Main Menu

संस्कृतिको क्षेत्रमा निरन्तर क्रान्तिको आवश्यकता

Marxism posterनेपाली कम्युनिष्ट आन्दोलनले नेपालमा विद्यमान अर्धसामन्ती एवम् अर्धऔपनिवेशिक शोषण–उत्पीडन, सामन्ती संस्कृति तथा बुर्जुवा संस्कृति र सांस्कृतिक साम्राज्यवादविरुध्द दशकभन्दा अघिदेखि सङ्गठित सङ्घर्ष गर्दै आएको छ। दस वर्षको महान् जनयुध्दको जगमा विकसित जनआन्दोलनका कारण सदियौंदेखिको राजतन्त्र ढलेको र गणतन्त्रको स्थापना भएको छ । तर सांस्कृतिक रूपान्तरणको सवालमा भने धेरै ठूलो प्रश्न खडा भएको छ। वैचारिक क्षेत्रमा जति महत्त्वपूर्ण काम भएका छन् त्यही स्तरमा सांस्कृतिक रूपान्तरण नभएको कटु अनुभव हामी सबैले आज गरिरहेका छौं ।

दस वर्षको महान् जनयुध्दको अवधि त्याग, तपस्या, बलिदान, शौर्य र वीरताको काल थियो र तिनले सांस्कृतिक पक्षलाई पनि ऊर्जाशील बनाएका थिए । तर शान्तिकालमा सबैतिर त्याग र बलिदानको भावना क्षीण हुँदै गएको छ । आन्दोलनमा आत्मकेन्द्रिता, व्यक्तिवाद, मनोगतवादी चिन्तन र व्यवहार, मूल्य र निष्ठाको विघटन, नैतिकता र आदर्शलाई विस्मरण गर्ने प्रवृत्ति, अवसरवाद, आर्थिक प्रलोभन, पद र प्रतिष्ठाप्रति मोह, चाटुकारिता, फोस्रो रोबरवाफ, घमण्ड र भुइँफुट्टापन, अध्ययनहीनता सर्वत्र व्याप्त छ। हिजो सगरमाथाभन्दा अग्ला देखिने हाम्रा नेताहरू आज लिलिपुटका मानवजस्ता लाग्न थालेका छन्। वर्गसङ्घर्षको उच्चतम अभिव्यक्ति अर्थात् जनयुध्दकै कारणले आन्दोलनमा भएको नकारात्मक पाटो लुकेको थियो कि आन्दोलनमा होमिएकाहरूमा आएको मूल्यविघटन र नैतिक–ह्रासको परिणाम हो यो ? प्रश्न उठ्न थालेको छ ।

इमानदारी, सत्यनिष्ठा, नैतिक शुध्दता, सामाजिक तथा व्यक्तिगत जीवनमा सरलता, विनयशीलता र आडम्बरहीनताका अतिरिक्त अन्याय, आलस्य, छलकपट, निजी स्वार्थ र पदलोलुपताप्रति असहिष्णुता समाजवादीहरूले अपनाउनुपर्ने गुणहरू हुन् । नेतृत्वमा भएकाहरूले एउटै विषयमा फरक-फरक विचार सार्वजनिक गर्ने, एउटै नेताले पनि एउटै विषयमा ठाउँ हेरी फरकफरक मत राख्ने, नेताहरूले एउटा कुरो गर्ने र कार्यकर्ताले त्यसको ठीक उल्टो कुरा गर्ने गरेका घटनालाई हेर्ने हो भने इमानदारी र सत्यनिष्ठामा हाम्रो आन्दोलन खरो देखिँदैन। सरलता, विनयशीलता र आडम्बरहीनता कम्युनिस्ट आन्दोलनको वर्तमान नेतृत्वका निम्ति विजातीय विषय त होइन ? कहिलेकाहीँ यस्तो समेत लाग्ने गर्दछ। सबैभन्दा जान्नेबुझ्ने म, म सबैभन्दा ठीक, अरू सबै बेठीक, आफैँलाई मात्र राम्रो ठान्ने, अरूको भनाइलाई पटक्कै वास्ता नगर्ने जस्ता मपाइँवाद, आडम्बर र घमण्ड भएका नेताहरूको बिगबिगी नेपालको कम्युनिस्ट आन्दोलनमा कम छैन। पदलोलुपताप्रतिको मोह पनि समाजवादी नैतिकताका विपरीत पर्याप्त छ। क्रान्तिकारी पार्टीको सर्वोच्च नेता हुने तर भौतिकवाद र आध्यात्मवादको समन्वय हुनुपर्छ भनी भाषण छाँट्ने, पुराण–वाचन गराउने, धार्मिक स्थलहरूमा गएर शान्ति पाएको अनुभूति गरेको गफ हाँक्नेजस्ता सिध्दान्तहीन कुरा र आचरण छलफलमा आइरहने विषय हुन् ।

कम्युनिस्ट आन्दोलन वर्गीय आन्दोलन हो र सर्वहारावर्गको अग्रदस्ताको रूपमा नेपालका सम्पूर्ण उत्पीडित वर्गको स्वार्थ र हितको प्रतिनिधित्व गर्दै आन्दोलनलाई अगाडि बढाउनु यसको दायित्व हो। तर समाजमा विद्यमान विभिन्न वर्ग, विशेषतः अत्यधिक मात्रामा रहेको निम्न पुँजिपतिवर्गबाट आएका मानिस वर्गसङ्घर्षको व्यावहारिक क्रममा नखारिँदै आन्दोलनमा प्रवेश गर्ने हुनाले तिनीहरूसँगै विजातीय विचार, भावना, संस्कार र संस्कृति आन्दोलनभित्र पस्नु अनौठो होइन । आन्दोलनमा सहभागी बन्न पुगेका यस्ता व्यक्तिहरूको दृष्टिकोण, जीवनपध्दति र आचरणका विरुध्द नेतृत्वदायी तहबाट लगातार विचारधारात्मक अभियान चलाइनु आवश्यक हुन्छ । त्यसको अभावमा आन्दोलनमा खराबी र विकृतिहरू आउनु स्वाभाविक हुन्छ। आन्दोलनमा आएका व्यक्तिहरूको पुरानो विचारधारा, दृष्टिकोण, जीवनशैली र संस्कृतिको शृङ्खलालाई सचेतन ढङ्गले नभत्काई यो समस्याबाट पार पाउन सकिन्न। विचारधारामा रूपान्तरण अर्थात् द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिअनुरूप दृष्टिकोणको निर्माण, सर्वहारावर्ग र आमशोषित जनतासँग एकाकार हुने, वर्गसङ्घर्षमा प्रत्यक्ष भाग लिने र विचारधाराअनुरूप जीवनशैली, जीवनपध्दति र आचारव्यवहारलाई नयाँ ढङ्गले पुनर्गठित गर्ने कार्य आज पछि परेको छ। आन्दोलनभित्र मूल्यविघटनको सवाल गम्भीर हुन पुगेको निष्कर्ष निकालेर मात्र पुग्दैन, समाधानका लागि आवश्यक योजना र कार्यक्रम तत्काल क्रियान्वयन हुनुपर्छ ।

समालोचक तथा अनुवादक निनु चापागाईं

समालोचक तथा अनुवादक निनु चापागाईं

सामान्यतया संस्कृति आर्थिक–सामाजिक अवस्थाले व्यक्तिमाथि पारेको प्रभावको परिणाम हो । समाजको प्रभाव आन्दोलनमा स्वाभाविक रूपले पर्दछ र त्यस प्रभावबाट बच्नका लागि सचेतन प्रयत्न आवश्यक हुन्छ । यो सचेतन प्रयत्नको अभावले नै अहिलेको स्थिति सृजना गरेको हो। सामन्तवादको गढ राजतन्त्रको अन्त भए तापनि नेपालको अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक परिस्थिति बदलिएको छैन र नेपालमा विद्यमान मूलतः सामन्ती सामाजिक, सांस्कृतिक सम्बन्धहरूमा खासै परिवर्तन आएको छैन। आर्थिक–सामाजिक अवस्थामा आधारभूत परिवर्तनबिना संस्कृतिमा परिवर्तन कठिन हुन्छ। तर सचेतन प्रयत्न भए यस्तो प्रभावबाट बच्न नसकिने होइन । यस दिशामा प्रभावकारी कदमहरू नचालिनु नै समस्याको मूल पक्ष हो ।

वर्गीय समाजमा संस्कृति वर्गीय हुने मात्र होइन, शासकवर्गकै संस्कृति प्रभुत्वशाली हुन्छ। सत्तारूढवर्गले आफ्नो विचारधारालाई नै मजबुत बनाउँछ । शासकवर्गका विरुध्द सङ्घर्षरत शक्तिहरूले आफ्नो वर्गको विचारधारालाई विकसित गर्न, सम्बर्ध्दन गर्न र दरिलो बनाउन आफ्नै वर्गको संस्कृतिको निर्माण गर्नु आवश्यक हुन्छ । अन्यथा शासकवर्गकै संस्कृतिलाई अवलम्बन र मलजल गर्ने काम हुन्छ । नेपालको कम्युनिस्ट आन्दोलनले यस आधारभूत प्रस्तावनालाई गम्भीरताका साथ आत्मसात् गर्न नसक्ता आफ्नै संस्कृतिनिर्माणमा पूर्ण चासो दिन सकेको छैन र फलतःयो पुरानै संस्कार,आनीबानी तथा आचारव्यवहारमा एक हदसम्म रङ्मगिइरहेको छ र व्यवहारमा शोषकवर्गलाई बल पु¥याइरहेको छ । यस्तो परिपाटीलाई समाप्त पार्न ढिलाइ गर्नु घातक हुनेछ । एकातिर सर्वहारावर्गको हितको कुरा गर्ने अर्कातिर विरोधी वर्गलाई फाइदा पु¥याइरहेको संस्कृतिलाई ध्वंश गर्ने प्रक्रियामा लाग्न र सर्वहारावर्गको वर्गीय हितलाई प्रश्रय दिने संस्कृतिको निर्माण गर्न चाहिँदो तत्परता र रुचि नलिने प्रवृत्तिलाई समाप्त पार्नैपर्दछ । यो राजनीतिक आन्दोलनकै विसङ्गतिको परिणाम हो । भनाइ र गराइमा एकरूपताको यस्तो अभावलाई एक किसिमले पाखन्ड भन्न सकिन्छ । भन्ने एउटा र गर्ने अर्कै । शब्द र कर्मका बीचको अन्तराल पुँजिवादी नैतिकताको विशेषता हो । त्यसैलाई निरन्तरता दिने हो भने बुर्जुवाहरू र हामीमा के भिन्नता ?

संस्कृति के हो, सांस्कृतिक आन्दोलनको आवश्यकता किन छ र संस्कृति र सांस्कृतिक आन्दोलनको महत्त्व कति र किन हो ? भन्ने विषयमा हाम्रो आन्दोलनमा सही दृष्टिकोणको अभाव छ। दृष्टिकोणको अभावको अर्थ हाम्रो आन्दोलनमा विद्यमान विचारधारात्मक स्पष्टताको अभावकै एउटा अर्को पाटो मात्र हो। हाम्रा अधिकांश राजनेतादेखि आमकार्यकर्तासम्म संस्कृति भनेको नाचगान र अभिनयबाहेक अरू केही ठान्दैनन् र तिनका दृष्टिमा यो मनोरञ्जनको साधनबाहेक अरू केही होइन । तीमध्ये कतिले यसलाई चाडबाड, रीतिथितिसम्म विस्तार गरिहालेछन् भने पनि उनीहरू राजनीति स्वयम् संस्कृतिको एउटा सानो अङ्ग हो,राजनीतिक आन्दोलनले झैँ सांस्कृतिक आन्दोलनले पनि वस्तुगत यथार्थलाई बोध गराउने हो,यथार्थलाई परिवर्तन गर्न उत्प्रेरित गर्ने हो र यो राजनीतिभन्दा कता हो कता बढी सामर्थ्यशाली साधन हो भन्ने तथ्यलाई आत्मसात् गर्न पछि परेका छन् । वास्तवमा सांस्कृतिक आन्दोलन वैचारिक आन्दोलन नै हो र यो राजनीतिक आन्दोलनभन्दा शक्तिशाली एवम् प्रभावकारी वैचारिक आन्दोलन हो भन्ने बोध गर्न नसक्ता नै संस्कृतिक पाटोलाई उपेक्षा गर्ने वा कम महत्त्व दिने गरिन्छ । अध्यक्ष क. प्रचण्डको निम्न भनाइ यस सम्बन्धमा मननीय छ– ‘सांस्कृतिक रूपान्तरणको केन्द्रीकृत अभिव्यक्ति नै राजनीतिक रूपान्तरण हो। अतः यी दुइका बीचमा छुट्ट्याउनै नसकिने सम्बन्ध रहेको हुन्छ । यति हुँदाहुँदै पनि सांस्कृतिक रूपान्तरणको प्रश्न यति व्यापक,गहन र जटिल छ कि त्यसलाई राजनीतिक रूपान्तरणको जस्तो सीमा, तीव्रता र निश्चित मापव्दारा सजिलै नाप्न सकिन्न ।’

सबै कुरा राजनीतिको अधीनमा हुनुपर्छ भन्ने धारणालाई व्यवहारमा लागू गर्ने हो भने सर्वप्रथम राजनीतिक आन्दोलनका नेताहरूले नै सांस्कृतिक रूपान्तरणको सवालमा उदाहरण बनेर पेस हुन सक्नुपर्दछ । हामीले भोग्नुपरेको असाध्यै नकारात्मक विषय भने अधिकांश राजनेताहरू नै सांस्कृतिक रूपान्तरणमा समस्या र बाधक भएका छन् ।

पोलिटिक्स् इन कमान्ड भन्ने धारणाको गलत बुझाइले अरू सबै पक्ष गौण, राजनीति सबथोक, एक मात्र महत्त्वपूर्ण क्षेत्र हो भन्ने नितान्त गलत सोच विकसित हुने गरेको छ। सबैभन्दा महत्त्वपूर्ण विषय राजनीति, सबभन्दा ठूलो कुरो राजनीति, सबभन्दा जान्ने मान्छे राजनीतिक नेता, सबभन्दा ठूलो मान्छे राजनीतिक नेता र यसरी सबै मान्छे राजनीतिक नेता र नेतृत्वको चाकरी र चाप्लुसीमा रमाउने, व्यस्त हुने र राजनीतिक नेता चाहिँ घमण्डले फुल्ने नराम्रो परिपाटी विकास भैरहेको छ।

नयाँ मानिसको निर्माण र त्यस्ता मानिस भएको समा जनिर्माण बिना पुरानो राजनीतिक सत्तामाथिको विजय धेरै दिन सुरक्षित रहन नसक्ने रहेछ भन्ने तथ्यलाई सोभियत सङ्घ,चीनलगायतका देशका उदाहरणले पुष्टि गरिसकेका छन् । यही कारण हिजोआज कुनै पनि राजनीतिक आन्दोलन सांस्कृतिक आन्दोलनको अनिवार्य र अविभाज्य अङ्ग बन्नै पर्दछ भन्ने सोच विकसित हुन थालेको छ । वस्तुतः सांस्कृतिक रूपान्तरणको जगमा खडा नभएको राजनीतिक रूपान्तरण दिगो हुन सक्तैन भन्ने क.अध्यक्ष प्रचण्डको भनाइ यस सम्बन्धमा मननीय छ ।

पुरानो संस्कृतिका विभिन्न पक्षलाई यथावत् राख्न चाहनेहरूले हामीकहाँ दुइटा कुरामा जोड दिने गरेका छन् । पहिलो तर्क के गरिन्छ भने संस्कृति अधिरचना भएकाले आधार परिवर्तन भएपछि मात्र यसमा  परिवर्तन आउँछ । यो संस्कृतिलाई आर्थिक क्रियामा परिणत गर्ने बर्नस्टिनजस्ता आर्थिक भौतिकवादीहरूले गर्ने गरेको तर्क मात्र हो।संस्कृतिको सापेक्ष स्वायत्ततालाई अस्वीकार गर्ने, संस्कृतिलाई अर्थतन्त्रव्दारा प्रत्यक्ष रूपमा र पूर्ण रूपमा निर्धारित मान्ने र सचेतन प्रयत्नको भूमिकालाई नकार्ने गलत चिन्तन हो यो ।

दोस्रो तर्कअनुसार हाम्रो संस्कृतिका धेरै पक्षहरू धर्मसँग गाँसिएका छन्, धर्म व्यक्तिको निजी मामिला हो,यसमा कसैले पनि हस्तक्षेप गर्नु हुँदैन। सर्वहारावर्गको नेतृत्वमा शोषकवर्गको हातबाट राज्यसत्ता खोसेपछि राज्यले समाजवादको एउटा चरणसम्म धर्म मान्ने कि नमान्ने सवालमा आमनागरिकलाई आफैँ चयन गर्ने स्वतन्त्रता प्रदान गर्दछ र धर्मलाई व्यक्तिको निजी मामिला बनाउँछ । तर कम्युनिस्टहरू धर्म मान्दैनन् र उनीहरूलाई धर्म मान्ने छुट हुँदैन। तर विडम्बना नेपालका कतिपय नेताहरू द्वन्द्वात्मक भौतिकवादका विपरीत धर्मको पक्षमा वकालत गर्दैछन् । इमानदार र प्रतिबध्द कम्युनिस्टले धर्मलाई अस्वीकार गर्नुका साथै धर्म र ईश्वरको मान्यतालाई बल पु¥याउने सबै किसिमका चाडबाड, संस्कार र रीतिरिवाज नमान्ने र तिनको पुर्पक्षका विरुध्द उभिने काम गर्नैपर्दछ ।

आमजनता सचेत र जागरुक भएपछि मात्र सांस्कृतिक रूपान्तरण हुन्छ भनेर स्वतस्फूर्तताको पछि दगुर्ने र समय पर्खेर बस्ने प्रवृत्ति पनि सही होइन । सचेतन प्रयत्नबिना पुराना विचार,चालचलन, संस्कार र प्रवृत्तिहरू फेरिँदैनन् । यसका निम्ति लगातार मिहिनेत सुरुदेखि गरिनुपर्दछ । महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अपरिहार्यतालाई हामीले यही कारण स्वीकार गरेका हौँ ।

नेपालका दक्षिणपन्थी संशोधनवादी पार्टीका तुलनामा नयाँ संस्कृतिको निर्माण र सांस्कृतिक रूपान्तरणको सवालमा एकीकृत ने.क.पा.माओवादीले सही दृष्टिकोण लिएको र तुलनात्मक रूपमा बढी महत्त्व दिएको प्रस्ट छ।तापनि यो पर्याप्त छैन । भनाइ र गराइका बीचको अन्तराल अहिले सबैतिर व्याप्त छ ।उदाहरणार्थ  व्यक्तिवाद। पुँजिवादी समाजको नैतिकताको सार व्यक्तिवाद, निजी स्वार्थ, शोषणको लालचा, बैरभाव र प्रतिस्पर्धाको भावना हो। तर आज हाम्रो आन्दोलन यही दिशातिर लाग्दैछ। महाधिवेशन नभएको अवधिमा केन्द्रीय समिति सर्वोच्च अङ्ग हुन्छ भन्ने धारणाका विपरीत व्यवहारमा अध्यक्ष वा महासचिव एक व्यक्तिलाई सर्वोच्च मान्ने परिपाटी प्रचलनमा छ । केन्द्रीय समितिभन्दा माथि पोलिटब्युरो, पोलिटब्युरोभन्दा माथि स्थायी समिति, त्यसभन्दा माथि केन्द्रिय कार्यालय र केन्द्रिय कार्यालयभन्दा माथि अध्यक्ष वा महासचिव। हाम्रो व्यवहारले पुष्टि गरेको तथ्य यही हो। आधारभूत सङ्गठनात्मक सिध्दान्त जनवादी केन्द्रियताका विपरीत एकातिर अभिव्यक्तिको स्वतन्त्रताको नाउँमा जसले जे बोले पनि हुने,पार्टीका गोप्य निर्णयहरू छ्यास्छ्यास्ती अखबारहरूमा पठाउने चरम अराजकता छ भने अर्कातिर छलफल र आलोचनाको स्वतन्त्रता के हो ? कार्यकर्ताहरूले बुझ्नसमेत नपाउने स्थिति छ । कम्युनिस्ट पार्टी सर्वहारावर्गको अग्रदस्ता हो।तर श्रमजीवी वर्गका सुखदुःखमा सहभागी भएका र तिनको भावनालाई आत्मसात् गरेका कति नेता र कार्यकर्ताहरू छन् अहिले हाम्रो आन्दोलनमा ? हामी आफुलाई जनताका सेवक भन्ने गर्दछौँ, तर हाम्रो व्यवहार भने आफूलाई जनताको शासकभन्दा तल नठान्ने किसिमको छ । जनतालाई होच्याउने, गाली गर्ने, तर्साउने, जबर्जस्ती गर्ने र जनतालाई मुक्ति दिने मुक्तिदाताचाहिँ आफैँलाई सम्झिरहने योभन्दा ठूलो विडम्बना के हुन सक्तछ ?

निश्चय नै, सांस्कृतिक रूपान्तरणको सवाल बौध्दिक बहसले मात्र समाधान हुन सक्तैन । यसलाई व्यावहारिक प्रक्रियाका क्रममा वर्गसङ्घर्षमा सहभागी भएर मात्र हल गर्न सकिन्छ । नेपालको आर्थिक–राजनीतिक अवस्थालाई परिवर्तन गर्ने सङ्घर्षमा क्रियाशील भएर मात्र सांस्कृतिक रूपान्तरणको समस्यालाई सही किसिमले अघि बढाउन सकिन्छ। हिजो जनयुध्द प्रबल भएका ग्रामीण क्षेत्रहरूमा अन्धविश्वास, रूढिवाद, जातपात, धार्मिक कट्टरता, पितृसत्ताजस्ता सामन्ती संस्कृतिमाथि तीव्र प्रहार भएको थियो । राजनीतिक क्रान्तिको क्रममा निश्चित भावावेशले सांस्कृतिक रूपान्तरणलाई तीव्रता दिने गर्दछ। तर क्रान्तिको एउटा चरणपछि शान्तिकालमा फेरि पुरानो आनीबानी, आचरण, व्यवहार र संस्कृति पुनर्स्थापना हुन थाल्दछ । अहिले ती ठाउँमा समेत यही क्रम दोहोरिएको छ । यही कारण सांस्कृतिक क्षेत्रमा निरन्तर क्रान्तिको आवश्यकता परिरहन्छ । आज यसैको अभाव हाम्रो आन्दोलनमा टडकारोसित देखिएको छ ।


(चापागाईंको सांस्कृतिक रूपान्तरण पुस्तकबाट साभार)

(Visited 454 times, 1 visits today)

टिप्पणी

comments