्खा होमिन्वाइड्सबाट आजभन्दा करिब १ करोड २० लाख वर्ष पहिले नै छुट्टिएका हुन् ।

होमिन्वाइड्सबाट प्राचीन मानव पुर्खा होमिनिडमा बिकास हुनको लागि पहिलो फड्को चार खट्टाबाट दुई खुट्टाले टेक्ने हुनु थियो । मानवशास्त्रीहरुका अनुसार प्राचीन समयमा पृथ्वीमा आएको भौगोलिक परिवर्तनको कारणले गर्दा अफ्रिकाका ठूल्ठूला जंगलहरु आजभन्दा १ करोड २० लाख वर्ष पहिले नष्ट भई लामालामा घाँसका फाँटहरुमा बिकसित भए । यसबाट रुखमा बस्दै गरेका होमिन्वाइडस्हरुलाई ती लामा घाँसका फाँटहरुमा रहनुपर्दा दुई खुट्टाले टेकी उठेर शत्रु आयो कि भनेर यताउती हेर्ने तथा हिंड्ने गर्नुपर्ने भयो । र, यसले नै चार खुट्टाले टेक्ने होमिन्वाइडस्को एक वा केही समूहलाई दुई खुट्टाले टेक्ने होमिनिडमा बिकसित गर्यो ।

मानव बिकासको क्रममा अर्को फड्को थियो – शिकारको निम्ति औजारको प्रयोग गर्नु । मानवशास्त्रीहरुले पत्ता लगाएअनुसार आजभन्दा ३० देखि ४० लाख वर्ष पहिलेको समयको बीचमा अष्ट्रेलोपिथेकस आफरेन्सिस नामको होमिनिडले रुखका हाङ्गाविङ्गाबाट लिइएको लठ्ठी तथा प्राकृतिक रुपमा पाइने धारिला ढुंगाहरुलाई औजारको रुपमा प्रयोग गर्न थालेका थिए ।

त्यस्तै गरी, आजभन्दा करिब २५ लाख वर्ष पहिलेको मानव पुर्खा अष्ट्रलोपिथेकस गाह्रीले पहिलो ढुंगाको औजार बनाएको तथ्य सन् १९९९ मा बैज्ञानिक बरहेन आस्फा र बैज्ञानिक रिम ह्वाइटको टोलीले पत्ता लगाए । उनीहरुले इथियोपियाको राजधानी आदिस अबाबाको उत्तरपूर्वतिर नजिक मध्यआकाश क्षेत्रको बोउटी भन्ने गाउँको आसपासमा भेट्टाएका मानव पुर्खाको खप्परहरु तथा त्यहाँ वरपर पाइएका ढुंगाका औजारहरुको अध्ययनबाट यो तथ्य पत्ता लगाएका हुन् । ढुंगाको औजार बनाउन थाल्नु मानव बिकासको अर्को ठूलो फड्को थियो ।

ढुंगाको औजारको आविष्कारपछि मानव पुर्खालाई जनावरको शिकार गर्न पहिलेभन्दा निक्कै नै सजिलो भयो । र, उनीहरु खानाको लागि पहिलेभन्दा धेरै नै शिकार गर्न सक्षम भए । तर उनीहरु अझै काँचो मासु खाने गर्थे ।

आजभन्दा करिब १५ लाखदेखि ५ लाख वर्ष पहिलेको मानव पुर्खाले आगोको आबिष्कार गरेको तथ्य बैज्ञानिहरुले पत्ता लगाएका छन् । मानव बिकासमा यो अर्को ठूलो फड्को थियो । होमोइरेक्टस् नामको मानव पुर्खाले सर्वप्रथम आगोको आविष्कार गरेको थियो ।

आगोको आविष्कारले मावन बिकासमा ठूलो तीब्रता ल्यायो । किनकि, अब मानव पुर्खाले काँचो मासु खान छोडेर पोलेर खान थाल्यो । यसले गर्दा उनीहरुमा पाचन क्षमता धेरै बृद्धि भयो र उनीहरु बढी बलवान र दीर्घजीवी हुनथाले । साथै आगो बालेर अन्य हिंस्रक जन्तुहरुबाट आफ्नो समुदायलाई सुरक्षा गर्न पनि उनीहरुले जाने ।

मानव पुर्खाको बिकासमा आगोको आविष्कारपछिको ठूलो फड्को भनेको खेतीको आविष्कार थियो । बैज्ञानिकहरुका अनुसार, आजभन्दा करिब ३० हजार वर्ष पहिले पश्चिम अफ्रिकामा मानव पुर्खाबाट एउटा महत्वपूर्ण गतिविधि हुन पुग्यो । अमेरिकाको ‘नेशनल साइन्स फाउण्डेशन इन वाशिङ्गटन’का मानवशास्त्री जोन एलेनका अनुसार शुरुमा सम्भवतः एक मानिस, एक महिला वा एक बच्चाले सचेतढंगले बिरुवाको एउटा हाँगा भिजेको जमिनमा गाड्यो र आशा गर्यो कि त्यसबाट नयाँ बोट उम्रिने छ । र, साँच्चै नै त्यहाँ नयाँ बोट उम्रियो । यो नै खेतीको पहिलो पाइलो हुन पुग्यो ।

पहिलो पटक आफैले बोट–बिरुवा उमार्न जानेपछि मानव पुर्खाले त्यो क्रमलाई अगाडि बढाउँदै लग्यो । र, यसबाट उनीहरुले बढीभन्दा बढी अन्नबाली प्राप्त गर्न थाले । यसरी आजभन्दा करिब १० हजार वर्ष पहिले पश्चिम एशियामा मानव पुर्खाले ठूलो स्तरको खेती गर्न थाल्यो । र, त्यहींबाट कृषि युगको शुरुवात भयो भन्ने मानवशास्त्रीहरुको भनाइ छ ।

कृषि युगको थालनीसँगसँगै मानव पुर्खाले जंगली जन्तुलाई आफ्नो नियन्त्रणमा लिएर तिनीहरुलाई पाल्तु जनावरहरुको रुपमा विकास गर्न थाल्यो । खेतीको विकासले गर्दा मानव पुर्खालाई पहिलेको घुमन्ते प्रवृत्तिबाट एकै ठाउँमा बस्ने प्रवृत्तिमा विकसित गर्यो । र, यसले परिवार, गाउँ र समाज बन्न आधार प्रदान गर्यो, जसले मानव पुर्खालाई आधुनिक मानव समाजमा प्रवेश गर्न नयाँ संस्कृति पनि दियो ।

सन्दर्भ स्रोत ः
१. Anthopology, car I R. Ember, Melvin Ember
२. Time, Jan 17,  2000
३. The Human Factor – S. Chanda & Co.

 

(Visited 867 times, 1 visits today)

टिप्पणी

comments