Main Menu

चिनियाँ राष्ट्रपति सि जिनपिङको सम्भावित नेपाल–भ्रमण विश्लेषण

राष्ट्रपति सिको नेपाल भ्रमण

राजनीतिक विश्लेषक झलक सुवेदी

राजनीतिक विश्लेषक झलक सुवेदी

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने विषयले यतिवेला नेपालको मात्र होइन, दक्षिण एसियाकै कूटनीतिक राजनीतिक जगत्मा चासो जगाएको छ । उनको भ्रमण नेपालका प्रधानमन्त्रीले आगामी चैतमा गर्ने भनिएको चीन भ्रमणभन्दा पहिले हुनेछ या पछि त्यो प्रस्ट भनिएको छैन । तर, सामान्य कूटनीतिक परम्पराअनुसारचाहिँ यो भ्रमण नेपालका प्रधानमन्त्रीले बेइजिङ भ्रमण गरिसकेपछिको केही महिनामा हुनेछ । अर्थात्, यसवर्ष नेपाल र चीनबीच उच्चस्तरीय राजनीतिक भ्रमणको आदान–प्रदान हुनेछ । चिनियाँ राष्ट्रपतिको यो भ्रमण नेपालका लागि मात्र होइन, चीनका लागि पनि महत्त्वपूर्ण रहनेछ । र, यसले आगामी कैयौँ वर्षसम्म दक्षिण एसिया र मध्यएसियासम्म रणनीतिक महत्त्वको अर्थ बोक्ने निश्चित छ ।

मंगलबार मात्र न्युयोर्क टाइम्सले एउटा सानो तर महत्त्वपूर्ण समाचार छापेको छ । लस एन्जलसबाट ब्रुक्स बर्नेस र माइकल फोर्सिथको बाइलाइनमा छापिएको उक्त समाचारअनुसार चीनका धनपतिहरूको एउटा समूह वान्डा ग्रुपले लिजेन्डरी इन्टरटेनमेन्ट्स नाम गरेको हलिउडको सिनेमा निर्माता कम्पनीको बहुसंख्यक सेयर खरिद गर्दै छ । वान्डा समूह चीनको सरकारका नीतिसँग नजिक रहेको र चिनियाँ सेनाका एकजना पूर्वकमान्डरको नेतृत्वमा सञ्चालित समूह हो, जसले चीनका मल्टिप्लेक्स सिनेमाहरूको ठूलो संख्या नियन्त्रणमा राख्छ । अर्थात्, यो चीनको मनोरञ्जन उद्योगको एउटा ‘कंग्लोमर्‍याट्स’ हो । संवाददाताहरूले त यो सेयर खरिद प्रक्रियाले व्यावहारिकता पायो भने चिनियाँ कम्युनिस्ट पार्टीले अमेरिकी मनोरञ्जन उद्योगको केन्द्र मानिने हलिउडसम्म पहुँच बढाउने भयो भनी टिप्पणी गरेका छन् । धनकुवेर बन्दै गएको चिनियाँ बजार विस्तारले मात्र यसलाई समाचार बनाएको होइन, बरु आफ्नो बढ्दो आर्थिक हैसियतलाई कसरी चिनियाँहरू आफ्नो वर्चस्व विस्तारको अवसरका रूपमा प्रयोग गर्दै छन् र नरम शक्तिको विस्तारको ढोका कसरी खोल्दै छन् भन्ने कुरासँग गाँसिएकाले यसले महत्त्व पाएको हो ।

केही साताअघि मात्र चर्चित चिनियाँ अर्बपति ज्याक माको अलिबाबा समूहले हङकङको सबैभन्दा ठूलो र पुरानो अंग्रेजी दैनिक साउथ चाइना मर्निङ पोस्ट खरिद गरेको थियो । चीनको मुख्य भूमिको समाचारलाई बढी न्याय गर्दै विश्वभर पुर्‍याउने तर पत्रिकाको सम्पादकीय स्वतन्त्रतालाई कत्ति हस्तक्षेप नगर्ने अलिबाबा समूहले प्रतिबद्धता जनायो । यसले चिनियाँहरू अब विश्वमा आफ्ना सम्बन्धको व्यवस्थापन व्यापारिक मुनाफाबाट मात्र निर्देशित भएर गर्दैनन्, बरु बिस्तारै विश्वको सबैभन्दा ठूलो आर्थिक राजनीतिक शक्ति अर्थात् महाशक्ति बन्ने धुनमा आफ्ना प्रभाव विस्तारका प्रयासमा छन् भन्नेतर्फ संकेत गर्छ । उनीहरूको आत्मविश्वास बढ्दै गएको पनि देखिन्छ । चीनका पछिल्ला गतिविधि आफ्ना रणनीतिक महत्त्वाकांक्षालाई आर्थिक–व्यापारिक स्वार्थले छोपेर अगाडि बढिरहेका मात्र छैनन्, बरु विश्व महाशक्तिका रूपमा आइलाग्ने भूमिका सहज ढंगले निर्वाह गर्न तयारी गरिरहेका छन् भन्ने देखाउँछन् । एकजना चिनियाँ पूर्वजर्नेल तथा लेखकले चीनको विस्तारले अमेरिकासँग युद्ध ननिम्त्याउने बरु म्यारथन दौडझैँ प्रतिस्पर्धा गर्ने बाटो सुझाएका छन् । त्यसका लागि सबैलाई सँगै लिएर अघि बढ्ने बाटो नै उत्तम हो । नेपालसँगको सम्बन्धलाई पनि चिनियाँहरूले त्यही कोटीमा अर्थात् सहयात्रीको कोटीमा राखेको अनुमान गर्न सकिन्छ ।

दुई सातापहिले मात्र चिनियाँ विश्वविद्यालयमा पुगेर त्यहाँका बुद्धिजीवीसँग अन्तक्र्रिया गरेर फर्केका एकजना वामपन्थी पृष्ठभूमिका नेपाली बुद्धिजीवीको अनुभव भन्छ– चिनियाँहरू नेपालसँगको सम्बन्ध बलियो बनाउन उत्सुक छन् । तर, यस्तो सम्बन्ध स्थापित गर्न नेपालको राजनीतिक नेतृत्वले अझै धेरै गर्नुपर्ने र कम्तीमा चीनसँगको सम्बन्ध दिल्लीलाई देखाउन या दिल्लीसँग बार्गेनिङ चिप्सको रूपमा मात्र बुझ्ने परम्पराको अन्त होस् भन्ने पनि चाहन्छन् । अझै पनि नेपाली नेताले चीनसँगको सम्बन्धलाई चीनसँगकै मामिलामा केन्द्रित गर्न र त्यसबाट फाइदा उठाउन स्वतन्त्र पहल गर्न नसकेकोमा चिनियाँहरू हैरान छन् । उनको विचारमा सी जिनपिङको नेतृत्वमा चीन आफ्ना सबै छिमेकी धनी बनून् अनि मात्र आफ्नो समृद्धिको दिगोपनाको निश्चितता हुन्छ भन्ने रणनीतिअन्तर्गत चलेका छन् । नेपालसँगको सम्बन्धमा पनि उनीहरू यो नयाँ पहलकदमी जोड्न चाहन्छन् ।

शक्तिका दृष्टिले राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमण गर्ने चाउ एनलाई र देङ सियाओ पिङपछिकै शक्तिशाली नेता हुन् । चाउ एनलाई नवजनवादी चीनको विदेश नीति निर्माणका एकजना आर्किटेक्ट मात्र थिएनन्, माओकालीन चीनका दोस्रो नम्बरका शक्तिशाली व्यक्ति पनि थिए । साथै उनको व्यक्तित्व र छवि विश्वमा स्थापित थियो । चीनका प्रधानमन्त्रीका रूपमा घरेलु तथा विदेश मामिलासम्बन्धी निर्णयमा उनको महत्त्वपूर्ण हात रहन्थ्यो । उनीपछि नेपाल भ्रमण गर्नेमा शक्तिका दृष्टिले देङ त्यस्ता नेता हुन्, जसले माओपछिको चीनको भविष्य कोरेका थिए । उनी नेपाल आउँदा उपप्रधानमन्त्रीको हैसियतमा थिए तर चीनको सम्पूर्ण राज्यशक्तिका उनी एक्ला पालनकर्ता थिए । अर्थात् पार्टी, सरकार र सेनामा उनको एकछत्र नियन्त्रण थियो । अहिलेको चीनको आर्थिक सम्पन्नता र शक्ति देङको बाटो हिँडेर प्राप्त भएको हो र चीनको विदेश नीतिलाई राजनीतिक आदर्श र वाद या विचारधाराबाट मुक्त गरेर आर्थिक स्वार्थमा केन्द्रित गर्नमा उनको निर्णायक भूमिका थियो । त्यसपछि पनि चिनियाँ नेताहरूले नेपाल भ्रमण त गरे तर त्यसले बोक्ने अर्थ अलि सीमित थियो अर्थात् त्यो नियमितस्तरको मात्र थियो ।

सी जिनपिङ चीनलाई विश्वको मध्यमस्तरको शक्तिबाट महाशक्ति बन्ने क्रममा नेतृत्व गर्ने नेता मात्र होइनन्, अहिलेको विश्वका शक्तिशाली शासकमध्येका एक हुन् । उनी अन्य चिनियाँ नेताहरूभन्दा भिन्न, बोल्ड, प्रभावशाली र कामकाजी खालका छन् । देङपछि चीनको नेतृत्व गरेका जियान जेमिङ र हु जिन्ताओहरू धेरै अर्थमा नेतृत्वको निरन्तरता जस्ता थिए । तिनले आर्थिक समृद्धितर्फ ध्यान त दिए तर चीनको शक्तिलाई भरसक कम देखाएर शान्त कूटनीतिमा अडिरहे । तर, सीको व्यक्तित्व र विश्वमा उनको समयको चीनको हैसियत धेरै मिल्दाजुल्दा छन् । सीले पनि पार्टी, सरकार र सेनामा एकछत्र नियन्त्रण राखेका छन् । उनका हरेक निर्णय र बाह्य भ्रमण कामकाजी र रणनीतिक महत्त्वका रहने गरेका छन् । यसर्थ पनि उनको नेपाल आगमन नेपालका लागि अवसर र चुनौती दुवै हो । अवसर यस अर्थमा कि उनको भ्रमणले नेपाललाई एउटा शक्तिशाली धाप प्राप्त हुनेछ र आफ्ना राजनीतिक तथा आर्थिक निर्णय स्वतन्त्र रूपमा गर्न प्रेरणा मिल्नेछ । चुनौती यस मानेमा कि यो भ्रमणको चर्चासँगै भारतीय पक्षले देखाउने चासो र उसका चलखेलको कुशल व्यवस्थापन गर्नु पर्नेछ ।

उनको भ्रमणको नेपाल सन्दर्भ अवश्य पनि गतवर्ष नेपलमा भएको नरेन्द्र मोदीको भ्रमण, नेपालमा नयाँ संविधानको घोषणा, भारतीय नाकाबन्दी तथा त्यसका बृहत्तर आयामको सन्दर्भबाट प्रभावित हुनेछ । महाभूकम्पले थला परेका, नाकाबन्दी र भारतीय हस्तक्षेपसहितको मधेस आन्दोलनको छायामा परेर लड्खडाएको नेपाललाई सी जिनपिङको भ्रमण एउटा महत्त्वपूर्ण भरोसाको विषय बन्नेछ । चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण किन गर्दै छन् ? यसका अल्पकालीन र दीर्घकालीन अर्थ के–के हुनेछन् ? यी अहिले नै अनुमानका विषय मात्र हुनेछन् । तर, हालै नेपालका परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमण र नेपालका प्रधानमन्त्रीको सम्भावित भ्रमणको कार्यसूची हेर्दा सीको भ्रमणका क्रममा त्यसभन्दा उच्चस्तरका केही सम्झौता हुनसक्ने देखिन्छ । यस्तो सम्झौतामा दुइटा दूरगामी महत्त्वका परियोजना पर्न सक्छन् । पहिलो हो– सिगात्से–केरुङ रेललाइन सम्पन्न भएलगत्तै केरुङ–काठमाडौं या केरुङ–काठमाडांै–लुम्बिनी रेलवे निर्माणका लागि सम्झौता । यसो भयो भने चीनको अहिलेको आर्थिक रणनीतिअन्तर्गत पाकिस्तानको पश्चिम बलुचिस्तान प्रान्तबाट अरब सागरलाई चीनसँग जोडिने हाइवेसँग नेपालको मात्र होइन, भारतको समेत सम्पर्क नजिकै आउनेछ । यस्तो मार्गले नेपाललाई स्थलमार्गबाट पूर्वी र मध्य एसियासँग जोड्न सहज हुनेछ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङ

चिनियाँ राष्ट्रपति सि जिनपिङ

सी जिनपिङ राष्ट्रपति बनेको केही समयपछि नै उनले चीनको आर्थिक विकासलाई यस क्षेत्रका अरू देशसँग जोड्ने एउटा महत्त्वाकांक्षी योजनाको घोषणा गरेका थिए– ‘एक क्षेत्र एक सडक’ भनिने एसिया र युरोप जोड्ने सिल्क रोड परियोजना र मेरिटाइम सिल्क रोडका नाममा समुद्री मार्गबाट एसिया, अफ्रिका र युरोप जोड्ने योजना । यो पूर्वाधार विकास परियोजना सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले उनले एसियाली पूर्वाधार विकास बैंकको अवधारणा अघि सारे, जसले एक साताअघिबाट काम गर्न थालेको छ । यसमा चीनको मुख्य लगानी छ भने विश्वका झन्डै ६० देश यसको संस्थापक बनेका छन् । यो सिल्करोड अर्थात् वान वेल्ट वान रोड परियोजनाले दक्षिण एसिया र चीनबीच सडक सञ्जाल बनाउन बंगालादेश, म्यान्मार, भारत र चीनबीच सडक बनाउने परिकल्पना गरेको छ । पाकिस्तानलाई सीधै चीनसँग जोड्ने विशाल राजमार्गको निर्माणका लागि गतवर्ष इस्लामावाद गएका सीले सम्झौता गरिसकेका छन् । नेपालसँग जोडिने यो सडकले भारत र चीनबीच नेपाल भएर व्यापारिक कारोबारलगायतको आवतजावतलाई निकै नजिक ल्याउनेछ । अर्थात् दुई विशाल मुलुकबीच नेपालले पुलको काम गर्ने सम्भावनालाई कार्यरुप दिनेछ ।

अर्को सम्भावित विषय भने तिब्बतबाट नेपालसम्म ग्यास तथा तेल ल्याउने पाइपलाइन ओछ्याउने परियोजनामा सम्झौता हुनसक्छ, जसले नेपालमा आइओसीको एकलौटी बजार तोड्नेछ । यसले भारतसँगको निर्भरता न्यूनीकरण गर्ने र नेपालको व्यापार विविधीकरण मात्र गर्ने होइन, बरु भारतको नेपालमाथि रहेको रणनीतिक प्रभावलाई कम गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ । यसको अर्थ हो सी जिनपिङको भ्रमणले नेपाललाई अहिलेको चेपुवाबाट मुक्त गर्ने, दक्षिण एसियाली बजारमा चीनको पहुँच विस्तार गर्ने, भारतलाई चीनसम्म पुग्न सहज बनाउने दीर्घकालीन महत्त्वका काम गर्नेछ । यसबाट भारतले अवश्य पनि असहज महसुस गर्नेछ । यसको अर्थ हो, नेपाल भारतको एकलौटी प्रभावबाट बाहिरिनु । यति हँुदैमा नेपाल र भारतबीच आर्थिक सामाजिक सम्बन्ध घटेर जानेछन् भन्ने होइन तर यसले नेपाललाई घाँटी समातेर जे पनि गर्न लगाउन भने भारतलाई असम्भव बनाइदिनेछ । नेपाललाई समुद्रसम्म पुग्न घुमाउरै सही वैकल्पिक मार्ग उपलब्ध हुनेछ । नेपालका नेताको दूरदृष्टि र कुशल कूटनीतिक व्यवहारले मात्र उनको भ्रमणलाई फलदायी बनाउन सक्नेछ ।


(नयाँ पत्रिका दैनिकबाट)

(Visited 333 times, 1 visits today)

टिप्पणी

comments