Main Menu

विद्यालयको चर्पी प्रयोगविहीन भएपछि विद्यार्थी झाडी पस्न बाध्य

  • ललित सिंह

भदौ २१, बझाङ । विद्यार्थीलाई प्रयोग गर्नका लागि जिल्ला शिक्षा कार्यालयले दिएका लाखौँका तीनवटा चर्पी यहाँको एक विद्यालयमा प्रयोगविहीन हुँदा विद्यार्थी झाडी र खोला किनारामा दिसापिसाब गर्न बाध्य भएका छन् ।

शिक्षा कार्यालयद्वारा विद्यालयमा छात्रछात्रालाई प्रयोग गर्न दिएका तीनवटा चर्पीका पाँचकोठा प्रयोगविहीन भएपछि दुर्गा माध्यमिक विद्यालय, सैनपसेलाका छात्रछात्रा खोला किनारा र झाडीमा दिसापिसाब गर्न थालेका हुन् ।

विद्यालयमा चारवटा चर्पी छन्, एक शिक्षकले प्रयोग गर्ने गरेका छन्, विद्यार्थीलाई प्रवेश निषेध गरिएको छ भने तीनवटा चर्पी दिसापिसाबले भरिनुका साथै ढोकामा काँडेझार उम्रेर प्रयोगमा नआएको एक वर्ष भयो । विद्यालयमा दिसापिसाब लाग्यो भने दगुर्दै खोला किनार र झाडीमा जानुपर्ने बाध्यता भएको कक्षा ९ मा अध्ययनरत अन्नता जप्रेलले बताइन् ।

उनले भनिन्, “कसैले देख्छ की भनेर डर लाग्छ । हत्तपत्त पानी बिनै दिसा सफा गरेर कक्षा कोठामा बस्नुपर्छ । छाउ भएको समयमा त विद्यालयमा जानै अप्ठ्यारो लाग्ने हुन्छ ।”

“घरमा चर्पी प्रयोग गरिन्छ, विद्यालयमा चर्पी प्रयोग गर्न पाइँदैन । शिक्षकले प्रयोग गर्ने चर्पीमा गए शिक्षकले गाली गर्नेगर्छन् । भएको चर्पीमा झाडी उम्रेर चर्पीभित्र पस्न नसक्ने भएपछि खुल्ला ठाउँमा दिसापिसाब गर्नुपर्छ,” कक्षा १० मा अध्ययनरत राकेश जप्रेलले बताए ।

उनले भने, “हामीले प्राक्टिकल गर्दा चर्पी सफा गरौँ सर भन्दा ‘हैन, शिक्षाबाट योजना माग्नुपर्छ’ भन्छन् । हाम्रो त विद्यालयमा दुर्दशा छ ।”

विद्यालयमा संख्या गन्ने हो भने चर्पी आवश्यकताभन्दा बढी छन् । प्रयोगमा एक दुईभन्दा बढी छैनन् । कोही पुराना भए र प्रयोग गर्न रोक लगाएको छ, कुनैमा फोहर जम्मा भएको छ । जिल्ला शिक्षा कार्यालयले आफ्नो कुरा नसुनेको र चर्पी मर्मतका लागिसमेत रकम नदिएकाले यस्तो अवस्था आइलागेको शिक्षक तिलक दौल्याले बताए ।

उनले भने, “विद्यार्थीलाई चर्पी प्रतिबन्ध छैन । एकै चर्पी भएकाले लाइनमा बस्नुपर्छ । पानीको अभाव छ । विद्यार्थीलाई खाल्डोको दिसा सफा किन गराउने भन्ने हो । अब आन्तरिक स्रोतबाट भएपनि चर्पीको मर्मत गरिन्छ । विद्यालयमा करिब ६०० विद्यार्थी छन् ।”

“कार्यालयमा हाजिर भएको एक हप्ता भएको छैन,” जिल्ला शिक्षा अधिकारी पदमराज जोशीले बताए, “विद्यालयको अवस्था बुझ्दैछु । अहिलेसम्म करिब रु. १५ लाख रकम दुर्गा माविमा चर्पी निर्माण र मर्मतको लागि गएको छ ।”

(Visited 191 times, 1 visits today)

टिप्पणी

comments