Main Menu

मुसहर समुदायलाई सिँचाइमा सहयोग

वैशाख २७, पथरी, मोरङ

अति विपन्न ऋषिदेव (मुसहर) समुदायलाई लक्षित गरी मोरङको धनपालथान गाउँपालिका वडा नम्बर–१ मा सञ्चालित सामुदायिक तथा सिँचाइ उप–परियोजना समुदायमा हस्तान्तरण गरिएको छ ।

एक औपचारिक कार्यक्रमबीच बुधबार दिउँसो नोचाको स्थानीय गढेरिया टोलमा निर्मित डिप बोरिङसहितको परियोजनालाई हस्तान्तरण गरियो । नारी विकास संघको समन्वयमा गरिबी निवारण कोषको रु चार लाख ७४ हजार सहयोगमा डिप बोरिङसहित एकै टोलमा दुई स्थानमा पानीतान्ने पम्पसेट जडान गरिएको छ ।

कोषका इन्फो चिफ दिलमानसिंह बस्नेत, विश्व बैंकका कन्सल्टेन्ट टासी छिरिङ, संघकी सचिव ईश्वरी पौडेल, उपाध्यक्ष शारदा खनालले संयुक्तरुपमा परियोजना हस्तान्तरण गर्नुभयो ।

टोलमा रहेका २२ घर परिवार सदस्य रहेको दिनाभद्री सामुदायिक संस्थाको पहलमा आठ बिगाहा जग्गा भाडामा लिएर मुसहर समुदायले सामुदायिक तरकारी खेती गर्न शुरु गरेपछि सिँचाइका लागि दाताले यो सहयोग गरेका हुन् ।

बस्नेतले भन्नुभयो, “पिछडिएको दलित समुदायको जीवनस्तर उकास्ने उद्देश्यले सहयोग गरिएको हो ।” कार्यक्रममा वडाध्यक्ष जनकलाल चौधरी, जग्गादाता कन्हैयालाल चौधरी, संस्थाका सदस्य झरिलाल ऋषिदेवलगायतले पिछडिएको समुदायलाई भएको सहयोग निकै प्रभावकारी बनेको चर्चा गर्नुभएको थियो । सिँचाइ परियोजनाबाट टोलका १५० दलित लाभान्वित हुने संघकी कर्मचारी इन्द्रकला भट्टराईले बताउनुभयो ।

समुदायले बनाएको समूहमा मासिक बचत गर्ने र आवश्यक पर्दा गर्जोसमेत टार्ने गरेको स्थानीयबासी सुमित्रा ऋषिदेवले जानकारी दिनुभयो ।

(Visited 132 times, 1 visits today)

टिप्पणी

comments