Main Menu

खराब केटीको कथा

  • तस्लिमा नस्रीन

story-of-a-bad-girl-taslima-nasreenयहीँ मैले पर्खने कुरा थियो । इन्जिनियर्स इन्सिट्च्यूटको ठीक उल्टो गेटबाट छिरेर दाहिनेतिर जुन नरिवलको पहिलो रुख छ, त्यसैमुनि भनेको थियो ।

“चउरतिर मुख फर्काएर उभिइरहनू अन्यथा बाटोमा आउँदै–जाँदै गर्नेहरुले आँखा तानीतानी हेर्नेछन् । म चउरमै भेटौंला । ठीक ६ बजे, ठीक छ ?”

कहाँ ६ ? ६ बजेर पैंतीस मिनेट बित्यो, तैपनि रतनको पत्तो छैन । मैले मुण्टो घुमाएर एक पटक इन्जिनियर्स इन्टिच्युटतिर हेरें । उल्टो दिशाको सबभन्दा नजिक पर्ने गेट यही हो । रतनले यतिबेर नगर्नुपर्ने । झोलामा महँगा सामान भरिएका थिए । यो सामान लिएर यहाँ धेरैबेर बस्नु सुरक्षित हुनेछैन ।

यतिबेरमै ६/७ जना युवक पटक-पटक सामुन्नेबाट चक्कर लगाइसके । म आफ्ना आँखा झुकाइरहें कि उनीहरु मलाई ठूलो घरकी छोरी सम्झून् । कसैले सिठ्ठी बजाउँदै थियो भने कसैले हिन्दी फिल्मका गाना गाउँदैथ्यो । एउटाले कम्मर मर्काएर डान्स पनि गर्यो । छड्के आँखाले हेरें, एउटाले त लुंगी उठाउँदै यति माथिसम्म उठायो कि मैल अर्कोतिर मुख फर्काएँ । पर्खनुसिवाय मसँग कुनै उपाय थिएन । घर पनि फर्कन सक्तिनथेँ । अहिलेसम्म घरमा यो कुरा फैलिसक्यो कि रीता भागी, आमा र भाउजूका गहना चोरेर १८ वर्षकी केटी भागी ।

७ बज्यो । अन्धकार ओर्ल्यो । युवकहरुको संख्या ६-७ बाट बढेर १२-१३ भयो । यताउता छरिएर छित्रिएका उभिन्छन्, मटक–पटक गरेर हिँड्छन्, पुरुषलाई देखेर हाँस्छन् । तर म त त्यसो गरेकी छैन, न हाँसेकी नै छु । बसेर छिनछिनमा घडी हेर्दैछु । यसको अर्थ हो कि म बेश्या हैन । म कसैको प्रतीक्षा गर्दैछु । मलाई निकै डर लागिरहेको थियो । अँध्यारो बाक्लिएपछि यदि यिनीहरुले मलाई घेरे भने, म वेश्या हैन भन्ने कुरा जान्दा–जान्दै पनि मलाई यस पार्कको अझै भित्र लगे र अझै अँँध्यारो खोल्सो या झाडीमा लगी यहीँ उभिरहेका हाँस्नेहरु, सिठ्ठी बजाउनेहरु, गीत गाउनेहरु यदि त्यसैगरी लुङ्गी फर्काउँदै पूरा फर्काए, एकदम पूरा फकाउँदै भने ?

रतन पौने ८ बजे आयो । डरले गर्दा म पसिना पसिना भएकी थिएँ । झोलालाई चपक्क पारेर छातीमा टासेर ठिङ्ग उभिएको थिएँ । रतनले आएर सुस्तरी भन्यो– “हिँड !”

दुवै गेटको अगाडि खडा स्कूटरमा चढ्यौं । मैले रतनको एउटा हात चपक्क समातेकी थिएँ ।

सोधेँ – ‘बेर किन गर्यौ ?’

मेरो स्वर यति लुछुप्प भिजेजस्तो थियो कि म स्वयं चकित भएँ । यतिबेरसम्म रुखसँग काठझैँ टाँसिएर उभिँदा–उभिँदा निश्चय नै रोएकी हुँदी हुँ ।

रतनले फेरि सास–सासले भन्यो – ‘त्यो सब कहाँ छ ?’

मैले व्याग देखाएँ । फेरि सोधें– ‘यतिबेर किन गर्यौ ? मलाई डर लागेको थियो ।’

रतन खित्का छोडेर हाँस्यो– ‘डर ? के कुराको ?’

‘दुईजना केटाले मसँग सोधेका थिए – कति लिन्छेस् ?’

‘तिमीले कति भन्यौ त ?’ रतन हाँस्दै मतिर फर्क्यो ।

रतनलाई केवल ६ महिनाबाट चिन्दछु । यी ६ महिनामा हामीहरु दुवै कलेजबाट भागेर पार्कमा, सिनेमा हलमा भेट हुँदै रह्यौं । रेष्टुरेण्टमा खानपीन गर्यौं, साथीहरुको घरमा बहस चर्चा गर्यौं, सुतेँ; अँ सुतेँ पनि । के गर्ने ? रतन मान्दैनथ्यो । भन्दथ्यो– ‘सम्झ, हाम्रो बिहे भैसक्यो ।’ मैले मनमनै त्यस्तै सोच्तथेँ । सुत्नुभन्दा पहिले रतनले मलाई सोच्न सिकाउँथ्यो, हामी दुवै पतिपत्नी हौँ । भन्दथ्यो – ‘बिहे हामीले शायद भागेर गर्नुपर्छ होला ।’

म यो भाग्ने–साग्ने कुरासित निकै लाज मान्दथेँ ।

‘मबाट यो हुँदैन’

आखिरमा मैले मान्नैपर्यो, किनकी दुई महिनादेखि म नछुने भएकी थिइँन । डाक्टरको भनाइ थियो– ‘पेटमा बच्चा छ ।’ बस्, भाग्नै पर्यो । रतनले हिसाब–किताब जोडेर सम्झायो कि ज्यूँदो रहनको लागि हातमा केही रुपियाँपैसा हुनु आवश्यक छ । किनकि रतनका साथमा रुपियाँ पैसा छैन; ऊ नोकरी–चाकरी गर्दैन । बी.कम. पास गरेर तीन वर्षदेखि बेकार बसेको छ । उसका आमा–बाले उसको बिहे गर्दिंदैनन् । त्यसैले मैले नै रुपियाँ पैसाको व्यवस्था गरेर आउनुपर्यो ।

मीरपुरको एउटा स–सानो घरको अगाडि स्कूटर रोकियो । रतनको पछिपछि जाँदैछु । झोला राम्रोसँग समातेकी छु । झोलामा आमा र भाउजूका गहना छन् । दिउँसो जब घरमा सबै सुतेका थिए, मैले ती गहना आलमारी खोलेर झिकेकी थिएँ । यतिबेरसम्म उनीहरुले प्रहरीमा उजुर गरे होलान् ? त्यस्तो त लाग्दैन । कमसेकम आमाले त्यस्तो गर्न नदिनु होला । जेसुकै होओस्, आफ्नै छोरी त हो नि ! आमा अवश्य रुनु भयो होला । आमाको टीठ लागेको छ । भाउजू निश्चय पनि मेरो नाम लिएर आमालाई जथवा–तथवा भन्दै होलिन् । के आमाले त्यसको कुनै जवाफ दिन सक्नुभयो होला ? अहिलेसम्म भाउजूले केही भन्दा आमा डटेर जवाफ दिनुहुन्थ्यो । भन्नुहुन्थ्यो– “छोरामाथि मेरो अधिकार छ । यो छोरो बाढीको पानीमा बगेर आएको हैन । छोराको घरमा उसका आमा–बहिनी पनि बस्छन् ।”

रतन एक तले घरको ढोकाको ताला खोलेर भित्र पस्यो । अँध्यारोमा अचानक मन डरायो । तर आफैंले सम्झाएँ । रतन साथमा छँदैछ, डर के कुराको हँ ? सलाई कोर्नासाथ आँखा एउटा काठको टेबुलमा परे । टेबुलमा एउटा मोमबत्ती राखिएको थियो । रतनले अर्को एक काँटी कोरेर मोमबत्ती बाल्यो । रतनले निश्चय नै यो घर भाडामा लिएको होला । आफ्नो घर बसाउन यो टेबुलबाहेक केही छैन । भैगो, झोलाका गहना बेचेर यो घर सिंगारुला, संसारमा लोग्नेभन्दा नजिकको को छ हँ ? आमा–बाबु भाइ–बहिनी सबै वास्तवमा पराई त हुन् ।

मलाई घरमा एक्लै छोडेर रतन साँझको खाना ल्याउन बाहिर गयो । उसले बेर गरेन । ऊ फिर्ता आउनासाथ यति खुसी भएँ कि गएर हाम हालें । खाना खाएपछि आज पहिलो पटक दुवैले साथै रात बितायौँ । यसभन्दा पहिले कहिल्यै पनि हामीलाई पूरा रात साथै बस्ने अवसर प्राप्त भएको थिएन ।

मलाई निद्रा परेको थिएन । अलिकति पीरले र अलिकति खुसीले । खुसी रतनलाई सिंगै पाउनुको थियो र पीर घरकाले अहिलेसम्म के गरे होलान् भन्ने कुराको थियो । यो घरमा हामी कहिलेसम्म बसौँला, रतनले के काम पाउला अथवा मैले नै के काम गरुँला, यी कुरालाई लिएर रतनसँग कुरा गर्नु जरुरी थियो । तर म जति उसलाई सोध्दथेँ – के होला/नहोला, ऊ त्यति नै मेरो कुर्ताको टाँक खोल्दथ्यो र भन्दथ्यो– “आज अरु कुरा केही हुन्न, आज केवल माया, माया र माया ।”

हो ! मलाई पनि मायामा चुर्लुम्म हुन आनन्द लागिरहेको थियो । तर जीवनयापन गर्न त निकै झमेला छ । अहँ, रतन केही पनि सुन्न तयार थिएन । ऊ शरीरमै रमाएको छ । म रातभरि सुतिँन । रतन पनि सुतेन । उसले केवल मसँग यही भन्यो –  “सुत न ! अनिँदो रहँदा स्वास्थ्य खराब हुन्छ ।”
“तिमीले कहिलेदेखि नोकरी खोज्छौं ?”
“भोलिबाटै !”
“यो घर भाडामा लिएको हो ?”
“अँ !”
“कहिले यसलाई ठीक–ठाक गर्ने हो ?”
“भोलि !”
“केही समान त किन्न पर्यो । तत्काल बिछौना, तकिया, मच्छडदानी र भाँडा–चुलो आदि हैन त ? कहिले किन्छौं ?”
“भोलि !”
“दाजु मलाई खोज्न निस्कनुभयो भने हामीलाई भेटाउनु होला ?”
“अहँ, अहँ !”
“तिमी घर जाँदा राम्रो हुन्थ्यो । आफ्ना आमा–बालाई यो कुरा भन । कहिले भन्छौ ?”
“भोलि !”
“अँ, हाम्रो विहे कहिले गर्ने ?”
“भोलि !”

यसरी भन्दाभन्दै रतन घुर्न थाल्यो र म एउटा घरको सपनामा डुब्दाडुब्दै रातभर जागै रहें र विहानपख बल्ल आँखा लागे ।

निद्रा खुल्दा झ्यालबाट घाम छिरेर आँगनमा घाम परेका थिए । उठेर हेरें– रतन पहिल्यै उठिसकेको थियो । कस्तो लाजको कुरा; पत्नी सुतिरहेकी छ, पति जागिसकेको छ । अवश्य कतै मुख धुँदै होला, चउरमा राती ट्युववेलजस्तै देखिन्थ्यो । अथवा नास्ता लिन गयो होला । यही कुरा सोच्दै काइँयो झिक्न झोला खोलेर हेर्दा त त्यसमा गहना नै छैन ! अरु सबै कुरा छन्; यति दिनसम्म लेखेका चिठ्ठीहरु, डाक्टरको पर्चा, काइँयो, कलम, मुखमा लगाउने क्रिम ! सबै जहाँको तहीँ छन् । के रतनले ती गहना बेचेर घरमा समान किनेर ल्याएर मलाई छक्क पार्ला ? एक पटक मलाई राम्रो पनि लाग्यो, तर फेरि दुःख पनि ! ऊ किन मलार्ई नभनी गयो ?

बिहानबाट दिउँसो र दिउँसो हुँदै साँझ पर्यो । रतन फर्केन । साँझ ४/५ जना केटाहरु ढोका धकेलेर भित्र पसे ।

पस्नासाथ मलाई देखेर आश्चर्य मान्दै सोधे– “तिमी को हौ ? यहाँ किन आयौ ?”

मैले भनें– “यो त मेरो घर हो, तिमीहरु को हौ ?”

“हामीहरु ?” यति भनेर उनीहरु खित्का छोडेर हाँसेर भने– “बाहिर साइन बोर्डमा के लेखेको छ हेरेर आऊ, पढ्न–लेख्न त जान्दछ्यौं होली ?”

“साइन बोर्ड ?” अलिकति उत्तेजित हुँदै बाहिर गएर हेरें । घरमाथि ठूला–ठूला अक्षरमा लेखिएको छ – “नवारुण युवा संघ”

यत्तिकैमा उनैको समवयस्क युवकले क्यारमवोर्ड उठाएर भित्र पस्यो । मलाई फेरि भित्र पस्न मन लागेन, बाहिरै उभिइरहें ।

उनीहरुसँग सोधें– “रतनलाई चिन्दछौं ?”

उनीहरुले जवाफमा मसँग नै सोधे– “कुन टोलको हो ?”

मलाई थाहा छैन, रतन कुन टोलको हो । ‘कल्याणपुर’मा घर छ भन्ने उसले बताएको थियो । सिटी कलेजमा पढ्दथ्यो, बस् यत्ति जान्दछु । घुम्थ्यो, फिथ्र्यो, गाना गाउँथ्यो । बीच–बीचमा कविता पनि लेख्थ्यो । उसका बाबु वकिल छन् । अहँ, रतनलाई कसैले चिन्दैन ।

के म पर्खिरहुँ ? साँझ झमक्क पर्दै गयो । के उसलाई अरु पर्खनु उचित छ ? भोकले पेट पोलेको थियो । कसैले भीख पनि दिन्नथ्यो । घर फर्कौं ? भाउजूले भन्लिन्– चोर हो; दाजुले भन्नेछन्, आमाले पनि शायद मनमनै भन्नु होला । उहाँको अगाडि के मुख देखाउन जाऊँ ? म स्वयं आश्चर्यचकित भएकी थिएँ । घर जान्न, यद्यपि कुटपीट गरेपछि अन्तमा माफ गर्लान् नै ? तैपनि लाजले, अपमानले टाउको उठाउन सकेकी थिइँन । त्यसमाथि पेटमा एउटा झमेला हुर्कर्दैछ ।

आखिर एउटा टेम्पो पक्डेर इन्जिनियर इन्ष्टिच्यूटको अगाडि पुगेँ । मनमनै रतनलाई नै पर्खेकी थिएँ कि थिइँन कुन्नि । पछाडितिरको गेटबाट भित्र पसेर रुखसँगै टाँसिएर जब उभिएँ, मेरा हातगोडा लगभग कामेका थिए । यो मेरो कस्तो पराजय थियो । अब मेरो कुनै सहारा छैन ।

टेम्पोवालालाई हातको घडी खोलेर दिएँ । अब आफूसँग आफ्नो शरीरबाहेक केही थिएन ।

अँध्यारोमा कसैले शरीरमा हात राख्यो । झस्केँ । हात राखेकोराख्यै त्यो मान्छेले अट्टाहास गर्यो । उसको अनुहार मेरो मुखको यति नजिक थियो कि उसको मुखको दुर्गन्ध मेरो नाकमा छिरेको थियो ।

उसले भन्यो– “ओ केटी यता आ !”

त्यतिखेर मेरो पेटमा भोक थियो । कडा भोक । टाउको अत्यन्त रिँगाएको थियो । त्यस मान्छेले मेरो हात समातेर मलाई स्कूटरमा बसाल्यो । म आँखा बन्द गरेर बसिरहेँ ।

म एउटा स्कूलका शिक्षककी छोरी, रीता, सानैबाट नीति र आदर्शको पाठ पढ्दै बढेकी हुँ । पिताजीको निधनपछि दाजुको परिवारमा आमाले आफ्नो पखेटाले ढाकेर चराले झैं मलाई पाल्नु भएको हो । र, म औँसीको कालो रातमा एक अपरिचित पुरुषसित जाँदैछु, केही थाहा छैन ।

नजिकै बसेको मान्छेको नाम ‘रतन’ हो । कुन्नि किन हो, यो मान्छे मलाई रतनजस्तै कोही लाग्दैछ ।

पुनश्चः पाठकगण, के यो साँच्चै खराब केटीको कहानी हो ?

(Visited 1,649 times, 1 visits today)

टिप्पणी

comments