Main Menu

कुराकानी

रुपान्तरण नहुने हो भने पार्टीले क्रान्ति गर्दैन– लीलामणि

(नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सचिवालयको विस्तारित बैठक चलिरहेको छ । आजसम्म बिभिन्न जिल्लाका जिल्ला इञ्चार्जहरुले चुनावमा पार्टीको पराजय हुनुका कारणलगायत जिल्लाको राजनीतिक स्थितिको रिपोर्टिङ प्रस्तुत गरे । भोलि शुक्रवार अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेताहरुले जवाफ दिँदैछन् । दश वर्ष जनयुद्ध लडी राजतन्त्र हटाउन र गणतन्त्र स्थापना गर्न प्रमुख भूमिका खेलेर पहिलो संविधानसभा चुनावमा सबभन्दा ठूलो पार्टीको रुपमा स्थापित भएको माओवादी शक्ति बिभाजनका कारणले दोश्रो संविधानसभामा खुम्चिएर तेश्रो दल बन्न पुग्यो । फुटबाट पाठ सिकी अहिले केही पूर्वमाओवादी घटकहरु पुनः जोडिएर माओवादी केन्द्र बनाइएको भएता पनि भर्खरै सम्पन्न दुई चरणको स्थानीय तहको निर्वाचनमा उसले खासै प्रगति गर्न सकेन । यस्तै कुराहरुलाई समीक्षा गर्न र आगामी दिनहरुका लागि बाटो तय गर्न बसेको बैठक कसरी अगाडि बढिरहेछ छ त, भन्ने सवालमा मूल्याङ्ककनका लागि पत्रकार कमल गिरीले सो पार्टीका पोलिट ब्यूरो एवं केन्द्रीय कार्यालय सदस्य लीलामणि पोखरेलसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ ।– सम्पादक)

यो बैठक जारी छ, यसले के संकेत गरिराखेको छ, कता जाँदैछ, निष्कर्ष के आउँदैछ, कस्तो छलफल भइरहेका छ ?

– बैठक हिजोसम्मलाई भनेर बोलाएको थियो, तर केन्द्रीय कार्यालयबाट प्रस्तुत जुन एजेण्डा छन् र तिनीहरुको गम्भीरता जुन छ, त्यस आधारमा निश्चितै त्यसले अलि लामो समय माग गथ्र्यो नै । र, बैठक लम्बियो पनि । आजसम्ममा जिल्ला इञ्चार्जहरुले बोल्ने क्रम सकिएको छ । आजसम्म केवल रिपोर्टिङ्ग, टिप्पणी, बैचारिक राजनीतिक प्रश्नहरु बारेका जिज्ञासा, त्यसको अहिलेको हामीले गर्न खोजेको मूल्याङ्कन, यही कुराहरुबारे मात्रै छलफल चल्यो । निष्कर्षको दिशामा छलफल भएको छैन । निष्कर्षमा लैजाने हो भने मेरो दृष्टिमा जुन गम्भीरताका साथ प्रस्तावहरु उठेका छन्, पार्टीले निर्वाचनमा भोग्नुपरेको पराजयका मूल कारणहरु पहिचानहरु राम्रोसँग नगरीकन त्यसको निदान नगरीकन औपचारिक रुपमा बैठक समापन गरेर त्यसको प्रतिफल फेरि पनि उस्तै हुन जान्छ, जस्तो विगतमा हुँदै आएको थियो । भेला गर्ने, मूल्याङ्कन गर्ने, यो कमी भयो, उ कमी भयो भन्ने, फेरि त्यही कमीकमजोरीहरु दोहोर्याइरहने । यस्तो स्थिति हुनु हुँदैन ।

 यसअघि पनि विभिन्न पटक मिटिङहरु भएका छन्, तर अहिले यो चुनाव पछाडिको अत्यन्त महत्वपूर्ण मिटिङ हो । अघिल्ला समिक्षात्मक बैठक र यसमा के फरक आउँला त ?

-राजनीतिक रुपमा, आधारभूत रुपमा फरक छैन । किनभने पार्टी कमजोर थियो, जसको परिणामस्वरुप यतिबेला निर्वाचनमा हामीले धक्का खायौं । पार्टी कमजोर हुनुको कारणले पार्टीका विचार, नीति जनताको बीचमा पुर्याउने, सम्प्रेषण गर्ने, यी कुराहरुमा नितान्त कमिकमजोरी भयो । पार्टी कमजोर थियो, जसका कारणले साधनस्रोतहरु पार्टीसँग हुन सकेनन् । पार्टी कमजोर हुँदै गइरहेको थियो, निर्वाचनमा हुने विभिन्न हथकण्डाहरुलाई चिर्न सकिएन ।

अब यो बैठकपछाडि पार्टीका नेता कार्यकर्ताहरु ऊर्जा लिएर गाउँवस्तीमा फर्कन्छन् त ?

-पहिलो कुरो हामी कहाँनिर चुकेका छौँ भन्ने कुराहरुको रियलाइजेसन गर्ने र त्यसलाई परीक्षण गरेर जाने हो । दोस्रो, हाम्रो संगठनात्मक शक्ति जुन किसिमको अराजक बनेको थियो, तितरबितर भएको थियो, त्यो संगठनात्मक शक्तिलाई व्यवस्थित गर्नको निम्ति ठोस र वस्तुसम्मत कार्ययोजना निर्माण गर्ने हो । हाम्रो तेस्रो काम बाँकी स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई नितान्त पार्टीगत मिहिनेतबाट जिताउने हो ।

ठाउँठाउँमा बिभिन्न पार्टीका अवसरवादी व्यक्तिहरुले पार्टीभित्रैबाट आफ्नै पार्टीको साख गिराउने काम गरेको चर्चा छ । कतिपय त्यस्ता व्यक्तिहरुलाई पार्टीहरुले त निलम्बन नै गरेका समाचारहरु मिडियामा आएका छन् । तपाईंको पार्टीभित्र कुनै त्यस्तो छैन ?

-त्यस्ता व्यक्तिहरुका बारेमा पार्टीले स्पष्ट निर्णय गरेको छ । त्यस्ताहरु निलम्बित पनि भएका छन् ।

जस्तो, कहाँ भएका छन् ?

-सुर्खेतमा भएको छ । त्यसपछाडि, पार्टीको बैठको मूल्याङ्कनपछाडि पार्टीविरोधी गतिविधिमा लागेकाहरुलाई पार्टीले कारबाही गर्नेछ भन्ने छ ।

तपाईं माओवादीमा एकता प्रक्रियाबाट प्रवेश गर्नुभयो । जुन उद्देश्यले एकता गरियो भनियो, त्यो पूरा भएको तपाईंलाई लाग्दछ ? तपाईं सन्तुष्ट हुनुहुन्छ ?

-पार्टी अहिले जुन दिशामा गइरहेको छ, त्यसमा म सन्तुष्ट छैन । यो पार्टी रुपान्तरण नहुने हो भने यसले क्रान्ति गर्दैन, क्रान्ति गरिहालेछ भने पनि सफल हुन्न । सफल भएछ भने पनि टिक्दैन, टिकेछ भने पनि संशोधनवाद लागु हुन्छ र प्रतिक्रान्ति हुन्छ । त्यसैले अहिलेका अवस्थामा सन्तुष्टि लिने ठाउँ छैन ।

(Visited 268 times, 1 visits today)

टिप्पणी

comments