Main Menu

प्रदूषणमुक्त बन्दै ऐतिहासिक नगरी कीर्तिपुर

चैत्र ३, काठमाडौँ

kirtipur-cleaning-campaign-starts

काठमाडौँ उपत्यकाको ऐतिहासिक नगर कीर्तिपुर क्षेत्रबाट आज करिब २५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

काठमाडौँको दक्षिण क्षेत्रमा पर्ने यस नगरमा रहेका ऐतिहासिक महत्वका क्षेत्र, सम्पदास्थल, नदी तथा कुवालगायत विभिन्न स्थानमा अहिलेसम्म जम्मा भएका कुहिने/नकुहिने फोहर सफाइ गरिएको हो ।

प्रत्येक राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका कीर्तिपुरवासी आज सामाजिक कार्यमा व्यस्त देखिन्थे । नगर क्षेत्रलाई फोहर तथा प्रदूषण मुक्त बनाउन करिब २ हजार व्यक्तिले सामूहिकरुपमा प्रण गरेका छन् ।

कीर्तिपुर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय लोकतान्त्रिक चोक, बाघभैरव, विष्णुदेवी, देवढोकालगायतका १९ स्थानमा विभाजित भई नगरभित्रका फोहर व्यवस्थापनमा सक्रिय भएका थिए ।

नगर सफाइ अभियानको नेतृत्व नगर प्रमुख रमेश महर्जनले गरेको थिए भने उनलाई सुरक्षाकर्मी, स्थानीयवासी, विभिन्न संघ संस्थाका प्रतिनिधिले साथ दिएका थिए ।

नगर प्रमुख महर्जनले पछिल्लो समय नगर क्षेत्रमा बढ्दो शहरीकरण तथा अव्यवस्थित बसोबासका कारण दुर्गन्धित र प्रदूषित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै मानिसलाई जन्मेदेखि नमरुञ्जेलसम्मका विभिन्न पूजाआजा तथा संस्कार र तीर्थस्थलका रुपमा परिचित रहेको यहाँका सम्पदा, पानीका स्रोत, सडक आसपास क्षेत्रमा सफाइ गरिएको बताए ।

बिहान ७ बजेदेखि ९ बजेसम्म गरिएको सफाइ अभियान लोकतान्त्रिक चोकदेखि कीर्तिपुर चक्रपथसम्मका स्थानीयवासीले सडक किनारामा भेला भई एकापसमा हात समाउँदै बाँधिएको आत्मीयताले अब त्यस क्षेत्रमा फोहर नगर्ने र स्वच्छ सफा राख्न प्रतिबद्धता जनाएको सन्देश पाइएको थियो ।

स्थानीयवासी प्रकाश थापाले नगर क्षेत्रमा बाटो, ढललगायत पूर्वाधार व्यवस्थित हुन नसकेका कारण त्यहाँ बढ्दै गएको प्रदूषणले जनजीवनमा नकारात्मक प्रभाव पारेको विचार व्यक्त गर्दै सफाइका साथै सहि स्थानमा फोहर व्यवस्थापनको खाँचो रहेको बताए ।

सधैजसो राजनीतिक गतिविधिमा व्यस्त रहने कीर्तिपुरवासीलाई स्थानीय सामाजिक सङ्घ संस्था, उद्योगी तथा समाजसेवीले पनि सघाएका थिए ।

राम्रो कानुनको व्यवस्था भए पनि कार्यान्वयन पक्ष फितलो भएकाले विभिन्न रसायन, ढलको मिसावट नदी तथा सडक किनारमा हुन थालेपछि समस्या विकराल बन्दै गरेका अवस्थामा सबैको सहकार्यबाट त्यस क्षेत्रको प्रदूषण न्यूनीकरण गर्न अभियान थालिएको नगरपालिकाले जनाएको छ ।

अभियानले सम्पदा तथा त्यस वरपर क्षेत्रबाट ठूलो परिमाणमा फोहर व्यवस्थापन गर्दै सर्वसाधारणलाई गरे के हुँदैन ? भन्ने सन्देश दिएको छ । अभियानले आज एउटा मोड लिएको भए पनि जवसम्म त्यहाँ आउने पर्यटक तथा बटुवाले स्वच्छ र सफा भएको अनुभूति गर्न सक्तैनन, त्यस बेला सम्म सो कार्य जारी राख्नुपर्ने स्थानीय गंगादेवी झुमालले बताइन् ।

फोहरको प्रभावकारी व्यवस्थापन हुन नसक्दा कीर्तिपुरको सभ्यता र पहिचानमा क्रमश ह्रास आइरहेको अहिलेको अवस्थामा यस कार्यले सहयोग पुर्याउने विश्वास गरिएको छ । मानव अतिक्रमणका कारण विगतमा जथाभावी मिल्काइएको फोहरले नगर क्षेत्र नै कुरुप बन्न लागेको छ ।

  • कृष्णराज गौतम

तस्बिर – ourkirtipur.com.np

(Visited 123 times, 1 visits today)

टिप्पणी

comments