Main Menu

समाचार विश्लेषण

सिरिया :  महाशक्ति राष्ट्रहरुको कुरुक्षेत्र बन्दैछ

पाँच वर्षदेखि गृहयुद्ध झेलिरहेको सिरिया अहिले आएर दुई आणविक महाशक्ति राष्ट्रहरुको रणभूमिमा परिणत हुदै गइरहेको छ । इस्लामिक अतिवादीहरुको नाममा विश्वका दुई आणविक महाशक्ति राष्ट्रहरु अमेरिका र रुसले आ–आफ्नै रणनीतिक स्वार्थ अनुरुप सिरियामा अहिले बम गोलाको वर्षा गरिरहेका छन् । आपसमा बिपरित स्वार्थ भएका ती देशहरुले अतिवादीबिरुद्ध लड्ने नाममा सिरियालाई खरानीमा परिणत गरिरहेका छन् । परिणामस्वरुप त्यहाँ अहिले भयंकर ठूलो मानवीय समस्या देखा पर्दै गइरहेको छ । यहाँको संकटले ल्याएको शरणार्थी समस्याले पूरै मध्यपूर्व मुलतः जोर्डन, लेबनान र अन्य युरोपेली देशहरुमा समेत असर पर्न थालेको छ ।

युध्दले ध्वस्त सिरियाली शहर

युध्दले ध्वस्त सिरियाली शहर

सन् २०११ मार्चमा “अरब स्प्रिङ” कै एक अंशको रुपमा सिरियामा शान्तिपूर्ण प्रदर्शनहरु सुरु भएका थिए । सिरियाको बसर अल असदको सरकारबिरुद्ध प्रजातान्त्रिक सुधार, र राजनीतिक बन्दीहरुको रिहाइ, भ्रष्टाचारको अन्त्यजस्ता माग गर्दै सुरु भएको सरकारबिरोधी प्रदर्शन त्यसबेलादेखि हिंसात्मक बन्न थाल्यो जब सरकार प्रदर्शनकारीबिरुद्ध निर्मम दमनमा उत्रियो । सरकारको रवैयाबिरुद्ध प्रदर्शन झनझन चर्कंदै गयो । सरकार झनझन आक्रामक बन्दै गयो । सरकारको दमनबिरुद्ध लड्न बिद्रोहीहरुले मिलिसिया गठन गर्न थाले । सयौं सर्वसाधारण मानिसहरुसमेत मिलिसिया बने र उनीहरुले हतियार उठाए । बिद्रोहीहरु बीचमा पनि इस्लामिक कट्टरपंथी र धर्म निरपेक्षवादीहरुबीच समेत फेरि बिभाजन हुन थाल्यो । कतिपय इस्लामिक कट्टरपंथीहरु “इस्लामिक राज्य” स्थापनार्थ बिद्रोहमा होमिए । यसले सिरियाको संकटलाई झन् जटिल बनायो ।

सिरियामा थुप्रै सशस्त्र समूहहरु छन् । यी सबै द्वन्द्वको क्रममा देखिएका समूहहरु हुन् । जस्तै २०११ मा स्थापना भएको फ्रि सिरियन आर्मी, २०१३ मा स्थापना भएको इस्लामिक फ्रन्ट  र इस्लामिक स्टेट अफ इराक सिरिया (आइएसआइएस) जो अहिले सबैभन्दा शक्तिशाली छ यी शक्तिहरु नै अहिले मुख्य समूहहरु हुन् ।

सिरियाको गृहयुद्धमा झण्डै तीन लाखको हाराहारीमा मानिसहरुको ज्यान गइसकेको छ । तिनहिरुमध्ये आधा सर्वसाधरण भएको विश्वास गरिएको छ । ८० लाखभन्दा धेरै मानिसहरुले देश भित्रै बसाईसराई गरेको बताइन्छ भने लाखांैले देश छाडिसकेका छन् । मानव वस्तीहरु बम र बारुदले खरानीमा परिणत भइरहेका छन् । अत्यावस्यक सामग्रीहरु जस्तै खाद्यान्न, पानी, औषधी लगायतका कुराहरुको चरम अभाव भइरहेको छ । मुलतः अमेरिका समर्थित सेनाको हवाई हमलाले सिरिया ध्वस्त भइरहेको छ । त्यहाँ अमेरिका र उसलाई समर्थन गर्ने राष्ट्र ब्रिटेन, फ्रान्स, लगायतका देशहरुले आतंकवादबिरुद्ध भन्दै सन् २०१४ सेप्टेम्बरदेखि हवाई आक्रमण सुरु गरेको थियो जुन अहिले पनि जारी छ ।

बिद्राहीहरुले मुख्य राजनीतिक, सैन्य र अन्य सहयोगहरु अमेरिका, ब्रिटेन र फ्रान्सबाट प्राप्त गर्दछन् । कतिपय सिरियन बिद्रोहीहरुलाई सिआइएले कतार, जोर्डन, र साउदी अरेबियामा ट्रेनिङसमेत दिएको खुलासा भइसकेको छ । अमेरिका मुलतः आसादको सरकार अपदस्त गरी आफू अनुकूल सरकार गठन गरी सिरियामा आफ्नो पकड झन् दरो पार्न चाहान्छ । सिरियालाई अर्को इराक र इजिप्ट बनाउन अमेरिकाले बिद्रोहीहरुलाई सहयोग गरिरहेको छ । तर, इस्लामिक कट्टरपंथीहरु पनि बिद्रोहमा हुँदा उसलाई अलि अप्ठ्यारो परिरहेको छ । त्यसैले उसले दोधारे नीति लिएर सिरियालाई ध्वस्त पारिरहेको छ । वास्तवमा अमेरिका त्यहाँको कट्टरपंथीको नाममा सिरिया र इराक दुबैमा आक्रमण गर्न चाहन्छ । एकातिर अमेरिका सिरियालाई समर्थन गर्छ भने अर्कोतिर असाद सरकारले सत्ता त्याग गर्नुपर्ने कुरा पनि एकैैसाथ गरिरहेको छ । बिद्रोहीलाई सैनिक लगायतका सहयोग पनि गरिरहने र सिरियामा कट्टरपंथीको नाममा आक्रमण पनि जारी राख्ने अमेरिकी द्वैध नीतिका कारण सिरिया झनझन गहिरो द्वन्द्वमा फसिरहेको छ । फाइनान्सीयल टाइम्सद इन्डिपेन्डेन्ट जस्ता पत्रिकाले कतारले सिरियन बिद्रोहीहरुलाई आर्थिक सहयोग गरिरहेको रिपोर्टसमेत प्रकाशित गरिसकेको छ ।

अमेरिकाको यो रणनीति राम्ररी बुझेको विश्वको अर्को आणविक महाशक्ति राष्ट्र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन असाद सरकालाई सहयोग गर्छ । किनकि, सिरिया रुसको लामो समयदेखिको हतियारको बजार पनि हो । पुटिनले संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै भने– ‘संयुक्त राष्ट्र अमेरिकाको अगुवाइमा इराकमा सद्दाम हुसेनलाई, लिबियामा गद्दाफीलाई सत्ताच्युत त गराइयो तर ती लगायत अन्य धेरै देशहरु आतंकवादीहरुको लागि स्वर्ग बन्यो ।’

३० सेप्टेम्बर, २०१५ देखि सिरिया सरकारसँग मिलेर रसियाले समेत अतिवादीहरु बिरुद्ध हवाई आक्रमण गर्न सुरु गर्यो । सिरियाको उत्तर पश्चिम भागमा गरिएको आक्रमणको उद्देश्यप्रति नै अमेरिकी रक्षामन्त्री अस्तोन कार्टरले शंका ब्यक्त गरे । एकातिर बिद्रोहीहरुको मागप्रति नरम नीति राख्दै अमेरिका असाद सरकारले सत्ता छाड्नु पर्ने बताइरहेको छ भने अर्कोतिर रसिया त्यसको विपक्षमा छ । अमेरिकी सरकार रुससँग सामरिक आवश्यकता र महत्वका कारण सिरियामा उसको आक्रमणको धेरै बिरोध गर्न त चाहँदैन । तर, आफ्नो स्वार्थमा गम्भीर ठेस लाग्ने देखेपछि ऊ चुप लागेर बस्न पनि सकेन । र, अहिले अमेरिका रुसले सिरियामा गरिरहेको आक्रमणको बिभिन्न बहानामा बिरोध गरिरहेको छ ।

विश्वका आणविक महाशक्ति राष्ट्रहरु अमेरिका र रुस दुबैले सिरियामा इस्लामिक कट्टरपंथीहरुबिरुद्ध आक्रमण गरिरहेको भनिए पनि त्यहाँ उनीहरुको फरकफरक आर्थिक, राजनीतिक तथा सामरिक स्वार्थहरु छन् । त्यसैले अहिले सिरिया उनीहरुको कुरुक्षेत्र बनेको छ । अब प्रश्न उठ्छ यदि सिरियाले अमेरिका समर्थित सशस्त्र समूहहरुमाथि समेत आक्रमण सुरु गर्यो भने त्यसले कस्तो परिणाम ल्याउला ? यो गम्भीर प्रश्नको रुपमा अगाडि आएको छ ।

(Visited 238 times, 1 visits today)

टिप्पणी

comments