Main Menu

साहित्य/जीवनी

विश्वका महान् साहित्यकार लियो टोल्सटोय

विश्व प्रसिध्द महान साहित्यकार लेव टोल्स्टोय ।

सामन्ती परिवारमा जन्मी हुर्केर पनि भौतिक भोगविलासलाई तिलाञ्जली दिई सरल र शान्त जीवन यापन गर्ने विश्वका थोरै महापुरुषहरु मध्ये एक हुन् – लियो टोल्सटोय । विश्वप्रसिद्ध साहित्यकार तथा दार्शनिक । विश्वको एक अनमोल कृतिको रुपमा सूचिकृत मेघा उपन्यास “युद्ध र शान्ति” का लेखक ।

सेप्टेम्बर ९, सन् १८२८ उनले यस धर्तीमा अवतरण गरेको दिन थियो । अनि ती महान् प्रतिभा जन्मेको पवित्र भूमि रुसको यस्ताया पौल्यान्या भन्ने ठाउँ हो । टोल्सटोय सानै छँदा उनका मातापिताको निधन भयो । यसले गर्दा उनको बाल्यकाल त्यति वात्सल्यपूर्ण भएन । उनी सानोमा एउटी नातेदार महिलाको संरक्षणमा हुर्के । र, उनले घरमै प्राथमिक शिक्षा पूरा गरे । त्यसपछि उच्च शिक्षा प्राप्तिको लागि उनी कज्जाक विश्वविद्यालयमा भर्ना भए । त्यस विश्वविद्यालयमा टोल्सटोयले तीन बर्षसम्म अध्ययन गरे । त्यसपछि घरमा आफ्नो जिमिदारीको हेरचाह गर्ने कोही नहुँदा पढाइ नै छाडेर १९ बर्षको उमेरमा आफ्नै जिमिदारी सम्हाल्नका लागि उनी घर फर्के । र, केही समय जिमिदारीको हेरचाहको साथै उनले स्वाध्ययनलाई पनि निरन्तरता दिए ।

वीस वर्षे जवान टोल्सटोय ।

तर, जिमिदारी सम्हाल्ने क्रममा त्यसमा खेलिनुपर्ने अनेक घिनलाग्दा व्यवहारहरु उनलाई मन परेन । र, त्यसपछि उनी परिवर्तनको खोजीमा पल्टनमा भर्ति हुनपुगे । सन् १८५५ मा क्रिमियामा भएको ककेशियस पहाडी जातिसँगको लडाइँमा उनी पनि सहभागी बने । तर लडाइँले उनलाई झन् असन्तुष्टी पैदा गर्यो ।

त्यसपछि उनी भ्रमण गर्नपट्टि लागे । यसैबीचमा उनले दुईपल्टसम्म युरोपेली देशहरुको भ्रमण गरे । तैपनि उनीे सन्तुष्ट हुन सकेन । र, उनले आफ्नो जिमिदारीमा पुनः फर्केर गरीब तथा कर्मकर वर्गको भलाइको लागि तन, मन र धन अर्पण गर्ने निधो गरे । यसबीचमा उनले रैतीकिसानका बच्चाहरुका लागि पाठशाला खोलेर नयाँ सिद्धान्तअनुरुपको शिक्षा दिन थाले । व्यक्तिको आवश्यकताअनुरुपको शिक्षा दिइनु पर्दछ । शिक्षा प्रणाली अनुरुप व्यक्तिको आवश्यकता ढालिनु हुन्न भन्ने शिक्षासम्बन्धी उनको विचार थियो र यो त्यतिबेलाको समाजको लागि क्रन्तिकारी विचार थियो ।

लियो टोल्सटोयले सन् १८६२ देखि १८७७ सम्मको १५ वर्षसम्मको दाम्पत्य जीवन बडो आनन्दसँग बिताए । यसबीचमा उनले ‘युद्ध र शान्ति’ र ‘अन्ना क्यारेन्निता’ जस्ता विश्वप्रसिद्ध उपन्यासहरु लेखे । ती उपन्यासहरु अहिलेसम्ममा विश्वका विभिन्न थुप्रै भाषाहरुमा अनुवाद भैसकेका छन् ।

बाहिरबाट हेर्दा टोल्सटोयको जीवन जति आनन्दित र सुखी देखिएपनि उनको भित्री मन भने के गर्दा र कसरी मानवताको सेवा हुन्छ भन्ने ध्याउन्नमा चिन्तित रहिरहन्थ्यो । यसरी उनमा आफ्नो बैवाहिक जीवनको मध्यदेखि नै भौतिक भोगविलासको जिन्दगीदेखि वैराग्य आउन थालिसकेको थियो ।

घरबाट बाहिर यात्रामा जाँदै टोल्सटोय ।

टोल्सटोय पत्नी सोफियाका साथ ।

त्यसपछि उनले आफ्नो सम्पूर्ण पैतृक सम्पत्ति आफ्ना नौ जना छोराहरु र श्रीमतीलाई बराबर भागबण्डा गरिदिए । र, आफूले चाहिँ आफ्नै पुस्तकहरुको सलामीका भरमा जीवन निर्वाह गर्न थाले । उनले साँच्चै नै विलासपूर्ण जीवनको पूर्ण रुपमा त्याग गरे । माछामासुको ठाउँमा फलफूल खान थाले । चुरोट–रक्सीको पूर्ण रुपमा त्याग गरे । अनि महँगा लुगाकपडाको सट्टा सरल पहिरनमा हिँड्न थाले । यतिसम्म कि उनी आफूले लगाउने जुत्तासमेत आफैं सिउँथे । यसरी सरल र परिश्रमी जीवन विताउँदा उनमा श्रमिक वर्गको जीवनको गहिरो अनुभव हुनगयो । र, यिनै अनुभवहरु उनका साहित्यमा क्रमशः व्यक्तिन थाले ।

उनले आफ्नो जीवनकालमा प्रशस्त पुस्तक लेखेका छन् । कथा, नाटक, उपन्यासका साथै विभिन्न लेखहरुमार्फत् उनले आफ्ना अमूल्य विचारहरु विश्वलाई उपहार दिएका छन् । तिनीहरुमध्ये सावास्टोपल, दि कोसाक्स, अँध्यारोको साम्राज्य, कुजर सनाटा, जिउँदो लास, मालिक, नोकर आदि उनका केही प्रमुख कृतिहरु हुन् ।

उनका विचारहरु तत्कालीन सामन्ती राज्य र समाजका पक्षपोषकहरुसँग मेल खाँदैनथे । अझ आफ्नै परिवारसँग समेत उनको बरोबर झगडा र कलह भैरहन्थे । यसले गर्दा उनी आफ्नै जीवनलाई नै पूर्ण असफल भएको ठान्न पुगे । र, ७९ बर्षको उमेरमा एक रात उनी सुटुक्क घरबाट भागे ।

उनी भागेर कहाँ गए ? तत्काल कसैलाई थाहा भएन । वास्तवमा समाजमा भएका विसंगति, अन्याय, शोषण, असभ्यपना आदिको समाधानको उपायको खोजीमा उनले घर छाडेका थिए । घर छाडेर त्यो काम उनले गर्न सके या सकेनन् त्यो त कसैले भन्न सकेन तर घरबाट भागेर हिँडेको झण्डै दुई बर्षपछि सन् १९१० को नोभेम्बर २२ तारेखको दिन उनी आस्तामोपोको सानो रेलवे स्टेशनमा देखापरे । तर दुःखको कुरो त्यस रेलवे स्टेशनमा उनी जीवित नभई मृत अवस्थामा फेला परेका थिए । यसरी एक जना महान् प्रतिभाले सदाको लागि आँखा चिम्ले । उनको निधनमा रुसका मात्र होइनन् संसारभरका करोडौं नरनारीहरु शोकविह्वल भए ।

मृत्यु शैयामा टोल्सटोय ।

मृत्युपश्चात् आफ्नो लाशलाई गिर्जाघरको चिहानमा नगाडियोस् र कुनै पनि धार्मिक संस्कार नगरियोस् भन्ने उनकै अन्तिम इच्छाअनुसार उनको लाशलाई आफ्नै जिमिदारीमा गाडियो र कुनै पनि धार्मिक संस्कार गरिएन ।

 

 

 

  • गुरुप्रसाद ढकाल, चौघडा, नुवाकोट
(Visited 761 times, 1 visits today)

टिप्पणी

comments