Main Menu

पत्रपत्रिका

धनुषामा मधेश आन्दोलनले उग्र रूप लिँदै

आन्दोलनकारीले आगो झोस्दा जल्दै गरेको काँग्रेसको कार्यालय

आन्दोलनकारीले आगो झोस्दा जल्दै गरेको काँग्रेसको कार्यालय

भदौ २२, जनकपुर ।  तराई–मधेसमा अनिश्चितकालीन आमहडताल २४औँ दिनमा पुग्दा धनुषामा आन्दोलनले उग्र रूप लिएको समाचार आजको नयाँपत्रिकामा छापेको छ । सोमबार दिउँसो लाठी जुलुस निकालेका प्रदर्शनकारीले मेघाउलमा रहेको कांग्रेस जिल्ला कार्यालयमा आगजनी गरेका छन् ।

कांग्रेस कार्यालयमा आगजनी गरेर आन्दोलनकारी एमालेको जिल्ला कार्यालयमा आगजनी गर्न अघि बढेका थिए । एमाले कार्यालय भएको बाटोमा प्रहरीले लाठी बोकेका आन्दोलनकारीलाई रोकेपछि सुरु भएको झडप झन्डै चार घन्टासम्म जारी रह्यो ।

झडपमा प्रहरीले दर्जनौँ अश्रुग्यास, रबरको गोली र छर्रा प्रहार गरेको छ । रबरको गोली लागेर तीन आन्दोलनकारी घाइते भएका छन् । सुनील राउत, रूपेश चौधरी र रञ्जित साह घाइते भएका छन् । राउत र चौधरीलाई छर्रा र साहलाई रबरको गोली लागेको छ । आन्दोलनकारीले १५ जना घाइते भएको बताएका छन् ।

एमाले पार्टी कार्यालयअगाडि प्रहरीले छर्रा, रबरको गोली र अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी केही तितरबितर भएका थिए । तर, पछि चोक–चोकमा झडप भएको छ । प्रहरीले प्रत्येक चोकमा अश्रुग्यास प्रहार गरेको छ । मधेस बन्दपछि जनकपुरमा भएको यो चौथो झडप हो । यसअघि १५, १६ र १७ भदौमा भानुचोक र मुरलीचोकमा भएको झडपमा ४८ जना आन्दोलनकारी घाइते भएका थिए । अघिल्ला झडपका घाइतेमध्ये एकजनाको अहिले विराटनगरमा उपचार भइरहेको छ ।

कृष्ण जन्माष्टमीका लागि आन्दोलनकारी केही शान्त देखिएका थिए । १८, १९ र २० भदौमा आन्दोलनकारीले शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए । सोमबार कांग्रेस पार्टी कार्यालय जलाएर फेरि उग्र बनाएका छन् ।

प्रदर्शनकारीले कांग्रेस पार्टी कार्यालयमा आगजनी गर्नुअघि जिल्ला प्रशासन कार्यालयमा समेत ढुंगा हानेका थिए । ‘आन्दोलनकारीले यसअघि पनि पेट्रोल बम हानेका थिए,’ प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘कृष्ण जन्माष्टमीका लागि केही शान्त भएपछि हामीले निषेधित क्षेत्र हटायौँ । तर, आज फेरि कांग्रेस कार्यालय जलाएर उग्र भएका छन् ।’

आन्दोलनको नेतृत्व गरिरहेका सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहले भने शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको बताए । ‘२३औँ दिनसम्म बन्द गर्दा पनि हाम्रो कुरा सुनिएन । हामी सडकमा छौँ । सडकमा उत्रँदा प्रहरीले दमन गर्‍यो,’ उनले भने, ‘यो हाम्रो छिनोफानोको लडाइँ हो, विजयमा नपुगेसम्म हामी सडक छाड्दैनौँ ।’

कांग्रेस जिल्लासचिव कमलकान्त झाले आन्दोलनकारीबाट पार्टी कार्यालय जलाउने काम निन्दनीय भएको बताए । मधेस आन्दोलन अधिकारको लडाइँ भए पनि आन्दोलनलाई संयमित बनाउन आग्रह गरे । उनले आन्दोलनकारीको आगजनीबाट पार्टी कार्यालयमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको बताए । उनले पाँचवटा कोठामा रहेका फर्निचर, दुई थान कम्प्युटर, एक थान फ्याक्स मेसिन, एक थान टेलिफोन सेट, एक थान इन्भर्टर र पार्टीका सम्पूर्ण कागजपत्र जलेको जानकारी दिए ।

सरकारी कार्यालयमा स्वायत्त मधेस प्रदेश लेखिए

जिल्लाका अधिकांश सरकारी कार्यालयको बोर्डमा नेपाल सरकारको स्थानमा मधेस स्वायत्त प्रदेश लेखिएको छ । जिल्ला विकास समिति, कृषि, वन, पशु, नापी, मालपोत, खानेपानीलगायतका अधिकांश सरकारी कार्यालयमा मधेस स्वायत्त प्रदेश लेखिएको स्टिकर टाँसिएको छ ।

तस्बिर : नयाँपत्रिका

(Visited 192 times, 1 visits today)

टिप्पणी

comments