Main Menu

आन्दोलनकारीहरु सडकमा अझै उग्र

धनुषामा निरन्तर निषेधाज्ञा जारी

जनकपुरमा बुधवार बिहान भएको आन्दोलनकारी र प्रहरीबीचको झडप

जनकपुरमा बुधवार बिहान भएको आन्दोलनकारी र प्रहरीबीचको झडप । फोटो स्रोत : दलान

भदौ १६, जनकपुर । मंगलवार दिनभर स्वायत्त मधेस प्रदेश माग गर्दै सडकमा उत्रेका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा तनावग्रस्त बनेको धनुषाको जनकपुर वुधवार पनि अशान्त छ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले वुधवार बिहानै जनकपुरमा सडकमा उत्री प्रदर्शन गरे । मंगलवार स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञासमेत तोडी आन्दोलनकारीहरु सडकमा उग्र रुपमा उत्रँदा थुप्रै प्रदर्शनकारी तथा सुरक्षाकर्मीहरु घाइते भएका थिए । असामान्य स्थितिलाई नियन्त्रणमा लिने प्रयत्न स्वरुप वुधवार बिहानैदेखि प्रशासनले निषेधाज्ञा जारी भएको सार्वजनिक गरेको थियो । तर, आन्दोलनकारीहरुले प्रशासनको निषेधाज्ञालाई बेपर्वाह गरी वुधवार बिहानैबाट उग्र जुलुस निकाल्दा जनकपुर बजारमा आन्दोलनकारी र प्रहरीबीच झडपको स्थिति बन्न पुग्यो । बजार क्षेत्र पूरै तनावग्रस्त भएको स्थानीयहरुले बताएका छन् ।

मंगलवार संयुक्त लोकतान्त्रिक संयुक्त मधेशी मोर्चाको आह्वानमा जनकपुरमा भएको प्रदर्शनमा हजारौंको सहभागिता रह्यो । उत्तेजित भिड सहितको जुलुसलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा जितकुमार साह र सुजित साह घाइते भएका थिए । प्रहरीले भिड नियन्त्रणका लागि रबरको गोली चलाएको स्विकारेको छ । आन्दोलनकारीहरुका अनुसार जुलुसलाई उत्तेजित बनाउन प्रहरी स्वयंले जुलुसतर्फ ढुङ्गा हानेको थियो । प्रहरी तर्फबाट हानिएको ढुङ्गा लागी आन्दोलनरत संयुक्त मोर्चाको एक घटक सद्भावना पार्टीकी महासचिव विभा ठाकुरको टाउकोमा चोट लागेको थियो । त्यस्तै गरी प्रहरी तर्फबाट हानिएको ढुङ्गा लागेर घाइते हुनेहरुमा रामनारायण यादव र राजकुमार गु्प्ता थिए । समाचार अनुसार हजारौंको उग्र जुलुस भानुचोकबाट रेलवे स्टेसनतर्फ जाँदा बीचैमा प्रहरीले रोक्ने प्रयास गरेको थियो र त्यही क्रममा आन्दोलनकारी र प्रहरीबीच झडपको स्थिति सिर्जना हुन पुग्यो । प्रहरीका अनुसार झडपको क्रममा भिडलाई नियन्त्रण गर्न प्रहरीको तर्फबाट तीन राउन्ड रबर गोली, ३५ राउन्ड हवाई फायर र ६१ सेल अश्रुग्याँस प्रहार भएको थियो ।

(Visited 221 times, 1 visits today)

टिप्पणी

comments