Main Menu

डेरा खोज्दै सांसद, डेरा नपाएपछि अधिकांश होटेलमा बस्दै

माघ २३, सुर्खेत

lawmakers-house-rent-difficult

पहिलोपटक सुर्खेत झरेका मुगुबाट निर्वाचित नेपाली काँग्रेसका सांसद झोवा विकले अहिलेसम्म पनि डेरा पाएकी छैनन् ।

यहाँ आइपुग्दा स्थान र सांसद दुबैको नौलो अनुभूति लागेको उनलाई यहाँको भूगोल र सामाजिक वातावरण नयाँ संसारजस्तो लागिरहेको छ । गाउँले परिवेशबाट संसद् भवनमा छिर्दा गर्वको अनुभूति भएको प्रतिक्रिया सांसद विकले दिइन् ।

“सांसदमा निर्वाचित भएपछि मात्र म माघ ६ गते पहिलो पटक सुर्खेत झरेँ,” उनले भनिन्, “अहिले लोकप्रिय होटेलमा बसेकी छु । यहाँको बारेमा मलाई केही थाहा छैन । चिनेका साथीभाइलाई एउटा फ्ल्याट खोजिदिन भनेकी छु, पाइएको छैन । साथीभाइको सहयोगमा बल्लतल्ल पाइएको तीन कोठाको भाडा रु. २० हजार भनेपछि लिन गाह्रो भयो ।

“बढी पैसा तिरेर सुर्खेतमा झर्नुपर्दाको पीडा त छँदैछ, त्यसमा झन भाडामा बस्दा ढाड सेकिन्छ । जनप्रतिनिधि भइसकेपछि जनताका थुप्रै आशा छन्, तर आशा पूरा गर्न बसाइँ व्यवस्थापन गर्न सकिएको छैन । अहिलेसम्म आफूसँग आउने पार्टी कार्यकर्ता र शुभचिन्तकलाई होटेलमा नै राख्दै आएकी छु ।”

त्यस्तै, जाजरकोट प्रदेश (ख) बाट निर्वाचित नेकपा (एमाले)का सांसद करवीर शाही प्रदेशसभा भवन नजिकको बस्ती इत्राम क्षेत्रमा कोठा भाडा खोज्दैछन् । त्यहाँ सबै घर भाडामा बस्ने मान्छेले भरिभराउ थिए । उनका लागि एकाध घरमा कोठा पाइए तर भाडा सोध्दा सोचेको भन्दा दोब्बर भएको उनले बताए । रु. १० हजारसम्म अनुमान गरेको कोठाका लागि रु. १८ देखि २६ हजार भाडा भनेको सुन्दा उनी केही नभनेर लुसुक्क फर्के ।

“अहिले साथीभाइलाई कोठा खोज्न पठाएको छु र मैले पनि खोजिरहेको छु । मिल्दो भाडा र उपयुक्त कोठा पाइएको छैन”, सांसद शाहीले भने ।

संसद् भवन नजिक कोठा नपाएपछि केही समयका लागि होटेलमा बसिरहेको उनले बताए । सुर्खेत अस्थायी राजधानी तोकिएपछि कोठा पाउन गाह्रो र भाडामा चरम महँगी भएको उनको भनाइ छ । कोठा नपाउँदा एक महिनामा तिर्ने भाडा होटेलमा एक हप्तामै तिर्नुपरेको उनको दुःखेसो थियो ।

यस्तै, रुकुम प्रदेश (ख) का सांसद गोपाल शर्मा पनि अहिलेसम्म होटेलमै बस्छन् । उनले पनि संसद् भवन नजिकै कोठा खोजिरहेका छन् । राष्ट्रियसभाको निर्वाचनपछि मात्र बसाइँ व्यवस्थापन हुने सांसद शर्माको भनाइ छ ।

डोल्पा (ख) का प्रदेश सांसद बीरबहादुर शाही पनि होटेलबमै बास बसिरहेका छन् । राष्ट्रियसभाको चुनाव र संसद्को कामले गर्दा आफन्तको सहयोगमा कोठा खोजिरहेको उनले बताए । चिसो मौसममा सुर्खेत झर्ने अधिकांश डोल्पाका जनतालाई सेवा दिइरहनुपर्दा र डेरा नहुँदा होटेल खर्च बढेको उनले बताए ।

अस्थायी राजधानी तोकिनुपूर्व सुर्खेतमा कोठा भाडादर सामान्य भए पनि अहिले भने ह्वात्तै बढेको सांसद शाहीले बताए । जनप्रतिनिधिका हैसियतले उनीहरुको माग सम्बोधन गर्नैपर्ने भएकाले व्ययभार थेग्न कठिन हुने प्रदेश सांसदहरुको भनाइ छ ।

यी ४ सांसद् मात्र होइन, प्रदेश नं ६ का अधिकांश सांसद्को अवस्था उस्तै देखिन्छ । डेरा नपाउनेहरू कोही आफन्तकहाँ त कोही होटेलमा बस्दै आउएका छन् । तुलनात्मक रुपले काठमाडौँभन्दा सुर्खेतमा खाद्य वस्तुबाहेक अन्य चिजको मूल्य बढेको पाइन्छ ।

(Visited 100 times, 1 visits today)

टिप्पणी

comments