Main Menu

सन्दर्भ : एमाले-माओवादीको संयुक्त लेनिन र पार्टी स्थापना दिवस

नयाँ पुस्ताले झगडा हैन नयाँ बाटो तय गर्ने हिम्मत गर्नुपर्छ

ब्यानर बिबाद बढेपछि समाधानको रुपमा दुईवटा नै राखी संयुक्त रुपमा लेनिन र नेकपाको स्थापना दिवस मनाए एमाले र माओवादि केन्द्रले ।

माओवादी केन्द्र र एमालेबिच एकता प्रक्रिया सुरु भयो भन्ने सवालमा एमालेभित्र त खासै समस्या देखिएन, तर माओवादी केन्द्रभित्र कार्यकर्ताहरु अर्थात् त्यसमा पनि भनौं नयाँ पुस्ताका क्रान्ति अभियन्ताहरु सन्तुष्ट देखिँदैनन् । त्यसको प्रत्यक्ष अभिव्यक्ति पार्टी एकताकै मिति भनेर हल्ला गराइएको वैशाख ९ गतेको राष्ट्रिय सभाको हलमा सम्पन्न लेनिन जन्म दिवस एवं नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउन उपस्थित माओवादी कार्यकताहरुले व्यानर काण्डमा दिए ।

उक्त दिन पहिले हल्ला चलाइएजस्तो पार्टी एकताकै घोषणा त हुँदै थिएन, तर लेनिन दिवस र नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउनका लागि तयार गरी ल्याइएको व्यानरले पूरै एमालेको विरासत अभिव्यक्त गर्ने रुप देखाउँदा माओवादी केन्द्रका कार्यकर्ताहरुलाई खपिसक्नु भएन र उनीहरुले होहल्ला गरी त्यो व्यानर हटाउन आयोजक समितिलाई माग गरे । व्यानरमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीका तस्वीरहरु सानो अकारमा शिरमा र तल दायाँबाँया एमाले अध्यक्ष केपि ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तस्विर ठूलो आकारमा राखिएको थियो । बिचमा कम्युनिस्ट पार्टीको झण्डा थियो ।

पुष्पलाल श्रेष्ठको तस्विर हुनुमा त सायद कसैको आपत्ति रहेन होला, तर मदन भण्डारी र मनमोहन अधिकारीको तस्विर हुनुले त्यो पूरै एमालेको विरासत अभिव्यक्त भएको माओवादी केन्द्रका कार्यकर्ताहरुलाई लाग्नु स्वभाविक थियो । अर्को, लेनिन दिवस मनाउन प्रयोग गरिएको त्यो व्यानरमा लेनिनको नै फोटो रहेन । सधैँ मार्क्स, एंगेल्स, लेनिन, स्तालिन र माओको फोटो शिरमा अनि आफ्नो ज्यान हत्केलामा राखी जनयुद्ध गरेर आएका माओवादी कार्यकर्ताहरुलाई त्यो खपिनसक्नु हुनु अनौठो होइन । हलमा उपस्थित माओवादी कार्यकर्ताहरुमध्ये कैयौंले जनयुद्धको समयमा आफ्ना परिवार, नातागोता वा आफन्त गुमाएका छन्, कैयौंले प्रिय परिवारजनहरुको अपाङ्गको अवस्था व्यहोर्नु परिरहेको छ । उनीहरुको रगत पसिनाले आज मुलुकमा गणतन्त्र आएको छ । तर, कार्यक्रममा उनीहरुको योगदानलाई कदर हुने रुपको व्यानर नहुँदा उनीहरु उत्तेजित हुनु अस्वभाविक थिएन ।
निर्वाचनले माओवादीको आकारलाई केही सानो बनाइदिएको साँचो हो, तर अहिलेको राजनीतिक परिवर्तनको मूल चालक शक्ति त माओवादी नै भएको छर्लङ्गै छ । एमाले यो यथार्थलाई मान्न सुरुदेखि नै तयार थिएन, छैन, त्यसैको अभिव्यक्ति मञ्च तयार गर्न जिम्मेवारी पाएको एमाले पंक्तिले व्यानरमा देखाएको हो । व्यानरको नमूना अघिल्लो दिन फेसबुक, ट्विटरहरुमा प्रचारित गरिसकिएको थियो । त्यसैलाई दिई वाइसिएल अध्यक्ष दिप शिखाले एमाले नेता कृष्णगोपाल श्रेष्ठलाई प्रचारित व्यानर नल्याउन चेतावनी दिएको कुरा मिडियामा आएको थियो । तर, त्यो कुरालाई एमाले पंक्तिले बेवास्ता नै गरेको देखियो । व्यानर लफडाकै कारणले चार घण्टा ढिलो गरी सुरु भएको लेनिन जन्म दिवस र नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस आखिरमा दुई वटा व्यानर राखेर अबेर सञ्चालन गरियो । रमाइलो कुरो त के भयो भने लेनिनको फोटो भएन भनेर लफडापछि माओवादी पंक्तिबाट ताङ्न ल्याइएको व्यानरमा पनि शिरमा मार्क्सदेखि माओसम्मका साना चित्रहरु भएपनि लेनिनको फोटोलाई विशेष स्थान दिइएन । सामान्य आँखाबाट हेर्दा लेनिनकै जन्मदिवस मनाउँदा उनको फोटोलाई विशेष स्थान दिइनुपर्थ्यो । माओवादीले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसलाई फोकस गरेको देखियो, लेनिन दिवसलाई होइन, जबकि दुईटै दिवस उत्तिकै महत्वका थिए ।

एमालेले व्यानरदेखि कार्यक्रममा त्यसका अध्यक्षले बोलेका हरेक शब्दहरुसम्म आफ्नो विरासतलाई छोडेन । उसले परिवर्तनको मुख्य चालक शक्ति आफ्नै विरासत भएको पुष्टि गर्ने तर्कहरु नै गर्यो । उसले जनयुद्धमा शहीद बनेका, घाइते बनेका र अपाङ्ग बनेका व्यक्ति तथा परिवारहरुमा केही मलमपत्ति राखी उनीहरुप्रति दयाको भाव देखायो । उसले जनयुद्धलाई भने कुनै महत्व दिएन । जनयुद्ध गर्नेहरुलाई उसले बिचराको संज्ञा दियो । तै पनि एमाले अध्यक्षले जनयुद्धका शहीद, घाइते र अपाङ्गहरुप्रति सहानुभूति देखाउँदा माओवादी कार्यकर्ताहरुले पररर ताली पिटे ।

एमालेले आफ्नो विरासतलाई छोडून् पनि कसरी ? जबकि, अहिले एमाले—माओवादीको एकता जुन हुन गइरहेको छ, त्यो यथार्थमा एमालेभित्र माओवादी विलीन हुने हो । किनकि, अहिलेको राजनीतिक परिवर्तनमा माओवादीका एजेण्डाहरु गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्र र धर्म निरपेक्षता जस्ता आधारभूत कुराहरु स्थापित भए पनि त्यसको स्वामित्व माओवादीले लिन सकेन । मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’मा संघीयतालाई छाडेर बाँकी अन्य कुराहरु थिए । तर, मदनभण्डारीको अवसानपछि विकसित एमाले पार्टी त राजा सहितको संसदीय व्यवस्थामै अडिसकेको र अभ्यस्त भइसकेको थियो नि ! ‘जबज’ त उसको जप्ने मन्त्र मात्र थियो । अहिले स्थापित एजेण्डाहरु कुनै पनि उसका थिएनन्, भलै त्यो धेरै हदसम्म ‘जबज’ ले उठाएका कुराहरुसँग मेल खान्छ । माओवादीको जनयुद्ध नहुँदो हो त ‘जबज’ कै भएपनि ती एजेण्डाहरु पूरा गर्न एमाले लाग्नेवाला थिएन । वास्तवमा उसले मुखले ‘जबज’ भने पनि व्यवहारमा ऊ त्यसबाट पर भाग्दै थियो । रमाइलो त के भयो भने नौलो जनवाद स्थापना गरी समाजवाद ल्याउने र साम्यवादसम्म पुग्ने भनी जनयुद्ध सञ्चालन गरेको माओवादी पार्टी ‘जबज’ को कार्यक्रम लागु गर्दै त्यहीँ अड्ने हुने भयो । त्यसो हुँदा नतिजामा के भयो भने माओवादीले आफ्नो बलमा एमालेले ओठे रुपमा मात्र उच्चारण गर्दै आएको ‘जबज’ लाई व्यवहारमा लागु गर्दै त्यसपछाडिको गन्तव्यलाई छाडिदियो । माओवादीको नेतृत्वमा आएको दिशाहिनता यही नै हो ।

संविधानमा समाजवादको कुरा उल्लेख गरे पनि त्यो साम्यवादमा पुग्ने दिशाको होइन । साम्यवादमा पुग्ने समाजवाद पुँजीजिवी वर्गको नेतृत्वमा स्थापना हुन सक्दैन । अहिलेको संविधान र राज्य संरचनाले पुँजीजिवी वर्गसँग संघर्ष होइन ऊसँग मिलेर मात्र समाजवादको कुरा गर्न छुट दिन्छ । त्यसैले यही किसिमले समाजवादको कुरा गर्नु भनेको वर्ग सङ्घर्षको सिद्धान्तलाई नकार्नु हो, जुन मार्क्सवाद र विज्ञानविरोधी हुन्छ ।

एमालेले गणतन्त्र आउनुभन्दा अगाडि २०४७ को संविधान लागु भइरहँदा पनि ‘अब नेपालमा राजनीतिक क्रान्ति’को युग सकियो भनेको थियो । अहिले पनि ऊ त्यही भन्दैछ । उसले अब पूर्ण रुपमा विकास र समृद्धिको नारा दिइरहेछ । राजनीतिक क्रान्ति सकियो भन्नुको अर्थ अब राजनीतिक रुपमा यथास्थितिमा रहने भनेको हो । वर्ग सङ्घर्ष होइन वर्ग समन्वयको बाटो पक्रने भनेको हो । किनकि, नेपाली समाजमा वर्गहरुको अन्त्य त भएको छैन । वर्गहरु विद्यमान छन् भने वर्ग सङ्घर्ष जारी रहने कुरा सास्वत कुरा हो । वर्ग सङ्घर्ष जारी रहन्छ भने बर्चश्वशाली वर्गले कमजोर वर्गलाई थिचोमिचो गर्ने पनि साँचो नै हो । समाजमा वर्गहरु भनेको आधारभूत रुपमा नहुने र हुनेखाने अर्थात् गरीखाने र बसीखाने वर्गहरु हुन् । यी विपरित वर्गहरुबिच त द्वन्द्व चलिरहन्छ । त्यसमा राज्य कसको पक्षमा उभिने भन्ने कुरो प्रमुख हो । जब राजनीतिक क्रान्तिको युग समाप्त भयो भन्ने निष्कर्ष निकालिन्छ, तब अहिलेकै राज्य संरचनालाई ज्युँकात्युँ राख्ने भनेको प्रष्ट हुन्छ । यसो भन्नुको अर्थ अब अगाडि जाने गन्तव्य समाप्त भयो भनिएको हो । यो कुरो माओवादी नेतृत्वको पनि निष्कर्ष बन्दा नै एमाले र माओवादी केन्द्रको एकताको कुरो आएको हो । हिन्दु परम्परामा छोरी चेली बुहारी बनी अर्काको घरमा अर्थात् लोग्नेको घरमा जीवन बिताउन जान्छिन् । अहिले माओवादी नेतृत्वले पनि पार्टीलाई अर्काको घर अर्थात् एमालेको घरमा बुहारी बनाउँन लाँदैछन्, पार्टी एकताको नाममा । हिन्दू समाजमा बुहारीलाई हेप्ने चलन छ । माओवादी नेतृत्व के चाहन्छ भने आफू बुहारीकै रुपमा भए पनि नयाँ घरमा हेप्नेसेप्ने चाहिँ हुनु भएन । तर, एमालेले भने ‘मेरो घरमा बुहारी बनी आएपछि त मेरै नियम कानुनमा बस्नु पर्यो नि ! मैले दिएकै स्थानमा बसी चित्त बुझाउनु पर्यो नि !’ भन्ने बाहुनवादी हुँकार देखाइरहेको छ । अहिलेको एमाले–माओवादीको एकताको अन्तर्य यही नै रहेको छ ।

तसर्थ, माओवादी केन्द्रका सचेत युवा (यहाँ युवाको अर्थ उमेरको कुरा भन्दा पनि नयाँ बाटो खन्न ऊर्जाशील व्यक्ति हो) कार्यकर्ताहरुले नेतृत्वलाई गाली गर्ने र कार्यक्रमहरुमा व्यानर तान्ने वा नेतृत्वले यो गरेन त्यो गरेन भन्नुको कुनै तुक छैन । किनकि, उनीहरु त हिन्दू बुहारी बन्न तम्तयार अवस्थामा छन् । बरु, अहिलेसम्म उनीहरुले गरेका कामहरुलाई उचित सम्मान गर्दै नयाँ बाटो खन्नतर्फ लाग्नु नै आफूमा भएको ऊर्जालाई ठीक ठाउँमा लगाउनु हुनेछ । आमा सति गयो भन्दैमा छोराछोरीहरु पनि सति जानुपर्दैन । ठीक छ, आमालाई सति जानबाट रोक्न कोशिश त गर्ने हो, तर कुनै हालतमा पनि नमानेपछि के गर्ने ? आमासँगै सति जानु बुद्धिमानी हुन्छ त ? हुन्न । किनकि, नयाँ पुस्ताको जीवन त अझै बाँकी छ नि नयाँ निर्माण गर्नका लागि । त्यसका लागि हिम्मत गर्नु नै सच्चा मार्क्सवादी हुनु हो । सच्चा मानवतावादी हुनु हो । सच्चा क्रान्तिकारी हुनु हो । सही ढङ्गले युगलाई वोध गर्नु हो ।

(Visited 1,634 times, 1 visits today)

टिप्पणी

comments