Main Menu

मानवजातिको लागि प्रेरणाको प्रतिविम्ब – हेलेन केलर

  • ध्रुवराज कार्की

Helen-Keller-Biographyविश्व मानव समाजमा आफ्नो अशक्तताका बावजूद पनि कला र साहित्यको माध्यमबाट प्रसिद्ध बनेका व्यक्तित्व हुन् – हेलेन केलर । जिन्दगीमा केही गर्ने लक्ष्य बोकेर हिँडिरहेकाहरुका लागि सफल मार्गदर्शक हुन्–केलर । असीमित शक्तिको स्रोतका रुपमा संसार प्रसिद्ध हेलेन केलरको सन् १८८० मा अमेरिकाको अलबामाको एक अति सम्पन्न परिवारमा जन्म भएको थियो । उनी डेढ वर्षको उमेरमा गम्भीर विरामीको कारण अन्धी र बहिरी बनिन् । शारीरिक रुपमा अशक्त भएर पनि उनले आफ्नो मस्तिष्कको आश्चर्यजनक रुपमा विकास गर्ने सफलता प्राप्त गरेकी थिइन् । उनी सफलताको त्यो शिखरमा पुगिन्, जहाँ दृष्टिहीन र बहिरो व्यक्ति कोहीपनि अहिलेसम्म पुग्न सकेका छैनन् । ठेलीका ठेली पुस्तकमार्फत् आफ्ना मनका भावनाहरुलाई प्रस्फुटन गराउन सफल हेलेन अन्धा र अपांगहरुका लागि चेतनाको प्रज्वलित दियो हुन्, जसले अन्धकार बाटोमा भौंतारिरहेका मानव जीवनहरुलाई समुन्नत जीवनतर्फ डोर्याउन सहयोग गर्छ ।

मानव जातिसँग भएको क्षमतालाई सृजनात्मक रुपमा प्रयोग गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहेकी हेलेन केलर अर्का व्यक्ति एनी सालिभानको सहयोगबाट १० वर्षको उमेर पुग्दा–नपुग्दै ब्रेल लिपिको माध्यमबाट लेखपढ गर्न सक्षम भएकी थिइन् । देख्ने शक्ति नभएपनि उनले देखेजस्तै गरेर लेख्न सक्थिन् र आलाको प्रयोगबाट आवाज पनि पहिचान गर्न सक्थिन् । प्रारम्भिक अवस्थामा विक्षिप्त अवस्थामा देखा परेकी केलरको जीवनमा एनीको आगमन सदावहार बसन्तजस्तो भयो ।

सन् १८९० मा New York मा बहिराहरुको विद्यालयमा भर्ना भई उनले आफ्नो औपचारिक अध्ययन–यात्रा शुरु गरिन् । उनले त्यस क्रममा फ्रेन्च र जर्मन भाषामा आफ्नो अध्ययन गर्ने तिर्खा शान्त पारिन् । ‘मानवले प्रयास गरेमा सफलताको ताज पहिरन गाह्रो छैन’ भन्ने विख्यात लेखक जोन मिल्टनको भनाइ उनको जीवनमा सार्थक रुपमा लागु हुन्छ । उनले क्याम्ब्रिजको राडक्लिफ कलेजको चार वर्षे अध्ययनको क्रममा अनर्ससहित ग्राजुएसन पनि गरेकी थिइन् ।

उनले लेखिन् – ‘सुन्दर वस्तुहरुमा मेरो आनन्द कतिसम्म अन्तर्जात हो र कतिसम्म उनको प्रभाव हो मैले कहिल्यै भन्न सकिनँ । मलाई लाग्छ, उनी मेरो प्राणबाट कहिल्यै अलग हुन सक्दैनन् । मेरो हृदयका कम्पनहरुभित्र उनी छन् । उनको प्रिय मधुर स्पर्शले ममा सधैं आनन्दको झंकार हुन्छ । उनी आफू अन्धा अपांग भएपनि आफूजस्तै पीडा अरुले भोग्न नपरोस् भन्ने हेतुले ‘एडोमेन्ट फन्ड’ नामक सामाजिक संस्था स्थापना गरी अन्धा र अपांगहरुको सेवामा जुटिन् । प्रथम विश्वयुद्धमा उनी युद्धका कारण अन्धा हुनपुगेका सैनिकहरुको सेवामा जुटिन्, आज विश्वमा फ्लोरेन्स नाइटिंगेलपछि समाज सेवाको क्षेत्रमा विश्वभर उनको नाम श्रद्धाको साथ लिइन्छ ।

“कर्ममा लीन मानिस नै असल मानिस हो” भन्ने विख्यात समाजवादी चिन्तक कालमाक्र्सको भनाइबाट प्रभावित हेलेनले आफ्नो संस्थाको सेवालाई विस्तार गर्न विश्वका विभिन्न देशहरुको भ्रमण गरी आर्थिक सहयोग जुटाइन् ।

उनको जीवनलाई सफल पार्न सहयोग गर्ने एनीको सन् १९३६ मा निधन भयो । एनी ती नारी हुन्, जसले एउटी अन्धी, लाटी र बहिरी केटीको जीवनलाई आमूल परिवर्तन गरिन् । उनले हेलेनभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराई विश्वप्रसिद्ध नारी बनाइन् ।

हेलेन केलेर अन्धाहरुका लागि ज्योति, बहिराहरुका लागि ध्वनि र लाटाहरुका निम्ति वाणी थिइन् । मानव समाजको सेवामा अविस्मरणीय योगदान गर्ने उनी मानवतावादी आन्दोलनको लागि प्रेरणा हुन् । प्रतिभाको खानी केलेर आफ्नो क्षमताको परिचय दिंदै विश्वप्रसिद्ध साहित्यिक कृतिहरु रचना गरी विश्वसाहित्यको बगैंचामा सौन्दर्यशाली फूलहरु फुलाउन सफल भइन् । विश्व प्रख्यात उनका कृतिहरुको चर्चा गर्दा द स्टोरी अफ माई लाइफ ( १९०३), आप्टिमिजम (१९०३), द वर्ल्ड आई लिभ इन (१९०८), द सङ्ग अफ स्टोन वाल (१९२९), आउट अफ द डार्क (१९१३) आदि कृतिहरु अग्रपंक्तिमा आउँछन् ।

साहित्यको मूल उद्देश्य ‘शोषणरहित समाजको स्थापना गरी समाजवादी विचारको जगेर्ना गर्नु हो’ भन्ने मान्यतामा आफ्नो कलम चलाउने हेलेन केलेर प्रगतिशील साहित्यको खम्बा हुन् ।

हेलेन केलेरको व्यक्तित्वबाट प्रभावित भई उनको बारेमा सन् १९५४ मा ‘हेलेन केलर इन हर स्टोरी’ नामक चलचित्र बनाई प्रदर्शन गरियो । यो चलचित्रले उनको व्यक्तित्वलाई विश्वसामु प्रसिद्ध बनाउन सहयोग गर्यो । त्यो चलचित्रले ओस्कार अवार्ड जित्न सफल भयो । यस सफलताका कारण विश्व जनमानसको ध्यान आफूतिर केन्द्रित गर्न हेलेन केलर सफल भइन् ।

‘विजय प्राप्त गर्ने र शक्ति आफ्नो हातमा लिने कुरा तिनैमा सम्भव छ, जो जनतालाई विश्वास गर्छन् र जो जनताको सिर्जनात्मक प्रतिभामा विश्वास राखेर फड्को मार्नको लागि तयार हुन्छन्’ भन्ने महान सोभियत अक्टोबर क्रान्तिका नेता लेनिनको व्यक्तित्वबाट प्रभावित भएर हेलेन केलर सन् १९०९ मा समाजवादी पार्टीमा प्रवेश गरिन् ।

विश्वमा समाजवादी शासन व्यवस्था स्थापना हुनुपर्छ भन्ने धारणा राख्ने हेलन केलरले श्रमिक वर्गको संघर्ष तथा रुसको अक्टोबर क्रान्ति र महिला मताधिकारको पक्षमा र प्रथम विश्वयुद्धको विरोधमा थुप्रै लेखहरु लेखिन् । मानव समाजलाई समुन्नत भविष्यको मार्गमा डोर्याउन समाजवादले मात्र सक्छ भन्ने निष्कर्षसहित आफू समाजवादप्रति आकर्षित भएको उनको धारणा थियो । उनको सफलताबाट विचलित भएको पूँजीवादी खेमाका संचार माध्यमहरुका लागि समाजवादको लडाइँमा प्रतिबद्ध एवं लालझण्डा मन पराउने केलर विरोधको तारो बनिन् । विश्वप्रसिद्ध पूँजीवादी पत्रिका टाइम्सले हेलेनप्रति तीखो प्रहार गर्दै लेख्यो – “रातो झण्डा बोक्नेहरुप्रति सधैं शंका गरिनुपर्छ र कानूनहीनताको झण्डा बोकेकै कारण उसले सम्मान र सहानुभूतिको सम्पूर्ण अधिकारसमेत गुमाएका छन् ।”

यसको प्रतिक्रिया दिँदै समाजवादको अगुवा हेलेनले लेखेकी थिइन् – “म कुनै पनि रंगको कपडाको पूजक होइन । तथापि म रातो झण्डा मन पराउँछु र मलगायत अरु समाजवादीहरुको रंगको कपडाको पुजक होइन । तथापि म रातो झण्डा मन पराउँछु र मलगायत अरु समाजवादीहरुको लागि यो जे कुराको प्रतिक बनेको छ, त्यसलाई मन पराउँछु । मेरो अध्ययनकक्षमा रातो लाल झण्डा झुन्डिएकै छ । र, यदि म सक्दो हुँ त खुसीका साथ यही झण्डा बोकेर TIME को कार्यालय अगाडि सबै संवाददाता र फोटोग्राफरले देख्ने गरी मार्च पास गर्ने थिएँ ।

उनको सफलताप्रति मार्क ट्वेन, चर्चिल र तत्कालीन अमेरिकी राष्ट्रपतिसमेत मन्त्रमुग्ध भएर उनको प्रशंसा गर्थे । भारतीय कम्युनिष्ट नेता सीताराम याँचुरी भन्छन्, “छिटामिराहरु जतिसुकै उफ्रियून् हेलेनको आस्थाविरुद्ध हेलेनहरुलाई त रातै झण्डा मन पर्छ । अन्धा भएपनि जसको सौन्दर्य उनीहरु अनुभूत गर्छन्, बहिरा भएपनि जसको फरफराहट उनीहरु महशूस गर्छन् र अशक्त भएपनि जसको स्पर्शमा उनीहरु युगलाई बदल्ने साहस जुटाउँछन्”

उनी मानव समुदायले आफूप्रति देखाएको श्रद्धालाई आफ्नो जीवनको उच्च सम्मानको रुपमा मूल्यांकन गर्थिन् ।

उनको निधन सन् १९६८ जून १ मा ८८ वर्षको उमेरमा भयो । उनको व्यक्तित्वबाट प्रभावित महाकवि देवकोटा लेख्छन्, “तिमी फूललाई फूल देख्छौ म त्यसमा हेलेन केलर र पद्मिनी कोलाहापुरी देख्छु ।”

एउटी अन्धी, अपांग, बहिरी भएरपनि अनुशासन, लगनशीलता र त्यागका कारण विश्व मानव इतिहासमा आफ्नो विशिष्ट स्थान ओगट्न सफल हेलेनबाट हामी युवाहरुले कर्म गर्ने प्रेरणा पाउन सक्छौं ।

साभार – नवयुवा मासिक, पूर्णाङ्क ९०

(Visited 1,147 times, 1 visits today)

टिप्पणी

comments