Main Menu

राना समुदायको झीँ झीँ नाच लोप हुँदै

२ माघ, कञ्चनपुर

congress-leader-aryal-construct-20-housesयहाँको राना समुदायकोे झीँ झीँ नाच लोपोन्मुख अवस्थामा पुगेको छ । इतिहासका बारेमा वर्णन गरी परम्परागत शैलीमा देखाइने नाच लोप हुने संघारमा पुग्दा चिन्ता व्यक्त गरिएको छ । राना समुदायको इतिहास र वीरताका घटनालाई गीतमार्फत व्यक्त गरी झीँ झीँ नाच देखाउने गरिन्छ ।

यसमा परम्परागत गहना र पोशाकमा सजिएका महिला दुई पंक्तिमा ६ जनाका दरले टाउकामा प्वालैप्वाल भएको गाग्री र गाग्रीभित्र बालिएको बत्ती राखी नाच्ने गर्छन् ।“गाग्री टाउकामा राखेर नाच्ने महिलाले गीतको लयसँगै कम्मरमाथिको भाग मोडेर नृत्य पेश गर्छन्” असैनाका मिलन रानाले भने, “ त्यतिबेला गीत सुन्न र नाच हेर्नको मजा नै अर्काे थियो । ”

ढोलकको तालमा नाचिने यस नाचमा अगुवा महिलालाई साथ दिँदै अन्यले सामूहिक रुपमा गीत गाउँदै नाच्नेलाई हौस्याउने गर्छन् । नाच देखाउनेले कम्मरमाथिको भागलाई विभिन्न तरिकाले मोडेर नाचलाई आकर्षक बनाउने गर्छन् । “यो नाच राना समुदायमा पहिले देउसीभैली जस्तै असोज र कात्तिक महिनामा देखाइने गरिन्थ्यो” समाजसेवी छत्र रानाले भने, “दुई महिनासम्म नाच देखाइएपछि वनभोज खाएर विसर्जन गर्ने परम्परागत चलन रहेको थियो । हाल युवाले झीँ झीँ नाच संरक्षणको प्रयास गरे पनि सम्झनामा मात्रै बाँकी रहेको छ”, उनले भने ।

बूढापाकालाई नाच सिकाउने चासो नहुनु र युवापुस्तालाई सिक्ने चासो नहुँदा यो नाच हराउँदै गएको छ । हाल यस नाचबारे सागर ज्योति युवा क्लबमा आबद्ध असैनाका राना थारु समुदायका युवाले चासो देखाई बूढापाकाबाट सिकेर लोप हुनबाट बचाउनका लागि प्रयास गर्दै आएका छन् ।

प्रतिवर्ष हराउँदै गएका नाच क्लबमा आबद्ध युवाले देखाउने गरेकाले राना थारु समुदायको पहिचान र संस्कृति बोकेका नाच संरक्षणमा टेवा पुग्नाका साथै युवामा परम्परागत नाचबारे चासो बढेको अर्जुन रानाले बताए । “झीँ झीँ नाचसँगै हराइसकेको शिकार गर्दाको अवस्थालाई दर्शाई देखाउने गरिएको ‘हन्ना’ नाचसमेत बूढापाकाबाट सिकेर युवाले संरक्षणको प्रयास गरेका छन्”, उनले भने । राना समुदायका हराउँदै गएका नाच र गीतको संरक्षणका लागि यसको महत्वबारे दर्शाई जागरुक गराउनुपर्ने सामाजिक अगुवाको भनाइ छ ।

–राजेन्द्रप्रसाद पनेरु

(Visited 150 times, 1 visits today)

टिप्पणी

comments