Main Menu

मधेशी नेताहरुले लिखित पत्र बुझाए

शर्त मानेमा वार्तामा बस्न मधेशी मोर्चा तयार

उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव ।

उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव ।

भदौं १३, काठमाडौं । तराई–मधेशमा आन्दोलनरत बिभिन्न मधेशवादी दलहरु सम्मिलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारले आह्वान गरे अनुसार वार्तामा बस्न चार शर्त अघि सारेको छ । शनिवार साँझ प्रधानमन्त्री सुशील कोइरालालाई भेटी मोर्चाका तर्फबाट आएका प्रतिनिधि नेताहरुले एक लिखित पत्र बुझाएका थिए । प्रधानमन्त्रीलाई पत्र बुझाउन तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री गोबिन्द चौधरी, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तराई मधेश सद्भावना पार्टी, नेपालका नेता रामनरेश यादव र सद्भावना पार्टीका नेता रामकिशोर सिंह बालुवाटारमा पुगेका थिए । उनीहरुले प्रधानमन्त्रीसँग करिब डेढ घण्टा कुराकानी गरेका थिए । भेटघाटको समयमा प्रधानमन्त्री सुशील कोइरालाको साथमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल, मन्त्री द्वय महेश आचार्य र नरहरि आचार्य पनि उपस्थित थिए ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको लेटरप्याडमा टाइप गरिएको उक्त पत्रमा उल्लेखित शर्तहरु यस प्रकार छन् ;
१. ऐतिहासिक मधेश जनविद्रोह/जनआन्दोलनको दौरान सरकारसँग भएको २२ बुँदे र ८ बुँदे सम्झौता तथा बिभिन्न आन्दोलका दौरान आदिवासी जनजाति, थारु, मुस्लिम आदिसँग भएको सम्झौता/सहमतिको तत्काल कार्यान्वयन ।
२. सेना र सशस्त्र सुरक्षा बललाई यथाशिघ्र आ–आफ्नो ब्यारेकमा फर्काउने र जारी रहेको धरपकड, दमन र हिंसाको अन्त्य ।
३. संविधानसभामा बलपूर्वक थालिएको संविधान निर्माणको प्रकृया तथा कार्य तत्काल स्थगित गरी सबै पक्षको सहमतिको आधारमा संविधान निर्माण गर्ने प्रतिवद्धता र त्यसलाई व्यवहारमा लागु गर्ने कार्यको थालनी ।
४. सरकारद्वारा गिरफ्तार गरिएकाहरुको बिना शर्त तत्काल रिहाइका साथै आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा, घाइतेहरुको सम्पूर्ण उपचार खर्च राज्यले नै व्यहोर्नु पर्ने व्यवस्था ।

प्रधानमन्त्रीलाई बुझाइएको पत्र

प्रधानमन्त्रीलाई बुझाइएको पत्र

संयुक्त मोर्चाको तर्फबाट प्रधानमन्त्रीलाई बुझाइएको पत्रमा हस्ताक्षर गर्ने नेताहरुमा संघीय समाजवादी फोरम, नेपालको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टी, नेपालका अध्यक्ष महेन्द्र राय यादव रहेका छन् ।

(Visited 345 times, 1 visits today)

टिप्पणी

comments