Main Menu

डा. केसी फेरि आमरण अनशनमा, ११ औँ पटक

dr-kc-hunger-strike-11-timesसाउन १०, काठमाडौँ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा. डा. गोविन्द केसीले ११ औँ पटक आमरण अनशन सुरु गरेका छन् ।

प्रा. डा. केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डिन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै अनशन सुरु गरेका हुन् ।

शिक्षण अस्पताल महाराजगञ्जको गणेशमानसिंह भवनमा अनशन सुरु गरेका प्रा. डा. केसीले यसअघि गरेका सम्झौता कार्यान्वयन गर्न सरकारलाई असार ३१ गतेसम्मको समयावधि दिएका छन् ।

अनशन सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा उनले भने, “पटक-पटक आश्वासन दिए पनि माग पूरा भएनन्, सत्याग्रह सुरु गर्न बाध्य भएँ ।”

उनी संसद्मा रहेको चिकित्सा शिक्षा ऐन चाँडो पारित गर्नुपर्ने र चिकित्सा शिक्षा क्षेत्रका अनियमितता रोक्ने प्रमुख माग राख्दै पटक-पटक अनशन बस्दै आएका छन् ।

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा डा. केसीका माग सम्बोधन गर्ने वातावरण मिलाउन हिजो त्रिवि उपकुलपति र डा. केसी पक्षबीच वार्ता भएको बताइएको छ । हिजो बिहान भएको छलफलमा त्रिवि उपकुलपति तीर्थ खनिया र डा. केसी पक्षबीच वार्ता भए पनि सन्तोषजनक कुरा नभएको डा. केसीका सहयोगी डा. जीवन क्षेत्रीले बताए ।

चार सहायक डिन नियुक्त

हिजै डा. केसीको माग सम्बोधन गर्दै आइओएमले एक वर्षदेखि रिक्त सहायक डिन नियुक्त गरेको छ । प्रा. डा. राजेन्द्रप्रसाद गुरागार्इं, प्रा. डा. द्वारिकाप्रसाद श्रेष्ठ, प्रा. डा. मधु देवकोटा दीक्षित र प्रा. डा. मन्दिरा वन्तलाई सहायक डिनमा नियुक्त गरिएको हो ।

यस्तै महाराजगन्ज मेडिकल कलेजका प्रमुखमा प्रा. डा. प्रतापनारायण प्रसादलाई नियुक्त गरेको आइओएमले जनाएको छ । डा. क्षेत्रीले आफूलाई यस विषयमा जानकारी नभएको बताए ।

“एक साता समय दिँदा पनि विश्वासको वातावरण बनेन, बिहानको छलफल आधिकारिक पनि नभएकाले यो विषयमा धेरै जानकारी भएन,” उनले भने ।

यसैबीच लामो समयदेखि संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकबारे छलफल गर्न व्यवस्थापिका–संसद्, महिला, बालबालिका तथा समाजकल्याण तथा ज्येष्ठ नागरिक समितिले डा. भगवान कोइराला, प्रा. केदारभक्त माथेमा र डा. केसीलाई समेत बोलाएको छ ।

(Visited 87 times, 1 visits today)

टिप्पणी

comments