Main Menu

मिथिलाबाट खुसी बाँड्दै कलाकार नम्रता

sharing-happiness-through-mithila-namrataपाटन – नेपाली कला इतिहासको गौरव बोकेको शहर; ऐतिहासिक मंगलबजार दरवार क्षेत्रबाट करिब २०० मिटर जतिको उत्तरतिर नेवारी वास्तुकलाको अनुपम उदाहरण ‘नेवा छेँ’; अनि यसको भूइँतल्लामा रहेको ‘नेवा छेँ आर्ट ग्यालरी’, जसका भित्ताहरुमा सजिएका छन् निकै नै सुन्दर, मन नै खुसी हुने रंगीन चित्रहरु ।

यी रंगीन चित्रहरुले ग्यालरीको साँघुरोपनलाई नै बिर्साउने गरी आफूलाई प्रस्तुत गरेझैँ लाग्छ । परम्परागत मिथिला कलाको झझल्को आउने यी चित्रकलाहरुमा कतै महिला पात्रहरु आफूभित्रै खुसी भइरहेझैँ देखिन्छन् भने कतै जोडीहरु एकअर्कामा डुबेर सन्तुष्टीको मुस्कान छरिरहेझैँ देखिन्छन् । कतै संगीहरु एकअर्कासँग खुसी साट्दै गरेझैँ देखिन्छन् भने कतै संगीतको माधुर्यतामा डुब्दै गरेका महिला, पुरुषहरु देखिन्छन् ।

sharing-happiness-through-mithila-namrataनेपाली कला क्षेत्रका नवोदित कलाकार नम्रता सिंहको एकल कला प्रदर्शनीको मनमोहक झलक हो यो । उनको यो कला प्रदर्शनी नेवा छेँ ग्यालरीले वार्षिक रुपमा नवोदित कलाकारहरुलाई दिने डेढ महिने कला प्रदर्शनी ग्रान्टको उपज हो । यस वर्ष नेवाः छेँ ग्यालरीले नम्रतालाई आफ्नो वर्ष कलाकार (artist of the year) को रुपमा प्रस्तुत गरेर यो प्रदर्शनी सञ्चालन गरिरहेको छ ।

ग्यालरीका संचालिका कलाकार सरिता डंगोलका अनुसार नम्रताको समसामायिक विषयमा मिथिलाको परम्परागत स्वादको फ्यूजन गरिएको अद्वितीय कलाकारिताका कारण यस वर्ष उनी चुनिएकी हुन् ।

मधेशको मोहत्तरीमा जन्मेर काठमाडौँमै हुर्केकी कलाकार नम्रताले सन् २०१३ मा त्रिभुवन विश्वविद्यालयबाट चित्रकलामा डिग्री सकेकी थिइन् । डिग्री लगत्तै थुप्रै सामुहिक कला प्रदर्शनीहरुमा आफ्नो उपस्थिति जनाइसकेकी कलाकार सिंहले सन् २०१६ मा ‘Fragrance of life’ नामक पहिलो एकल कला प्रदर्शनी गरेकी थिइन् । हाल भइरहेको ‘Fragrance of life II’ उनको दोस्रो एकल कला प्रदर्शनी हो ।

आफ्नो कला यात्रा यहाँसम्म आइपुग्नुमा र आफूले कला क्षत्रमै पाइला टेक्नुमा उनी एक मात्र व्यक्तिलाई श्रय दिन्छिन् – उनका पिता । उनका पिता नै हुन् जसले आफ्नी छोरीको रुचिलाई बुझेर खोज्दैखोज्दै ‘सिर्जना कलेज अफ फाइन आर्ट’सम्म पुर्याइदिए। यहीँबाट नम्रताको कला सिक्ने यात्रा तथा कलाकारिताको यात्राको सुरुवात भयो ।

उनको चित्रकलामा मिथिला कलाको झझल्को देखिनुमा उनी हुर्केको संस्कार तथा संस्कृतिको भूमिका रहेको प्रष्ट देखिन्छ । आफूले ठ्याक्कै कहिलेदेखि र किन चित्रहरु कोर्न थालेको हुँ भन्ने याद नभएपनि आफ्नो गाउँ जाँदा त्यहाँका रहेका हरेक घरघरका भित्ताहरुमा प्रत्येक ठूला चाडपर्वहरुमा नविकरण गरेर पोतिएका रंगहरु तथा कोरिएका आकृतिहरुले उनलाई आकर्षित अवश्य गर्दथे भन्ने कुरा भने याद छ । त्यसैले आफ्नै परम्परागत कला संस्कारले सायद चित्र कोर्नमा प्रेरित गर्यो होला भन्ने उनलाई लाग्छ ।

मिथिला कलाबाट प्रभावित भएर समसामायिक विषयमा त्यत्तिकै प्रभावकारी चित्रकला सृजना गर्न त्यति सहज भने थिएन उनलाई ।

“के गर्ने ? कसरी गर्ने ? भन्ने दोधारमै थिएँ ।” उनी भन्छिन् ।

तर त्यही समय एउटा अप्रियः घटनाले उनलाई झस्काइदियो । त्यो घटना थियो उनकी समकक्षी साथीको आत्महत्या ।

कलाकार नम्रतालाई यो घटनाले मानसिक रुपमा निकै नै प्रभाव पार्यो । उनले विचार गरिन्, “हामी जब दुःखी हुन्छौँ, तब हामी दुःखका चित्रहरु बनाउँछौँ । तर त्यसले त झन् दुःखमै मात्र पो धकेल्ने भयो नि ! सबैले फेरि दुःखकै मात्र धेरै चित्र बनाउँछन् ।” 

त्यसो भए के गर्ने त ? उनले जीवनलाई बुझ्ने आफ्नो छुट्टै दृष्टिकोण निर्माण गरिन् । “हामी जब आफूबाटै आफै खुसी हुन्छौँ, तब मात्र अरुबाट पनि खुसी पाउँछौँ र अरुलाई पनि खुसी बाँड्न सक्छौँ ।” उनी भन्छिन् ।

त्यसपछिका उनका कलाकृतिहरु सबै यसै जीवन दृष्टिकोण उजागर गर्ने माध्यम बनेका छन् । उनलाई यी कलाकृतिहरु सृजना गर्नु भनेको ध्यान (meditation) गर्नु जस्तै लाग्छ, जसबाट उनी स्वयं आफैभित्र खुसी हुन्छिन् र आफ्ना कलाकृतिहरुमार्फत अरुलाई पनि खुसी बाँड्छिन् । यसबाट उनले दर्शकमाझ “सकारात्मक ऊर्जा” (positive energy) बाँड्न चाहन्छिन् ।

सकारात्मक ऊर्जा बाँड्ने आफ्नो उद्देश्यमा उनी परम्परागत मिथिला कलाको एउटा प्रमुख उदेश्यलाई जोड्न चाहन्छिन् । मिथिला कला भनेको परम्परागत रुपमा महिलाहरुले विशेष गरी आफ्ना घरका भित्ताहरुमा विभिन्न देवीदेवताहरुको चित्र तथा बुट्टाहरुले सजाउने कला हो । यसको एउटा महत्वपूर्ण उदेश्य भनेको घरभरी सकारात्मक ऊर्जा छर्नु हो । यस उदेश्यबाट पनि आफू प्रभावित भएको हुँदा यसैलाई आफ्ना कलाकृतिहरुको माध्यमको रुपमा चुनेको कलाकार सिंह बताउँछिन् ।

मिथिला कलाबाट प्रभावित भएपनि कलाकार नम्रताका कलाकृतिहरु सम्पूर्ण रुपमा मिथिला कलाकै प्रतिकृति भने होइनन् । उनको विषय छनौट अथवा कन्सेप्ट, कम्पोजिसन तथा रंग चयनमा पूर्ण रुपमा मौलिकता झल्किन्छ ।

आफ्नो कला यात्रामा अहिलेसम्म सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया पाएकी कलाकार नम्रतालाई सुरुवाती दिनहरुमा नातेदारहरुले कला क्षेत्रमा गएकोमा नाक खुम्च्याएको अनुभव छ । तर आफ्नो परिवार, विशेषगरी आफ्ना पिताबाट पाएको समर्थन र पथप्रदर्शनका कारण यहाँसम्म आइपुगेकोमा उनी आफ्ना पिता प्रति कृतज्ञ छिन् ।

  • दिपमाला महर्जन

तस्बिर – दिपक थामी

(Visited 352 times, 1 visits today)

टिप्पणी

comments