Main Menu

प्रदेश नं ६ को नाम ‘कर्णाली’ घोषित, स्थायी राजधानी सुर्खेत नै

फागुन १२, सुर्खेत

province-6-name-karnali-capital-surkhet

प्रदेशसभाको बैठकले ६ नं प्रदेशलाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट ६ नं प्रदेशको नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो । बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा नेपाली काँग्रेस जुम्लाका सांसद दीनबन्धु श्रेष्ठ, एमाले डोल्पाका सांसद वीरबहादुर शाही र राप्रपा कालीकोटका सांसद सोशिला शाही समर्थन गरेका थिए ।

४० प्रदेशसभा सदस्यमध्ये ३७ जनाले सो प्रस्तावको पक्षमा मत जाहेर गरेको तथा मुगुबाट निर्वाचित सांसद चन्द्रबहादुर शाही र झोवा विक अनुपस्थित रहेको सभामुख राजबहादुर शाहीले जानकारी दिए । बैठकमा सभामुख शाहीले यस प्रदेशको नाम ‘कर्णाली प्रदेश’ भनेर घोषणा गरेका थिए ।

बैठकमा प्रस्तुत प्रस्तावको छलफलमा प्रदेशसभा सदस्य सीता नेपाली, कृष्णा शाह, हिमबहादुर शाही, कौशिला खत्री, दानसिंह परियार र पदमबहादुर रोकायाले भाग लिएका थिए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत

यसैगरी बैठकले सर्वसम्मत रुपमा प्रदेश नं ६ को प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर) राख्ने निर्णय गरेको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ‘प्रदेश राजधानी सुर्खेतमा राखियोस्’ भनी प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेकपा (एमाले)का सांसद गुलाबजंग शाह र नेकपा (माओवादी केन्द्र)का सांसद गणेशप्रसाद सिंहले समर्थन जनाएका थिए ।

प्रदेशको राजधानी सुर्खेत राख्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको विकल्प नरहेको बताए । काँग्रेसका सांसद यज्ञबहादुर विसीले कर्णाली प्रदेशमा सरकार पक्ष र प्रतिपक्षको अनुभूति नभएको बताए ।

“प्रदेशको नाम र राजधानी सर्वसम्मत तोक्न सफल भएका छौँ र हामीलाई कोही सत्ता र कोही प्रतिपक्षको सांसदको अनुभूति गर्न पाएनौँ,” उनले भने, “समृद्ध प्रदेश निर्माण गर्न आगामी दिनमा सत्ता पक्ष र प्रतिपक्षको महशुस हुनेछैन र प्रदेशको विकासमा एकमतका साथ अघि बढ्नेछौँ ।”

छलफलमा भाग लिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशको मौसमी राजधानीको व्यवस्था गरिनुपर्ने बताए । यो प्रदेशलाई ग्रीष्मकालीन र शीतकालीन राजधानीको रुपमा विकास गरिनुपर्ने भन्दै कर्णालीको केन्द्र जुम्लालाई ग्रीष्मकालीन र वीरेन्द्रनगरलाई शीतकालीन राजधानी बनाउनुपर्ने धारणा राखे ।

सांसद शाहीद्वारा नियमापत्ति

नेपाली काँगेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशको राजधानी सुर्खेत राखियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सरकारका मन्त्रीहरुले भाग लिन नमिल्ने भन्दै नियामपत्ति गरे ।

प्रदेश राजधानी सुर्खेत बनाउनुपर्ने प्रस्तावमाथि भएको छलफलमा भाग लिनका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाई सभामुख राजबहादुर शाहीले बोल्न समय दिएपछि सांसद शाहीले नियमापत्ती जनाएका हुन्

प्रदेशको राजधानी तोक्ने विषयको प्रस्ताव तथा सरकारले प्रस्तुत गरेका प्रस्तावमा सरकारका मन्त्रीहरुले बोल्ने परम्परा नभएको उनले बताए ।

सभामुख शाहीले मन्त्री भण्डारीलाई बोल्न दिएपछि संसदीय परम्पराविपरीत सरकारका मन्त्रीले सरकारकै प्रस्तावमा भाग लिन नपाउने भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

सभामुख शाहीले मन्त्री भण्डारी मन्त्री मात्र नभई जुम्लाको सांसद भएकाले प्रस्तावमाथि बोल्न समय दिएको बताएपछि विपक्षी दलका नेतासांसद शाही आशनमा बसेका थिए ।

(Visited 397 times, 1 visits today)

टिप्पणी

comments