Main Menu

म्याग्दी जिल्ला जनस्वास्थ्य कार्यालयको भवन निर्माण सम्पन्न

 

असार १९, बाबियाचौर (म्याग्दी) । म्याग्दीको बेनीमा करिब रु. २ करोडको लागतमा जनस्वास्थ्य कार्यालयको भवन निर्माण भएको छ ।

सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्कामार्फत रु. १ करोड ८७ लाखको लागतमा २० कोठे भवन निर्माण गरेको हो । २०७० असोजमा २०७२ असार मसान्तसम्म सक्ने लक्ष्यसहित भवन निर्माण सुरु भएको थियो ।

लक्ष्यभन्दा दुई वर्ष ढिला निर्माण भएको ३ तले भवन गत हप्ता हस्तान्तरण भएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेले बताए । भूकम्प प्रतिरोधी क्षमताको सो भवनको भुइँ तला अपाङ्गमैत्री छ ।

भूकम्प, नाकाबन्दी र मजदुर अभावका कारण भवन निर्माणमा ढिलाइ भएको कम्पनीका प्रतिनिधिको भनाइ छ ।

यसैबीच सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण सुरु गरेको छ । रु. १८ करोड १९ लाखमा ठेक्का सम्झौता गरेको रफिना–गल्वा–महादेव खिम्ती जेभीले भवन निर्माणका लागि प्रारम्भिक काम सुरु गरेको हो ।

सम्झौताअनुसार ३ वर्षमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । हाल अस्पतालले प्रयोग गरिरहेको भवन रहेको ठाउँमा नयाँ भवन निर्माण हुन लागेको हो । अस्पताल परिसरको खाली जग्गामा अस्थायी भवन र जनस्वास्थ्य कार्यालयको भवनबाट सेवा सञ्चालन गरिने अस्पताल विकास समितिका अध्यक्ष माधव रेग्मीले बताए ।

रु. ६५ लाखमा ठेक्का पाएको शेर्पा कन्स्ट्रक्सनले दुई वटा अस्थायी भवन बनाउन सुरु गरेको छ । भदौ अन्तिमसम्म अस्थायी भवन निर्माण सम्पन्न गर्ने कम्पनीले जनाएको छ । अस्थायी भवन तयार पारेपछि पुरानो भवन भत्काएर नयाँ निर्माणको काम सुरु हुने जनाइएको छ ।

(Visited 124 times, 1 visits today)

टिप्पणी

comments