Main Menu

नेताज्यूहरू ! यसो पनि भनिदिऊँ कि ?

Bidhya-Nath-Koirala1-445x300नेपाल स्वतन्त्र देश हो। यही पढेंँ। यही पढाएँ। विराटनगरको एलिट क्लबमा वीपी कोइरालाले भनिदिए– नेपाल त प्रशासनिक इकाइ हो, राष्ट्र बनेकै छैन। जनजातिहरूले अर्को कुरा ल्याए– नेपाल राज्यमा धेरै राष्ट्रहरू छन्। उनीहरूको इसारा हो– गुरुङ राष्ट्र। अवध राष्ट्र। जनजातिको यो सोचले मलाई अर्कोतिर फर्कायो। पृथ्वीनारायण शाहको इतिहास पढेंँ। पढाएँ। उनको इतिहासले भन्यो– बाइसी–चौबीसीहरू एक भए। नेपाल राष्ट्र बन्यो। इतिहासमै नेपाल–तिब्बतको लडाइँ पढेंँ। पढाउने काम पनि गरेंँ। नालापानीको कथा पढेंँ। पढाएँ। नेपाली वीरहरूको कथा। भारतमा अंग्रेजी राजको कथा पढेंँ। त्यो पनि पढाएँ। त्यसले भन्यो– नयाँ मुलुक नेपालले लियो। अहिलेको बाँके र बर्दिया। दार्जिलिङ भारतलाई दियो। टिष्टासम्मको पूर्वी भाग। काँगडासम्मको पश्चिमी भाग। अहिलेको सीमाविदहरूको प्रतिवेदन पढेंँ। तिनले भन्छन्– नेपाल र भारतबीच ११६ वटा सीमासम्बन्धी विवाद छन्। चीन र भारतले सम्झौता गरेको लिपुलेकको कथाले विवाद छर्लङ्ग देखियो। नेपाल त्यहाँसम्म रहेछ। भारत मेरो भन्दोरहेछ। चीन पत्याउँदो रहेछ। हामी चेपोमा रहेछौं।

भारतीय नेतृत्वका बेलाबखतका वक्तव्य पढेंँ। नेहरूको वक्तव्य। उनले भने– भारत हिमालयसम्मै आफ्नो ठान्छ। सुरक्षा छाता। तत्कालीन प्रधानमन्त्री वीपीको विरोध पढेंँ। नेहरूले भारतीय संसद्मै मैले त्यसो भनेको हैन भन्ने स्पष्टीकरण पढेंँ। त्यसले भन्यो– भारतीय शासकहरू बलमिच्याइँ गर्दारहेछन्। यसबाट लाग्यो– भारतीयहरूले हामीलाई छायाराष्ट्र मात्रै मानेछन्। आफ्नै आदेशमा चल्ने। चलाउन खोजिने। हाम्रा नेताहरू ठडिन नसक्ने। भारतीय राजनेताहरू ठडिन नदिने। यसरी बुझेंँ नेपाल र भारतको सम्बन्ध त ठूलो दाजु र सानो भाइको पो रहेछ। फेरि अन्तर्राष्ट्रिय मान्यता पढेंँ। पढाएँ। संयुक्त राष्ट्रसंघीय अधिकार। त्यसले भन्यो– हामी भूपरिवेष्टित र पारवहन सुविधा पाउने स्वतन्त्र देश हौं। ठूलो दाजु र सानो भाइ बन्ने बनाउने बुद्धि त दुई देशका नेताहरूको बेइमानी पो रहेछ। संयुक्त राष्ट्र संघको नियममा त हामी समान थियौं। छौं। हुन्छौं।

राजनीति कि प्राविधिक बेइमानी?

नेपाली साम्यवादीहरूले चर्का कुरा गरे। उनीहरूले भने– भारत विस्तारवादी हो। मैले असल छिमेकी पढेको थिएँ। पढाएको थिएँ। कहाँ देखेंँ त साम्यवादीले विस्तारको क्रम? उनीहरूकै दस्तावेजले भन्यो– सिक्किम भारतले खाएको त हो। तिनै साम्यवादीले चीनलाई विस्तारवादी भनेनन्। चीनले तिब्बत खाएको पनि त हो। साम्यवादीले यो पनि भने कि नेपाली कांग्रेसले कोसी र गण्डकी बेच्यो। महाकाली बेच्यो। त्यहाँ गएर हेरेंँ। नेपाली भूभाग हाम्रा पुलहरूभन्दा तल परेका त हुन्।

फेरि पढेंँ मातृकाप्रसाद कोइरालाको कोसीको कहानी। उनले भने– बाँध माथि बनाउनु र नेपाली भूभाग बाँधको तल्लापट्टि पार्नु वा पर्नुमा प्राविधिकहरू पो दोषी हुन्। राजनीतिज्ञको केही लेनादेना छैन। मातृकाको दलिल कोसीमा रह्यो। त्यही बुद्धि गण्डकी र महाकालीमा रह्यो। अनि गण्डकीको नहरबारे पढेंँ। त्यसको सम्झौताले भन्यो– नेपालमा थोरै पानी, भारतमा धेरै। नेपालीलाई पानी चाहिँंदा पनि भारतले लाने तर नहरमा प्वाल पार्न नदिने। मेसिन प्रयोग गरेर पानी तान्न पनि नपाइने। हाम्रो पानी हामीले हेरेर बस्नुपर्ने। हाम्रा जमिन तिर्खाउने। भारतीय जमिन सिञ्चित हुने। त्यही स्थिति महाकालीमा देखेंँ। वागमतीमा देखेंँ। कोसीमा देखेंँ। यसबाट अर्को कुरा बुझँें– हामी आफ्नै माटोमा भारतबाट ठगिएछौं। हाम्रा साखुल्ले नेताहरूले हामीलाई अन्याय गरेछन्। हामीलाई तल पारेछन्। भारतलाई पोसेछन्। त्यसरी नै सम्झौता गरेछन्। गर्दारहेछन्। भारत तिनै सम्झौता समातेर हामीलाई च्याप्दो रहेछ। हाम्रा नेताहरू ती सम्झौताबारे हामीलाई इंगित गर्दारहेछन्, तर देखाउँदा रहेनछन्।

छिमेकी कि सँधियारमा अल्झेका नेता?

घरभित्र ठगिएका दस्तावेजहरू पढेँ। पढाएँ। घर बाहिर पनि भारतले छोडेनछ। बाँकेको डुबान। गौरको डुबान। कोसी टप्पुको डुबान। यस्ता डुबानहरूले भनिरहे– भारतले आफ्नो जमिनमा उच्चबाँध बनाएर पनि नेपाली जमिन डुबाउँदो रहेछ। हामी त्यसको प्रतिवाद गर्दारहेछौं। यसरी ठगिँंदा मैले पढे–पढाएका कुरामा प्रत्याभूति गर्न थालेँ। भारत साँच्चै छिमेकी देश हो त? कि संधियार हो? मेरो प्रश्नले मैलाई हल्लायो। मेचीदेखि महाकालीसम्म त भारतले घुसपैठ गर्‍यो। सीमा मिच्यो। चीनले नि? २०१५ सालको माओ, चाउएनलाई र वीपी कोइरालाको संवादले भन्यो– सगरमाथाको उत्तरी भाग पनि हाम्रै हो। तर २०१७ सालमा पञ्चायती व्यवस्था ल्याउँदा राजा महेन्द्रले पो चीनपट्टिको जमिन दिएछन्। पञ्चायत टिकाउने सर्तमा। गृष्मबहादुर देवकोटाको ‘राजनीतिक दर्पण’ले त त्यसै भन्यो। अहिले हुम्लाको लिमीमा २ किलोमिटर वर आएर घर बनाउँदा चिनियाँले पनि त त्यही विस्तारवाद नै अँगालेको हैनन् र? बेलाबखत नेपाली भेडा खेद्दा चीनले पनि त त्यही तरिका अपनाउँदो रहेछ। भारत–चीन छिमेकी कि संधियार? के भन्ने हो भनी अल्मलाउनुपर्ने पो रहेछ। मैले के भन्ने होला मेरा विद्यार्थीलाई? को असल छिमेकी? को संधियार? को विस्तारवादी?

चीनका बादशाहले पर्खाल बनाए। अहिले भन्ने गरिएको ‘ग्रेटवाल’। पश्चिम जर्मनीले पर्खाल लगायो। पूर्वी जर्मनीसँग रिसिएको बेला। किन पर्खाल? सोचेंँ। अनि प्रत्याभूति गरँें– हामी पनि त पर्खालमै खर्चिंदा रहेछौं। घरको पर्खालमा। जग्गाको पर्खालमा। त्यसो भए हाम्रा घरघरका छिमेकी (रु) र देशका छिमेकी (रु) मा त अन्तर नै रहेनछ। साँध सार्ने। मिच्ने। हेप्ने। त्यही ढंग हेपिनेमा पनि रहेछ। कतै हामीले पनि नेपालको सिमानामा पर्खाल पो लाउने कि? चीन, भारतलाई सीमा घुसपैठबाट बचाउने कि? आफैं बच्ने कि? सोच्ने बेला भएछ। मैले मेरा विद्यार्थीलाई त्यसो भनेंँ भने कसो होला?

देशका कि यता न उताका नेता?

भारतसँग रोटी र बेटीको सम्बन्ध खोज्यो मधेसले। मूलत: मधेसी अनुहारले। राजेन्द्र महतोको बुझाइमा बेटी ल्याउनासाथ नेपाली नागरिकता दिइनुपर्ने। भारतमा के गर्छन् नि नेपाली चेलीलाई? नागरिक बनाउँछन् कि अंगीकृत? सर्त छ कि छैन? हेर्नुपर्ने हाम्रै नेताले न हो। मैले त्यही बुझेंँ। त्यही बुझाएँ। अहिले भारतले त्यही कुरा सतही रूपमा बोक्यो। निहुँ बन्यो, नेपालको संघीय संविधान। अघोषित नाकाबन्दी त्यसैले गर्‍यो भारतले। मोदीको ऋषिमन साँघुरियो। त्यही भारतको आरके यादव र नेपालका शास्त्रदत्त पन्तले ‘रअ’को घुसपैठ देखे। यादवले आफ्नो किताब ‘मिसन रअ’को पृष्ठ २६३ मा लेखे– नेपालको तराई छुट्याउनुपर्छ। पन्तले पनि त्यही कुरा हो भन्ने साविती दिए। उनको किताब हो– ‘नेपालमा रअको चलखेल’। यही प्रश्न उठयो– उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोले ती किताब पो पढेनन् कि? हामीले पो पढाएनौं कि? पढेर पनि बुझ पचाए कि? त्यो काममा गिरिजाप्रसाद कोइरालाले पो सघाए कि? मधेस एक प्रदेश भन्ने मधेस आन्दोलनका नेतासँग सम्झौता गरेर। प्रचण्ड र बाबुरामले पनि सही थापे कि? उनीहरूले पनि ती किताबहरूबाट जानकारी नै लिएनन् कि?

मधेसी मोर्चाका नेताहरूले भनेझैं नेपाली विद्रोहीलाई भारतले सधैं स्थान दिएकै हो। नेपाली कांग्रेसले त्यहीं बसेर क्रान्ति गर्‍यो, २००७ सालमा। २०१७ सालमा नेपाल पस्ने कि त्यहीं बस्ने भन्ने विवादको सिर्जना भयो। नक्सलवादीका पछि लागेका तत्कालीन मालेले पनि त्यसै गर्‍यो। क्रान्तिकारी भनिने माओवादीहरूले पनि त्यसै गरे। यस अर्थमा हाम्रा नेताहरूले भारतको काख पाए। विद्रोहमा भारतीय काख। साथ। त्यसैको मूल्य पो खोज्यो कि भारतले? तिम्रा नेता पाल्यौं। सघायौं। अब तिमीहरू हाम्रै वृष्टिछायामा बस। त्यसैले अहिलेका आन्दोलनकारी मधेसी मोर्चालाई भारतले त्यही मेसोमा पो काखी च्याप्यो कि? हाम्रा नेताहरूको असल सवार बन्ने चरित्रले पो भारतले हामीलाई हेपेको हो कि? चेपेको हो कि? चेप्न खोजेको हो कि? सत्तामा रहनेलाई नसघाउने। विद्रोही वा आन्दोलनकारीलाई अपनाउने।

यही संस्कार पो बनायो कि भारतले?

‘आत्मवृत्तान्त’मा वीपीले लेखे– भारतले सघाएन। गिरिजाप्रसादको त्यही अनुभूति रह्यो। सुशील कोइरालाले त्यही भोगे। अहिलेका प्रधानमन्त्री केपी ओली भोग्दैछन्। सायद यसैलाई ‘नेहरू डक्ट्रिन’ भने विज्ञहरूले। ‘मोदी डक्ट्रिन’ पनि त्यही रह्यो। अध्यात्म चिन्तक। हस्तक्षेपी व्यवहार। त्यसैले भाजपाकै सांसद कीर्ति आजादले भनिदिए– नेपालको तराईका १५ जिल्ला बलपूर्वक लिन्छौं। त्यसको नेतृत्व मै गर्छु। उनको दलिल रह्यो– अंग्रेजले दिएका जिल्ला हुन् ती। त्यसैले पो तराईको समथर भूभाग छुट्याऊ भने कि हाम्रा नेतालाई? हाम्रा नेताले आरके यादवको ‘मिसन रअ’ र कीर्ति आजादलाई पढेको भए हिमाल, पहाड र तराई जोड्नुपर्छ पो भन्थे कि? डा. शास्त्रदत्त पन्तको किताबमा घोत्लिएको भए तराई छुट्याउने उपक्रममा लाग्दैनथे कि? तराई/मधेस छुट्याउँदा भारतको खेलौना बन्दैछौं भन्ने कुराको मनन पो गर्थे कि? भारतीय रअको डिजाइनको नेपाली खेलौना बन्यौं कि भनी विचार पो गर्थे कि? नेतृत्व मधेसबाट गर्‍यौं, तर हामी सम्पूर्ण नेपालीका नेता हौं भनी अगाडि बढ्थे कि? अहिले हिमाल, पहाड र मधेस छुट्याउँदा र पछि छुट्टै देश बनाउँदा सिक्किम वा तिब्बतको दशा पो हुन्छ कि भनी डराउँथे कि? भुटान पो हुन्छौं कि भनी घोत्लिन्थे कि? हिमाल नपग्ले नदी हुन्न। पहाडमा पहिरो गए तराई/मधेस रहन्न। पहाडेले कोसीको पानी कर्णालीमा मिसाए मधेसमा नहर हुन्न भन्ने भौगोलिक एवं विकासात्मक चिन्तन पो बोक्थे कि? के भनिदिऔं म मेरा विद्यार्थीलाई?

ठूला दलमा पनि मधेसी र पहाडे नेता छन्। नेपाली कांग्रेसमा। एमालेमा। माओवादीमा। तिनका नेताहरू राष्ट्रको कुरा गर्छन्। मधेसको कुरामा मौन छन्। यो मौनता के हो? मधेसी मोर्चाको आन्दोलनको मूक समर्थन? मौन विरोध? किन विरोध गर्ने भन्ने मानसिकता? आत्मा र ईश्वर बारेको बुद्धको सोचजस्तो? के भन्ने मेरा मुमुक्षु विद्यार्थीलाई? राजनीति नजान्नेलाई। राजनीति गर्नेलाई? राजनीतिमा चासो नराख्नेलाई?

कुनै दर्जाका कि सम नागरिक?

पहाडे उपल्लो दर्जाको। मधेसीले त्यहीं भन्यौं। बाहुन–क्षत्री उपल्लो दर्जाका। जनजातिले त्यही भन्यौं। के पहाडे सबैको एकै दर्जा छ त? के मधेसी सबैको एकै दर्जा छ त? यस्तो चिन्तन समाजशास्त्रीहरूले ल्याए। तर पहाडेको को हौं राजनीति गर्ने? हिमालीका को हौं? मधेसीका को हौं? समाजशास्त्रीले खोजेनौं। धनले राजनीतिमा ल्यायो कि? सहाराले ल्यायो कि? सामन्ती अवशेषले ल्यायो कि? नातागोताले ल्यायो कि? राजनीतिक दर्शनले ल्यायो कि? लहर ल्याउन सक्ने तागतले ल्यायो कि? चरी र घैंटेहरूको जोडबलले ल्यायो कि? जनमुटु छाम्न सक्नेले ल्यायो कि? प्रचण्डको शब्दमा– प्रभुको आर्शिवादले ल्यायो कि? स्वदेशी प्रभुको। विदेशी प्रभुको। यस्तै—यस्तै अनेकन प्रश्नको उत्तर समाजशास्त्रीहरूले खोजेनौं कि? राजनीतिक विश्लेषकहरूले यो पक्ष नै हेरेनौं कि? त्यसैले नागरिकको दर्जा किटानी गर्ने घृष्टता पो गर्‍यौं कि? मगर, गुरुङ, राईजस्ता जनजातीका सन्ततिले छाती तानेको बिर्सियौं कि? गल्ला कुरेको देखेनौं कि? मधेसी युवा सेनामा नै कम आए भन्ने महासेनानीहरूको तथ्यांक बिर्सियौं कि? मगरले सुरु गरेको हिमाल चढ्ने अभियानमा शेर्पा अगाडि आएको तथ्य बिर्सियौं कि? पहाडे र हिमालीलाई पढाउने मधेसी शिक्षकले आफ्नै सन्ततिलाई पढाएनौं कि? अथवा विविध भूगोल र नश्ल, जात, जाति र धर्मका हामी नेपालीका आ–आफ्नै क्षमता छन् भन्ने कुरा बुझेनौं कि? आफैंलाई चिनेनौं कि? त्यही अनजानमा नागरिकको दर्जा पो ठम्यायौं कि? सांसद कति? सचिव कति? महिला कति? मधेसी कति? भनी गन्ने सांख्यकीय सोचमै पो अल्मलियौं कि? प्रवृत्ति नबुझेर। लगानी नबुझेर। अर्थात् समाजशास्त्री र सांख्यकीहरूको बुझाइमा मानवशास्त्रीय विशेषता र ऐतिहासिक लगानीको कुरा बिर्सियौं कि? के भनिदिऔं आगामी पुस्तालाई?

मेरो निचोड कि अलमल?

कसैले भन्लान्– म अल्मलिएँ। अर्कोले भन्ला– पहाडे राष्ट्रवादको पक्षपोषण गरेंँ। कसैले भन्ला– बाहुनवाद बोकेंँ। अर्कोले भन्ला– मधेसी नेता र छिमेकी देशप्रति विषवमन गरेंँ। यस्ता अनेकन आरोप हुनसक्छन्। लाग्न सक्छन्। लागुन्। स्वीकार्छु। तर एकपटक सोचौं, छिमेकीहरूको थिचोमिचो। एक पटक विचार गरौं, तिनको ताबेदारी गर्ने हाम्रा राजनीतिक नेतृत्वको वक्तव्य। त्यसैमा विज्ञता देखाउने हाम्रा घोडे प्राज्ञको लेख। छ्यान विचार नगरी पछ्याउने हाम्रा घोषित एवं अघोषित दलीय कार्यकर्ताको बानी। पश्चिमा लगानीमा उनकै एजेन्डा उठाउने नागरिक समाजको आदत। माक्र्सवादी भए ऐतिहासिक विश्लेषणबाट सिकौं। गान्धीवादी भए माटो समाएर बोल्न सिकौं। बुद्धवादी भए सापेक्षित सत्य पहिल्याऔं। नेपाली भए आफ्नै देशका बासिन्दालाई सोधौं। नवप्रवेशी भए नयाँ घरकै घञ्चमञ्चमा रमाऔं। कसैको खेलौना भयौं कि भनी ‘रअ’का दस्तावेजहरू पढौं। चीन, भारत र नेपालका इतिहास पढौं। अन्त्यमा निर्णय गरौं– हामी स्वतन्त्र देशका नागरिक हौं। कसैको वृष्टिछायामा विगतका नेताले राखे। ती सबैलाई धिक्कारौं। भोलिका सन्ततिलाई परतन्त्रमा बस्ने बसाउने काम नगरौं। मधेसी, पहाडी र हिमाली जो जहाँ भए पनि सम्बन्ध नबिगारौं। रोटी र बेटीको नाता द्विदेषी रहेन अब। बहुराष्ट्रिय भएको यथार्थ बुझौं। मैले यसो भनेंँ भने के अर्घेलो होला त?

एक पटक विचार गरौं– क्यानाडाली आब्रजक फ्रेन्चको क्युवेक छुट्याउने बुद्धिलाई त्यहाँका आदिवासीले असफल गराए। श्रीलंकालाई टुक्र्याउन चाहने आब्रजकलाई सिन्हालीले असफल पारे। यी दुई देशको इतिहासले भन्छ– आब्रजक र तिनका मतियाराहरू देश छुट्याउन र छुट्टिन खोज्दारहेछन्। रैथानेहरू सिंगो देश खोज्दारहेछन्। त्यही आफ्ना गुनासाहरूको समाधान खोज्दारहेछन्। मधेसीका पहाडीसँगका गुनासा। पहाडीका मधेसीसँगका गुनासा। हिमालीका पहाडी र मधेसीसँगका गुनासा। भौगोलिक समुदायभित्रका अन्य जात, जाति, भाषा, धर्म, नश्ल आदिका गुनासा। मेरा विद्यार्थीलाई म यसै पो भनिदिऊँ कि?

(३६ वर्ष त्रिविमा अध्यापन/अनुसन्धानमा बिताएका प्राध्यापक कोइराला केही समय अघिमात्र सेवानिवृत्त भएका हुन्। )

(साभारः कान्तिपुर दैनिक)

(Visited 238 times, 1 visits today)

टिप्पणी

comments