Main Menu

गणतन्त्र ल्याउन सहिदहरुको भूमिका र बलिदानको औचित्य

(२०५२ फागुन १ बाट तत्कालीन नेकपा (माओवादी) ले नेपालमा जनवादी क्रान्ति गर्ने रणनीतिक उद्देश्य राखी थालनी गरेको जनयुद्धले दश वर्षसम्म निरंकुश सामन्ती राजतन्त्रबिरुद्ध उसका प्रहरी र सेनासँग निर्मम युद्ध लड्यो । त्यस जनयुद्धमा १५ हजारभन्दा बढी माओवादी लडाकुहरुले शहादत प्राप्त गरे । त्यसै जनयुद्धले थिल्थिलो हुने गरी कमजोर तुल्याएको राजतन्त्रलाई ०६२–६३ को संयुक्त जनआन्दोलनले समाप्त पारिदियो । अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । अहिलेको राजनीतिक परिवर्तनमा जनयुद्धका हजारौं शहीदहरुको रगत खर्चिएको छ । यसैलाई सम्झना गर्न हरेक वर्ष फागुन १४ देखि २१ सम्म जनयुद्धका शहीदहरुको सम्मानमा शहीद सप्ताह मनाउँदै आइएको छ । यसै सन्दर्भमा जनयुद्धका शहीदहरुको सम्मान स्वरुप यो रचना यहाँ प्रस्तुत गरिन्छ ।–सम्पादक)

surendra-giri-article-martyrs-week

आम जनताको अधिकार स्थापनाको लागि विभिन्न काल खण्डमा भएका जनआन्दोलन, विद्रोह, संघर्ष, जनयुद्धमा बिना स्वार्थ आफूलाई देशको लागि बलिदान दिने अमर व्यक्तित्वहरु, जसलाई सहिद भनिन्छ । ती सहिदहरुको नेपालमा आमूल परिर्वतन साथै प्रजातन्त्र र लोकतन्त्र/गणतन्त्र स्थापनाको लागि निःस्वार्थ बलिदान अतुलनीय छ । सहिदहरुको भूमिका र बलिदानको संरक्षण, सम्मान तथा सम्झना गर्नु हामी सबैको दायित्व हो ।

नेपालमा गणतन्त्र स्थापनाको लागि दश वर्षे जनयुद्धको समयमा झण्डै १५ हजारभन्दा बढी जनयोद्धाहरुको सहादत भएको छ । नेपालमा जनयुद्ध वि.सं. २०५२ साल फागुन १ गते घरेलु हतियार प्रयोग गरी रुकुम, रोल्पा, सिन्धुली र गोरखा जिल्लाबाट शुरु भएको थियो । गोरखा जिल्लामा जनयुद्धको शुरुवातमा नै आफ्ना गुरुलाई तानाशाही शासकका रक्षकहरुले विद्यालय हातामा आई पक्राउ गर्ने, कुटपिट गर्ने तथा दुःख दिने गरेको बारेमा प्रतिरोध गर्दा वि.सं. २०५२ साल फागुन १४ गते गोली हानी कायरतापूर्वक १४ वर्षे दिलबहादुर रम्तेलको हत्या गरे । त्यसपछि फागुन १५ गते रुकुमको पीपलमा ६ जना खत्री बन्धुहरुको प्रहरीद्वारा हत्या गरिएको थियो । त्यसपछिका दिनहरुमा जनयुद्धको राजनीतिक तथा फौजी क्षमता तुलनात्मक रुपले द्रूत गतिमा बृद्धि भएपछि तेश्रो वर्षको योजना कार्यान्वयनको अन्त्यतिर तत्कालीन देउवा सरकारले वि.सं. २०५५ साल बैसाखमा ‘किलो सेरा टु’ नामक क्रूर अपरेशन शुरु गर्यो । यस किलो सेरा टु अपरेशनको अर्थ “सबैलाई मार, सबै चीज जलाऊ र सबै चीज लुट” भन्ने थियो । त्यसपछि व्यापक रुपमा दमन, हत्या, आतङ्क मच्याउने क्रममा वि.सं. २०५५ साल चैत्र ५ गते काभ्रे जिल्लाको अनेकोटमा च्याङबा लामासहित सातजना जनकलाकारहरुको सामुहिक हत्या गरिएको थियो । त्यसै गरी रोल्पाको भाबाङमा २०५६ साल भाद्र ८ गते सामुहिक ११ जना जनकलाकारहरुको हत्या गरिएको थियो । वि.सं. २०५६ साल भाद्र २३ गते राज्यको सशस्त्र समूहद्वारा तत्कालीन ने.क.पा. माओवादीका पोलिट ब्युरो सदस्य सुरेश वाग्लेलाई गोरखा जिल्लाबाट गिरफ्तार गरी हत्या गरियो ।

तत्कालीन सरकारले गरेको योजना अनुसार हत्या र आतङ्कले क्राान्ति रोकिन्छ भन्ने निष्कर्ष पूर्ण रुपले असफल भयो । ‘जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध अनिवार्य रुपमा हुन्छ’ भन्ने सार्वभौम नियमको पुष्टि जनयुद्धको क्रममा नेपालमा भयो । तत्कालीन शासकहरुले जसरी दमनको मात्रा बढाउँदै गए, त्यसैगरी नै प्रतिरोध पनि आम जनता, सांस्कृतिक तथा फौजी क्षेत्रद्वारा सशक्त रुपमा हुँदै गयो । क्रान्तिको गतिलाई कवि रामचन्द्र भट्टाराईको “यौटा पिटाई खान्छ हामी हजारौँ जुट्छौं, यौटा मरेर जान्छ हामी हजार हुन्छौ” (पौडेल, २०६७) भन्ने कवितांशले भनेझैं जनयुद्धको बाटोमा हिंड्ने योद्धाहरुलाई तत्कालीन शासकहरुले निर्ममतापूर्वक यातना दिन्थे र हत्या गर्थे । तापनि जनक्रान्तिको उभार झनपछि झन उर्लेर आउन थाल्यो । तत्कालीन जनविरोधी सरकारले केन्द्रीय माओवादी नेता क. सुरेश, जन कलाकारहरुको र आम समर्थक जनताहरुको सामुहिक हत्या गर्यो । साथै व्यापक रुपमा दमन, अमानवीय आतङ्क मच्याएपछि आम जनतामा सरकारको “हत्यारो चरित्र” को व्यापक रुपमा भण्डारफोर हुन थाल्यो भने जनयुद्धलाई गुणात्मक रुपले ऊर्जा मिल्यो र हजारौं जनसमुदायको आक्रोशलाई देशव्यापी रुपमा शक्तिमा बदल्ने र उनीहरु जनयुद्धमा लामबद्ध हुने वातावरण सिर्जना भयो । यसैगरी वि.सं. २०५९ साल असारमै दुश्मनद्वारा कब्जामा लिई हिरासतमा लिएर क. कृष्णसेन इच्छुकको हत्या गरे, तैपनि जनयुद्धमा हजारौँ जनसमुदायहरु लामबद्ध हुँदैगए । जनयुद्धका महान सहिद कवि कृष्ण सेन इच्छुकले “बन्दी र चन्द्रागिरि” कविता सङ्ग्रहमा बलिदान क्रान्तिका लागि ऊर्जामय भएको भाव प्रस्तुत गरे । कवि इच्छुकले जीवनको लक्ष्य नै नेपाली जनताको मुक्तिको बाटोको रेखाङ्कन गर्ने बनाउनुभयो । उहाँले जनतासँग एकाकार हुँदै निरन्तर सर्घष गर्दै अगाडि बढ्ने क्रममा हिरासतमा नै सहादत प्राप्त गर्नुभएको थियो ।

सहिद दिवस र जनयुद्धको उभारको औचित्यलाई पुष्टि गर्दै कवि तथा लेखक दिल साहनीले आफ्नो विचार कवितामा निम्नलिखित रुपमा प्रस्तुत गर्नु भएको थियो (पौडेल २०६७)।

“झापाको आगो निभेर के भयो कमरेड
रोल्पाको आगो सल्किँदै छ
दाङको रगत चिसिएर के भयो कमरेड
मुस्ताङको रगत उम्लिदै छ
चेतनाको बति बलेपछि एकपल्ट
अँध्यारा गुफाहरुमा
उज्यालो अवश्य रहिरहन्छ”

वि.सं. २०५२ सालमा कलम पत्रिकामा प्रकाशित कवि दिल सहानीको उक्त कविताको भाव अनुसार वि.सं. २०२८ सालमा भएको “झापा विद्रोह” सामन्तवादबिरोधी क्रान्तिको शुरुवात थियो । त्यस क्रममा केही सामन्तहरु मारिएका थिए, तर त्यो विद्रोहको आगो त्यही रुपमा टिक्न सकेन । नेपालमा सशक्त रुपमा सामन्तहरुका विरुद्धमा लड्ने एउटा क्रान्तिको आवश्यकता थियो । त्यो माओवादी पार्टीले वि.संं. २०५२ सालमा रोल्पाबाट शुरुवात गर्यो । जब माओवादी गाउँ, क्षेत्र कब्जा गर्दै सेनाको व्यारेकसमेत पनि वि.सं. २०५८ सालमा दाङ जिल्लाबाट कब्जा गर्न थालेपछि जनयुद्ध सामरिक कोणबाट राज्यसत्तासित सन्तुलनको स्थितिमा विकास हुँदै गयो । माओवादीले शुरु गरेको जनयुद्धले सामन्तवादी राज्य व्यवस्थाविरुद्ध व्यापक जनताको समर्थन प्राप्त गर्दै गयो । त्यसपछि क्रमशः जनमुक्ति सेनाको निर्माण, जनसरकारहरुको गठन र जनसत्ताको घोषणा, जनअदालतको गठन गरी जनतालाई गाऊँ घरबाट नै न्याय दिने प्रणालीको विकास भएको थियो । जब जनयुद्धमा एकएक गरी हजारौं युवा तथा योद्धाहरु एकजुट हुँदै जनयुद्धको आँधिबेहरी सिर्जना गर्न सफल भए, त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्रले संसदवादी दलहरुलाई हटाएर सत्ता आफ्नो हातमा लियो । जनयुद्धको गति तीव्र रुपमा नै अगाडि बढ्दै गयो । कविले व्यक्त गरेको भाव अनुसार क्रान्तिलाई सफल पार्नको लागि लडाईंको मोर्चामा योद्धाहरु सफल हुँदै गए । यो कालो रातले छोपिएको धर्तीलाई उज्यालो पार्ने कार्यमा सफल हुने कुरा सङ्केत गरेको थियो । नभन्दै त्यसपछि संसदवादी दलहरु र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझ्दारी भयो साथै जनयुद्धको जगमा १९ दिन चलेको २०६२/०६३ को जनआन्दोलन सफल भएपछि सामन्तवादका नाइकेलाई घुडाँ टेकाई पहिलो संविधानसभाले विधिवत रुपमा गणतन्त्रको स्थापना गर्यो ।

१० वर्षे जनयुद्धको जगमा उठेको २०६२/०६३ को जनआन्दोलनका एजेन्डाहरु नेपालको संविधान २०७२ ले संस्थागत गर्ने प्रयत्न गरेको छ । त्यसैले जनयुद्धको क्रममा सहादत प्राप्त गर्ने हजारौँ सहिदहरुको बलिदानको मूल्यमा अहिलेको परिवर्तन भएको पुष्टि मिल्छ ।

संक्षेपमा अमर सहिदहरुमा सङ्घर्षशील जनता, जनमुक्ति सेनाका योद्धा, पार्टीका कार्यकर्ता, नेता र संस्कृतिकर्मीहरु रहेका छन् । यी सबैलाई सामुहिक समारोहको रुपमा फागुन १४ गतेदेखि २१ गतेसम्म एकिकृत रुपमा मनाउँदै आएका छौँ । फागुन १४ गते जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल सहादात भएको दिन हो भन्ने कवि दिल साहानीले कवितामा व्यक्त गरे जस्तै,

“झापाको आगो निभेर के भयो कमरेड ? रोल्पाको आगो सल्किँदै छ ।”

वि.सं. २०२८ झापा विद्रोहका क्रममा केही योद्धाहरुलाई जेलमा तत्कालीन जनविरोधी सरकारले राखेको थियो । सो क्रममा जेल जीवन बिताएका योद्धाहरुलाई वि.सं. २०२९ साल फागुन २१ गते बीरेन राजवंशी सहित पाँचजना योद्धाहरुलाई झापाबाट इलामको जेलमा सरुवा गर्ने निहुँमा सुखानीको जंङ्गलमा हत्या गरेको दिन हो । त्यसैले सहिद दिवस फागुण १४ देखि २१ गते सम्म मनाउने गरिएको छ ।

रोल्पा र मुस्ताङको फेदीमा भएको बलिदान

“दाङको रगत चिसिएर के भयो कमरेड, मुस्ताङको रगत उम्लिएको छ ।”

कवि साहानीको कवितामा उल्लेख गरे अनुसार रोल्पाबाट सुरु भएको जनयुद्ध फैलिंदै मुस्ताङको फेदी रुपन्देही तथा नवलपरासी क्षेत्र आसपाससम्म व्यापक रुपमा फैलिएको थियो र यस क्षेत्रमा सहादत प्राप्त गरेका आदरणीय सहिदहरु र रुपन्देही जिल्लामा बसोबास गर्ने सहिद परिवारहरुले दिएको विवरणको आधारमा सहिद स्तम्भ निर्माण समिति रुपन्देहीले उल्लेख गरेका नामावली निम्नलिखित छन् ।

धन बहादुर सिजापति
महेस यादव
राम सुझाब थारु
चिनक यादब

टिकाराम गौतम
भण्डारी कहार
कमल पौडेल
चौथी लोध

गणेश ढकाल
त्रिभुवन यादव
मधु थापा
नियामत अलि

गोपाल रिजाल
सुस्मिता चापागाई
गर्णेश प्रसाद खनाल
पिताम्बर पौडेल

शुशिला अधिकारी
लक्ष्मी खरेल
दिलिप नेपाली
नाथु चौधरी

राकेश लोध
गुनाखर काफ्ले
धुव्र पंन्थ
राम कृष्ण यादब

पदम रोका
लिलावति भण्डारी
कुश्माखर डुम्रे
प्रतिक्षा थापा

सुरेश लोध
शाहि आलम पठान
कमला भण्डारी
बालकृष्ण काउचा मगर

सिंह कुर्मी
दिनानाथ पासी
गुरु प्रसाद रेग्मी
उमा यादव

सुरेश कुवर
अनिरुद्र यादव
जनक रेग्मी
सुनिल आले

रमेश यादव
मणिराम यादब
नवराज सिखडा
यवराज पाण्डे (वेपत्ता)

देविराम भूसाल
देबेन्द्र चौधरी
तुल्सी राम चापागाई
कोशी थापा (वेपत्ता)

दरोगा चौधरी
राज कु. सिह
राम अवतार हरिजन
रमेश भट्टाराई (बेपत्ता)

सुरेश चौधरी
उमा शंकर यादब
पुरुषोतम खनाल
भूपाल पौडेल (वेपत्ता)

शालिक राम अर्याल
सुरेश प्र लोेध
दुर्गा पाण्डे
विनोद अधिकारी

श्रीराम घिमिरे
गंगा कु. तिवारी
नारायण घिमिरे
बिनोद पंन्त (जितेन्द्र)

इन्द्र सहानी
रामेश्वर प्रसाद यादव
माधब घिमिरे
शेष मणि लामिछाने (मणी)

काशि भण्डारी
रुपा रोवल
सुमित्रा घिमिरे

शुशिला अधिकारी
इन्द्रल शाहनी
एम. बं. वि.क.

मोहमद इस्माइल
त्रिबेणी लोध
मन कु वि.क.

प्रलाध लोध
रविलाल न्यौपाने
जीब नारायण सुवेदी

मुस्ताङको फेदीको तराई क्षेत्रमा बसोबास गर्ने जनयुद्धका महान सहिदहरुका तथा बेपत्ता योद्धाहरुका परिवारका केही अनुभव तथा अनुभूतिहरु

सहिद टिकाराम गौतमका पिता देवीलाल गौतम भन्छन, “क्याम्पस पढ्दापढ्दै पार्टी तथा विद्यार्थी संङ्गठनमा लागेको थाहा भएको थियो । रुपन्देहीको बेलवारियामा पार्टी कार्यक्रममा गएको समयमा सेल्टरमा सेनाले घेरा हाली हत्या गर्यो । त्यस घटनामा टिकाराम गौतम तथा गणेश ढकाललाई साथसाथै हत्या गरिएको थियो ।

“हामी बुढाबुढी भएका छौं । हामी विरामी हुँदा उपचार महङ्गो परेको छ । जेठो छोराले देशमा जागिर नपाएर विदेशको खाडी मुलुकमा पसिना बगाएर ल्याएको दुईचार पैसा निजी क्षेत्रद्वारा सञ्चालित शिक्षामा लगानी गरेका छौं । त्यसबाट आउने आम्दानी बालबालिकाको पढाइ खर्च जुटाउँदैमा सकिन्छ । हाम्रो उपचारमा दुःख छ । सरकारले निःशुल्क उपचार र शिक्षा दिएमा हुने थियो ।

देवीलालले वर्तमान देशको परिस्थितिको यथार्थ विश्लेषण गर्नुभएको छ । राज्यले ग्यारेन्टी गर्नुपर्ने शिक्षा तथा स्वास्थ्यमा निजीकरणले जरा गाडेको छ । सहिदको सपना पूरा गर्नको लागि वर्तमान सरकारले आर्थिक सामाजिक संरचनामा आमूल परिवर्तन गरी देशलाई औद्योगिकीकरणमा बदल्नु पर्ने परिस्थिति सिर्जना भएको छ, जसबाट स्वदेशमा नै रोजगारीको अवसर मिल्नेछ । खाडी मुलुकमा बगाउने पसिना स्वदेशमा नै बगाउन आम जनता तयार छन् । यसो भएमा मुलुकमा समृद्धिको ढोका खोल्न सहज हुनेछ ।

वर्तमान अवस्थामा शिक्षा तथा स्वास्थ्य पूर्णरुपमा सीमित व्यक्तिको पहुँचमा मात्र छ । गुणस्तरीय शिक्षाको अवसरबाट आम जनतालाई पहुँच पुर्याउनको लागि तत्कालै दुईखाले शिक्षा सञ्चालन बन्द गरी एकै खालको शिक्षामा लगानी बृद्धि गरी आम जनताको पहुँचमा पुर्याउनुपर्दछ । नेपालको संविधान २०७२ ले स्वीकार गरेको राज्यको दायित्व अन्तर्गत शिक्षा र स्वास्थ्यमा तत्कालैबाट परिचय पत्र वितरण गरी सहिद, बेपत्ता, घाइते अपाङ्गता भएका परिवारहरु सबैलाई निःशुल्क रुपमा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्दछ ।

सहिद टिकाराम गौतमकी आमा भन्छिन्, “सहिद हुँदा हामी सबै संयुक्त परिवारमा नै थियो । टिकारामका परिवार र बालबालिका छैनन् । जेठाका एक छोरा र एउटी छोरी छन् । पढाइ तथा उपचारको लागि सहिद परिवारले पाउनु पर्ने सुविधा जेठाका छोराछोरीले पनि पाएमा उचित हुने थियो ।”

सहिद देवीराम भुसालका भाइ जुद्ध भुसाल भन्छन्, “देवीराम विद्यार्थी कालदेखि नै विद्यार्थी सङ्गठनमा संलग्न रही काम गर्दै थिए । सरकारले संकटकाल घोषण गरी व्यापक दमन गरेको समय थियो । मिति २०५९ साल कार्तिक १० गते नवलपरासीको पर्सावाल भन्ने ठाउँमा ने.क.पा. माओवादीको गण्डक क्षेत्रीय ब्यूरो सदस्य समरसहित ११ जनामध्ये दुईजना महिला बाहेक ९ जनालाई सामुहिक रुपमा राती घरमा सुतेको समयमा शाही सेनाले घेराहाली गोली ठोकेर हत्या गरेको थियो । त्यसै घटनामा देवीरामको पनि हत्या गरिएको थियो ।

त्यसमध्ये एकजना महिलाले गद्दारी गरी सुराकी गरेको कारणले पार्टीको सेल्टर लिएको स्थानमा नै सेनाले घरको छतमा ९ जनालाई लाइन लगाएर हत्या गरेको थियो । संकटकाल भएकोले परिवारले रेडियोबाट आएको खबरको आधारमा दोहोरो भिडन्तमा मारेको झूटा घोषणा गरियो । त्यस समयमा लास बुझ्न तथा खोज्ने अवस्था नभएकोले सबै लासहरु सेनाले बेपत्ता पारी परिवारलाई दिएन । 

“भारतको रोहवरमा तत्कालीन माओवादी पार्टी र संसदवादी दलहरुबीच भएको १२ बुँदे सम्झौताले क्रान्तिको एजेण्डा नै छोडेको महसुस हुन्छ । जनयुद्धको मर्मलाई नै पार्टीले परित्याग गरी लोकतान्त्रिक गणतन्त्रको लागि सम्झौता गर्यो । नेपालमा जनयुद्धको जगमा शुरु भएको जनआन्दोलन २०६२/०६३ ले राजतन्त्रको अन्त्य त गर्यो, तर सहिदको सपना भने जनवादी क्रान्ति नै गर्नु थियो । सहिद देवीराम जनयुद्धकालमा माओवादी पार्टीमा संग्लन रहनुको मुख्य कारण भनेको श्रमजीवी तथा सर्वहारा वर्गको हित तथा मुक्तिको प्राप्ति नै हो” ।

सहिद दम्पत्ति कमल र सुमित्राकी छोरी अस्मिता भन्छिन्, “मम्मी र बाबाको सपना पूरा नभएको देखेर अत्यन्तै दुःख पनि लाग्दछ । तर, उहाँहरुको रगत खेर कसैगरी जानु हुन्न भन्ने मलाई लाग्दछ । त्यो पूरा गर्ने जिम्मेबारीबाट न पार्टी न त नेताहरु नै भाग्नु हुनेछ भन्ने मेरो धारणा छ ।”

सहिद परिवारका दाजु शिव घिमिरे भन्छन् “सहिदका सपनाहरु विशाल थिए, पार्टी भित्रको टुट र फुटको कारणले क्रान्ति, जनता, देश तथा पार्टीलाई घाटा परेको छ । तर, सहिदहरुको बलिदान, आम श्रमजीवी जनता र नेताहरुको त्याग, समपर्ण र अथक लगनशीलताले गर्दा आंशिक रुपमा देशमा परिर्वतन भएको छ । जनयुद्धका उपलब्धिहरुको कारणले जनताका छोराछोरी राष्ट्रपति बन्ने, गाउँमा सिंहदरबारको अधिकार र न्याय प्रणालीमा सहज पहुँच तथा गरिब, दलित, महिला, मुस्लिम, मधेसी, जनजाति तथा पिछडिएका क्षेत्रहरुको संघियतासहितको समावेशी र समानुपातिक सहभागिता, आदि छन् ।”

बेपत्ता योद्धाका परिवार सदस्य राधा पौडेल भन्छिन्, “श्रीमानसँग विवाह २०५० सालमा भयो । उहाँ भारतको मुम्बईमा पार्टीमा संग्लन रही काम गर्दै आउनुभयो । उहाँले भारतमा तत्कालीन अखिल भारत नेपाली एकता समाजको राज्य समिति जिम्मेबार सदस्य भएर काम गर्नुभएको थियो । नेपाली जनयुद्ध र प्रवासी जनआन्दोलन बीच फ्यूजन गर्ने उद्देश्यले वि.संं. २०६० सालमा कार्तिक २५ गते नेपालमा उहाँ आउनुभयो । नेपाल आउँदा पार्टीको निर्देशनमा १० जनाको टोली नेपाल पश्चिम नाका हुँदै देशमा प्रवेश गर्नुभयो । त्यसमध्ये एकजना मात्र भारतमा नै जीवित भएको कुरा उहाँ उल्लेख गर्नुहुन्थ्यो । त्यसमा ९ जना बेपत्ताको सूचिमा नाम अङ्कित छ । त्यस मध्येमा मेरा श्रीमान भूपाल पौडेल हुनुहुन्थ्यो । अहिले एक छोरी र एक छोरासहित हामी तीनजना छौं ।

राधा पौडेलको भनाइ अनुसार उनका श्रीमानलाई नेपाल प्रवेश गरेपछि नेताहरुले महाकालीमा स्वागत गरेका थिए । तर, त्यसपछि सेनाले त्यहीबाट वा चितवनबाट गिरफ्तार गरी बेपत्ता गर्यो ।

नेपालमा जनयुद्धको जगमा सञ्चालन भएको जनआन्दोलनले राजनीतिक परिवर्तन ल्यायो । तानाशाही राजतन्त्रको अन्त्य भयो । तर, अहिले आएर सहिदको भूमिका गौण मानिन थालिएको अनुभूति हुन्छ । पार्टीले सहिदको सपना अनुसार काम गर्न सकेन । पार्टीमा नातावाद र कृपावाद हावी छ । पार्टीले सहिद तथा बेपत्ता परिवारलाई सम्मान तथा सम्झना गर्न सकेको छैन । पार्टीले सहिद तथा वेपत्ता परिवारको दैनिक जीवन कसरी चलिरहेको छ, सोबारे केही ध्यान दिएको छैन ।

राधा पौडेलको कथन अनुसार १८ वर्षसम्म मात्र बालबालिकाहरुलाई शिक्षा निःशुल्क छ, तर खास खर्च १८ वर्षपछि नै हुन्छ । उनी सहिद परिवारलाई क्षमता अनुसार जति माथिसम्म जान सकिन्छ त्यसअनुसार निःशुल्क शिक्षा हासिल गर्ने व्यवस्था राज्यले गर्नुपर्नेमा जोड दिन्छिन् । शिक्षामा निजीकरणको नीतिले गर्दा उच्च शिक्षा पढाउन कठिन भएको बिचार उनको रहेको छ । त्यसै गरी बालबालिकाहरुलाई रोजगारीको अवसर पनि योग्यता र क्षमता अनुसार प्रदान गर्ने व्यवस्था भएमा सहज तरिकाले दैनिक जीवन यापन गर्न सकिने उनको तर्क रहेको छ ।

संक्षेपमा

जनयुद्धको २३ वर्ष प्रवेशको समय हो । नेपालमा झापा विद्रोह (२०२८), विद्यार्थी आन्दोलन (२०३६), जनआन्दोलन ०४६, १० वर्षे जनयुद्धको जगमा उठेको २०६२/०६३ को जनआन्दोलनका एजेन्डाहरु नेपालको संविधान २०७२ ले संस्थागत गर्ने प्रयत्न गरेको छ । संविधानले परिकल्पना गरेको संघीय गणतन्त्र नेपालको तिनै तहको चुनावी प्रक्रियाबाट वामपन्थीहरुको सरकार गठन भएको छ । संविधानले नेपाललाई समाजवादउन्मूख राज्य घोषणा गर्नुको साथै समाजवादउन्मूख सामाजिक–आर्थिक रुपान्तरणको लागि मार्ग दर्शन गरेको छ । गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशिता तथा समानुपातिकजस्ता उपलब्धिहरु हासिल गरिनुका पछाडि नेपाली क्रान्तिका महान अमर सहिदहरुद्वारा निर्वाह गरिएको भूमिकाले आधार स्तम्भको काम गरेको छ । हजारौं सहिदहरुका परिवारहरु, बेपत्ता योद्धाहरु, घाइते, अपाङ्गका परिवार तथा आम श्रमजीवी जनताका आशाहरु पलाएका छन् । लाखौंका आकांक्षा पूरा गर्नको लागि सम्पूर्ण माओवादी शक्तिहरु, देशभक्त, वामपन्थीहरु तथा गणतन्त्रबादी शक्तिहरु सबै मिलेर राष्ट्रियताको सवाललाई साथ साथै जोडेर समृद्धिको खाका मूर्त रुपमा कोर्नुपर्ने भएको छ । सो समृद्धिको खाकालाई कार्यान्वयन र महान सहिदका सपनाहरु पूरा गर्नका लागि निरन्तर बहस, छलफल, दबाबमूलक कार्यक्रम तथा अन्तरक्रिया गरी खबरदारी गर्ने दायित्व सचेत क्रान्तिकारीहरुको काँधमा आएको छ । महान सहिदका सपनाहरुमध्ये सर्वप्रथम सबै गरिब तथा विपन्न वर्ग सम्पन्न वा समृद्धि हुने नै हो ।

अन्त्यमा, अमर सहिदहरु तथा सहिद दिवस हाम्रा साझा सम्पति हुन्, जसले समाजवाद तथा साम्यवादको बाटोतिर हिँड्नको निम्ति सबै क्रान्तिकारी तथा परिवर्तनकामी शक्तिहरुलाई प्रेरणा प्रदान गर्दछन् । त्यसैले सबैले महान सहिदहरुको बलिदान तथा सहिद दिवसको संरक्षण, रक्षा, संस्मरण तथा सम्मान गर्नु सबै वामपन्थी तथा क्रान्तिकारीहरुको दायित्व हो ।

(Visited 1,064 times, 1 visits today)

टिप्पणी

comments