Main Menu

नारी आन्दोलनमा समर्पित समाजवादी लेखिका – जेलेनिक 

  • ध्रुवराज कार्की

Elfriede-Jelinek-biographyविश्व मानव समुदायमाझ आफ्नो कला र साहित्यमार्फत् प्रभाव जमाउँदै सन् २००४ को विश्वप्रतिष्ठित नोवेल साहित्य पुरस्कार पाउन सफल व्यक्तित्व हुन् – एल्फ्रेड जेलेनिक (Elfriede Jelinek) । नारी समानता र समाजवादी शासन व्यवस्था स्थापनाको लागि अनवरत रुपमा संघर्ष गर्दै आएकी अथक योद्धाको रुपमा आफ्नो पहिचान बनाउन सफल नारी हुन् – जेलेनिक । समाजमा दबिएर बसेका शक्तिहरुलाई उजागर गर्न उपन्यासमा उनले प्रयोग गरेको असाधारण शैली र आवाज तथा प्रतिआवाजको प्रयोगको लागि उनलाई यस पुरस्कारबाट सम्मानित गरिएको नोबेल पुरस्कार निर्णायक कमिटीले जनाएको छ ।

आफ्नो सृजनात्मक क्षमतालाई नवीन रुपमा मानव समुदायको हितमा प्रयोग गर्न रुचाउने जेलेनिकको जन्म सन् १९४६ को अक्टोबर २० मा अस्ट्रियाली स्टेरिया प्रान्तमा चेक–यहुदी वंशमा भएको थियो । उनका पिता रसायनशास्त्री थिए, जो दास्रो विश्व युद्धताका रसायनिक पदार्थको  उत्पादनमा पनि संलग्न थिए । सानै उमेरदेखि जिज्ञासु, अनुशासित र भावुक स्वभाव भएकी जेलेनिकले आफ्नो गृहक्षेत्र स्टेरियामा नै प्रारम्भिक अध्ययन पूरा गरिन् । उनले सन् १९९४ मा इतिहास र कला विषयमा स्नातक तहको शिक्षा पूरा गरिन् । बहुआयामिक व्यक्तित्वकी धनी जेलेनिकले आफ्नो पढाइ सँगसँगै संगीत सिक्ने क्रमलाई पनि अगाडि बढाइरहेकी थिइन् । 

‘कला, भवनका कोठा सिंगार्नका लागि होइन, त्यो त शत्रुविरुद्धको आक्रमण र आत्मरक्षाको औजार हो’ भन्ने विश्वविख्यात् अमर कलाकार पाब्लो पिकासोको विचारबाट प्रभावित जेलेनिकले सन् १९६७ मा ‘लिसास स्कयट्टेन’ नामक साहित्यिक संग्रह प्रकाशित गरी यस क्षेत्रमा पाइला अघि बढाएकी हुन् । यसैताका उनले यहाँको विद्यार्थी आन्दोलनमा सहभागी भई आफ्नो राजनीतिप्रतिको चासो पहिलो पटक प्रकट गरिन् । मानव समाजको मुक्ति साम्यवादी शासन व्यवस्थामा मात्र सम्भव छ भन्ने दह्रो विश्वास लिएर उनी सन् १९७४ देखि १९९१ सम्म अष्ट्रियन कम्युनिष्ट पार्टीको सदस्य पनि भइन् । उनी आफ्ना रचनामार्फत् परम्परादेखि अनेक प्रतीक र विम्ब जोडेर भिन्न स्वरुपमा सिंगारिदै आएका नारीको जीवनको असली स्वरुप बताउन सफल भइन् ।

मानव जीवन संघर्षशील छ, यसलाई सृजनात्मक कार्यमा लगाउनुपर्छ भन्ने विचार राख्ने जेलेनिकको सन् १९७० मा ‘बिर सिन्ड लोकाजाजेल बेबी’ सार्वजनिक भयो । उनले आफ्ना धेरै उपन्यासहरुमा सम्बन्धलाई डोर्याउने शक्ति र आक्रमक व्यवहारहरुको चर्चा गरेको पाइन्छ र यौन व्यवहारमा अश्लीलताको पनि प्रयोग गरेको पाइन्छ । उनको चर्चित उपन्यासमा लष्ट, वुमेन एण्ड लभर्स वन्डरफुल टाइम्स, वि आर डिकवेएज टोवी, डादू किन्डर डर टोटेन आदि रहेका छन् । ५७ वर्षीया जेलेनिकले मानवीय सम्बन्ध र त्यसमा पनि नारी मनोविज्ञानलाई सूक्ष्म रुपमा सिर्जनामा उतार्दै आएकी छिन् । उनी नाटक, उपन्यास र कविता विधामा समकालीन लेखकहरुबीच प्रभावशाली मानिन्छिन् । सामाजिक विडम्बना र समाजमा थिचिएर बसेको यौन मनोविज्ञानको विषयमा लेखेर उनले उत्तिकै विवाद जन्माउँदै आएकी पनि छिन् । लैंगिक युद्ध र नारी यौन मनोविज्ञानमा केन्द्रित उनले लेखेका कृतिहरु स्वदेशका भन्दा विदेशका पाठकहरुमाझ बढी लोकप्रिय छन् । आफ्नै राष्ट्रमा भने सम–सामयिक राजनीतिमा उनको विचारका कारण उनी विवादस्पद छिन् । उनका कृतिमा भाषिक आन्दोलन, सांस्कृतिक छाप र असल जीवनको अपेक्षाजस्ता विशेषताहरु छचल्किएका पाइन्छन् ।

हाल म्युनिक र भियनामा जीवन बिताउँदै आएकी जेलेनिक सन् ७० को दशकमा प्रणयसूत्रमा बाँधिइन् । सन् १९८३ मा सिर्जित उनको कृति ‘दि पियानो टिचर्स’ले उनलाई सफलताको शिखरमा पुर्यायो । दृढ विश्वास र आँटिली स्वभावकी जेलेनिकको उक्त पुस्तकमाथि अष्ट्रियन निर्देशक माइकल हानेकीले सन् २००१ मा चलचित्र पनि बनाएका थिए । यो चलचित्र उनको सृजनात्मक क्षमताको एउटा पाटोलाई उजागर गर्न सफल भयो ।

‘कला, भवनका कोठा सिंगार्नका लागि होइन, त्यो त शत्रुविरुद्धको आक्रमण र आत्मरक्षाको औजार हो’

सन् १९९० मा प्रकाशित ‘वन्डरफुल वन्डरफुल टाइम्स’ उपन्यासमा उनले युद्धमा होमिएको आफ्नै मुलुकको निन्दा गरेकी छिन् । अष्ट्रिया एक अपराधिक मुलुक हो भनेर उनले लेखिकी छिन् । उनले सामाजिक संरचनावादी सभ्यता अनुशरण गर्ने समालोचनात्मक लेखनपद्धतिको बदला महिलामाथि हुने यौन शोषणलाई मानव संस्कृतिको अभिन्न अंगको रुपमा चित्रण गरेकीछिन् । आफ्नो लेखन शैलीका कारणले पनि उनको छवि स्वदेशमा विवादास्पद देखिदै आएको छ । खरो स्वभाव भएकी जेलेनिकले हिंसा, नारी आवाज र बढी त युरोपेली राजनीतिको दक्षिणपन्थी धारलाई प्रहार गरेकी छिन् । सन् १९९६ मा अति दक्षिणपन्थी  राजनीतिज्ञ जर्ज हेंदरले चुनावी अभियानमा उनको नाम दुरुपयोग गरेपछि सार्वजनिक जीवनबाट उनले अवकाश लिइन् । हाल उनी साम्राज्यवादी अमेरिकाद्वारा खाडी मुलुक इराकमा जवरजस्ती थोपरिएको युद्धविरुद्ध ‘बम्बिल्याड’को लेखन कार्यमा व्यस्त छिन् । साधारण भाषा र कविताको अन्तमिश्रण लाग्ने उनका लेखहरुले नारीवादी विषयवस्तुलाई लेखनको आधारस्तम्भ बनाएको पाइन्छ । 

उनको जीवनको अर्को उज्यालो पाटो हो– मानवअधिकार रक्षाको लागि चालिएको आन्दोलनमा सक्रियतापूर्वक सहभागी भई मानवअधिकारको जर्गेना गर्नु । 

उनी नारी कमजोर हुन्छन् भन्ने परम्परागत मान्यतालाई चुनौति दिँदै आफ्नो कर्मबाट उनीहरुमा भएको वास्तविक सृजनात्मक क्षमतालाई उजागर गर्न सफल भइन् । उनी एक आस्थाको दियो हुन्, जसले अन्धकारमा भौंतारिरहेका मानव समुदायलाई उज्यालो मार्गमा लम्किन प्रेरणा दिन्छ । उनले पाएको नोवेल साहित्य पुरस्कार नारी आन्दोनल र सामाजिक परिवर्तनमा वर्षौंदेखि लागेका नारीहरुप्रति गरिएको उच्च सम्मान हो । विश्व प्रतिष्ठित नोवेल साहित्य पुरस्कार पाउँदा पनि उनको मुहारमा कुनै चमक देखिएन । उनले खुसियाली मनाइनन् । बरु भनिन् ः म निराश छु, यसले मलाई सार्वजनिक प्रदर्शनीमा राखिएको छ । 

यो पुरस्कार जित्ने उनी दशौं महिला हुन् । पुरस्कार वितरण गरिने भव्यतम् समारोहको सामना गर्न उनले आफूलाई मानसिक रुपमा अप्ठ्यारो पर्ने बताएकी छिन् । तथापि अस्ट्रियाका राष्ट्रपति हेन्ज फिसरले जेलेनिकलाई पुरस्कार दिइएकोमा स्वागत गर्दै त्यसले अष्ट्रियाको सम्पूर्ण साहित्यलाई एउटा उँचाई प्रदान गरेको बताउनु भएको छ ।

उनको व्यक्तित्वले मानव समुदायलाई अविचलित भएर कर्म गरेमा सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने प्रेरणा एवं मार्गदर्शन दिएको छ ।

(Visited 269 times, 1 visits today)

टिप्पणी

comments