Main Menu

मार्क्सको प्रेम जीवन

bonn university

बोन विश्वविद्यालय

  • राहुल साँकृत्यायन

मार्क्सका पिता वकिल थिए र सायद छोरालाई पनि एक सफल वकिल बनाउन चाहन्थे । यसैकारण ट्रीनको पढाइ सकिएपछि पिताको सल्लाहअनुसार मार्क्स सन् १८३५ को शरदमा बोन विश्वविद्यालयमा भर्ना भए । त्यहाँ उनले एक वर्षसम्म कानूनको अध्ययन गरे । मार्क्सको बोनको विद्यार्थी जीवनका बारेमा धेरै कुराहरु थाहा छैन । पिताका चिठीमा मार्क्सले त्यसबेला पैसाको दुरुपयोग गर्ने गरेको गुनासो पाइन्छ ।

मार्क्स अब १८ वर्ष भइसकेका थिए । उनीजस्ता प्रतिभाशाली पुरुषको विचार यस उमेरमा पनि परिपक्व हुनु स्वाभाविक थियो । मार्क्स अगाडि गएर कहिल्यै परम्परावादी रहेनन् । यसको परिचय उनको यस उमेरमा पनि पाइन्थ्यो ।

वकिल हाइनरिक मार्क्स र ट्रीनका सामन्त तथा प्री.भी. काउन्सिलर लुडविग फान वेस्फालेनका बीच गहिरो चिनजान थियो । यस परिवारको सम्बन्ध कुलीन सामन्त या प्रशियाका प्रतापी नोकरशाहहरुसँग नभए पनि यो असैनिक सेवाबाट अगाडि बढेको परिवार थियो । लुडविग पहिल्यै नै बुन्सविकका ड्यूक फर्डिनान्डका असैनिक सचिव रहिसकेका थिए । ड्यूक पश्चिम जर्मनीका तर्फबाट पन्ध्रौँ लुईको सात साल लामो युद्धमा लडेका थिए, जसमा फिलिप वेस्टफालेन ड्यूक चिफ अफ स्टाफ थिए । उनको सेवाबाट प्रसन्न भएर इङ्गल्याण्डका राजाले फिलिपलाई सम्मानित गर्दै सेनाको अड्जुटेट जनरल बनाउन चाहे, तर उनले यसलाई स्वीकार गरेनन् ।

फ्रान्सद्वारा छेडिएको लडाइँमा इंग्ल्याण्ड र जर्मनी एक अर्काका मित्र थिए । इंग्ल्याण्डसँगको यही सम्बन्धका कारण फिलिपले स्कट ब्यारनकी छोरीसँग विवाह गरेका थिए । उनले पुर्याएको सेवाका कारण उनले सामन्ती उपाधि फानवेस्टफालेन पाएका थिए ।

सन् १८५० मा ३६ वर्षको उमेरमा जेनी फान वेस्टफालेन

फिलिपको एउटा छोराको नाम लुडविग फानवेस्टफालेन थियो, जसलाई आफ्नो पिताको सफलताका कारण साधारण परिवारको नसम्झिएर सानोतिनो सामन्त सम्झन थालिएको थियो । यद्यपि लुडविग पद, शक्ति, सम्पत्ति र सम्मानका दृष्टिले अरु जर्मन सामन्तसमान थिए । तर मगन्ते सामन्तहरुको मस्तिष्क पनि जसरी आकाशमा उड्छ, त्यस्तो रोग उनलाई थिएन । यिनै लुडविगकी छोरी थिइन्, जेनी, जो मार्क्सभन्दा चार वर्ष पहिले १२ फरवरी १८१४ मा साल्जवेडेलमा जन्मिएकी थिइन् । त्यसबेला जेनीका पिता साल्जवेडेलमा लाडराइट (जिल्ला प्रशासक) थिए । दुई वर्षपछि उनको सरुवा ट्रीरमा भयो र उनलाई सरकारको परामर्शदाता बनाइयो ।

राइनल्याण्ड जर्मनीका अन्य भागहरुभन्दा भिन्न थियो । त्यो सामन्तहरुको होइन, उद्योगपतिहरुको प्रदेश बन्दै थियो । त्यो जर्मनीको पुरानो प्रतिद्वन्दी फ्रान्सको सीमामा पर्दथ्यो र त्यसैले त्यहाँ असाधारण योग्यता भएको व्यक्तिलाई शासक बनाएर पठाइन्थ्यो । यसै कारणले प्रशियाका महामन्त्री हार्डेनवर्गको लुडविग फानवेस्टफालेनमाथि विशेष आँखा पर्यो ।

मार्क्सले आफ्नो जीवनको अन्त्यसम्म आफ्ना ससुराको नाम सम्मान र कृतज्ञतापूर्वक लिएबाट र लेख्दा ‘प्रिय पितृतुल्य मित्र’को रुपमा सम्बोधन गरेबाट लुडविग अन्य सामन्तहरुको तुलनामा कति विलक्षण थिए भन्ने थाहा हुन्छ । लुडविग सुशिक्षित थिए । उनलाई होमरका कविताका पृष्ठका पृष्ठ तथा शेक्सपियरका धेरै नाटकहरु अंग्रेजी र जर्मन दुबै भाषाहरुमा कण्ठस्थ थियो । उनको घरमा विद्या र साहित्यको निक्कै सुन्दर वातावरण थियो । उनीसँग पुस्तकहरुको गतिलो संग्रह थियो । मार्क्सजस्ता प्रतिभाशाली युवाको जिज्ञासा पूर्ति गर्नका निम्ति उनी साधनसम्पन्न थिए । यस्तो अवस्थामा बाल्यकालदेखि नै मार्क्सको वेस्टफालेनको परिवारप्रति लगाव हुनु आश्चर्यको विषय होइन ।

लुडविग प्रतिभाशाली मार्क्सलाई असाध्यै प्रेम गर्थे । उनकी पुत्री जेनी र मार्क्स बाल्यकालदेखि नै सँगसँगै खेल्दथे । बाल्यकालको यो स्नेह दुई युवा हृदयको प्रेममा कहिले बद्लियो भन्ने उनीहरुलाई थाहा नै भएन ।

जेनी असाध्यै सुन्दर थिइन्, तर उनको स्वभाव अरु सामन्त युवतीहरुको भन्दा भिन्न थियो । उनलाई चाहनेहरु धेरै थिए । उनी आफ्ना पिताको कुल र पदका आधारमा कुनै धनी र प्रभावशाली सामन्त युवकहरुसँग विवाह गरेर सुख र विलासको जीवन बिताउन सक्थिन् । मार्क्सका पिताका शब्दमा ‘खतरा र अनिश्चयले भरिएको’ भविष्य भएका बालमित्र मार्क्ससँग जेनीले बिहे गर्ने जुन निश्चय गरिन्, त्यसबाट उनी अरुभन्दा भिन्न स्वभावकी युवती थिइन् भन्ने बुझिन्छ ।

मार्क्सका पिता जेनीका निम्ति ‘देव कन्या जादूगर्नी’ जस्ता शब्दहरुको प्रयोग गर्थे र कुनै पनि राजकुमारले उनलाई मार्क्सदेखि खोस्न सक्दैन भन्ने सम्झन्थे । पिताले मार्क्सको जीवनलाई जुन रुपमा ‘अप्ठ्यारो र अनिश्चयले भरिएको’ सम्झिएका थिए, जेनीले भोग्नुपरेका समस्याका अगाडि ती केही पनि थिएनन् । तर जेनीलाई मार्क्सजस्ता अद्भूत व्यक्तिको अखण्ड प्रेम मिलेको थियो, जसलाई उनी बहुमूल्य सम्झन्थिन् ।

कार्ल मार्क्स र जेनी फान वेस्टफालेन

मार्क्सले जेनीसँगको बाल्यप्रेम र उनको परिवारलाई ४५ वर्ष (सन् १८६३) को उमेरमा अत्यन्त मधुर शब्दमा सम्झना गरेका थिए । त्यसवर्ष उनी आफ्नी आमाको अन्त्येष्टिका निम्ति ट्रीन गएका थिए । त्यसबेला उनले लेखेका थिए – ‘प्रतिदिन म पुरानो बेस्टफालेन भवन (रोमन स्ट्रार्स) को तीर्थयात्रा जान्थेँ । सारा रोमन ध्वंसावशेषभन्दा मलाई त्यो धेरै सुन्दर अनुभव हुन्थ्यो, किनकि त्यसले मलाई मेरा युवाकालका सुखमय दिनहरुको सम्झना गराउँथ्यो र त्यसले नै एक समय मेरी जेनीलाई आफूभित्र सुरक्षित राखेको थियो । प्रत्येक दिन मलाई यताउताबाट मानिसहरुले ट्रीनकी अत्यन्त सुन्दर युवती ‘नृत्यकी रानी’का बारेमा सोध्दथे ।’

एउटा मान्छेका निम्ति उसकी पत्नी सारा नगरको स्मृतिमा ‘जादूगर राजकुमारी’ समान रहनुजस्तो प्रशन्नताको कुरा अरु केही हुन सक्दैन । मर्ने बेलासम्म मार्क्स आफूभन्दा पहिले नै यस संसारबाट विदा भएकी जेनीलाई अपार स्नेहका साथ सम्झन्थे ।

बाल्यकालदेखि बढ्दै गएको दुबैको प्रेम युवा प्रेममा बद्लिएको थियो । यस्तो अवस्थामा दुई युवा हृदयको विछोड असह्य कुरा थियो, तर पढाइ त पूरा गर्नैपर्थ्यो ।

जब मार्क्स पढ्नका निम्ति बोन गए, त्यस समयमै मातापिताको अनुमतिबिना नै दुबैले विवाह बन्धनमा बाँधिने संकल्प गरे । वकिल हानरिक मार्क्सभन्दा लुडविग फानवेब्टाफालेन पद, प्रतिष्ठा र कुलका दृष्टिले धेरै उच्च थिए, तर दुबैको प्रेमविवाह गर्ने कुरा थाहा पाएपछि उनले खुसीका साथ स्वीकृति दिए । तर यसको अर्थ दुबैको विवाह तुरुन्तै भयो भन्ने होइन ।

जेनीको माइती पछिसम्म पनि जर्मनीमा निक्कै प्रभावशाली थियो । उनको सौतेलो दाइ फर्डिनाण्ड फानवेस्टाफालेन प्रशियाको गृहमन्त्री र सामन्तका कट्टर पक्षपाती थिए । उनी जेनीभन्दा १५ वर्ष जेठा थिए । जेनीका साख्खै दाइ एडगर फानवेस्टफालेन थिए । उनी आफ्नी यशस्वी बहिनी–ज्वाइँसँग वैयक्तिक रुपमा मात्र नभएर राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध राख्दथे । यद्यपि उनी पक्का मार्क्सवादी बन्न सकेनन् । तर पनि उनले कम्युष्टि घोषणापत्रमा हस्ताक्षर गरेका थिए । उनको हृदयमा बहिनी र बहिनी–ज्वाइँप्रति सधैं स्नेह रह्यो र यही कारण मार्क्स र जेनीले पनि आफ्नो छोराको नाम एडगर राखेका थिए ।

क्रमशः

(अनुवाद : मूल्याङ्कन डेस्क)

(Visited 1,393 times, 1 visits today)

टिप्पणी

comments