Main Menu

भारतीय सुरक्षाकर्मीद्वारा नेपालमै आएर गोली प्रहार

मंसिर १०, काठमाडाैं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बुधबार बिहान नेपाली भूमिमा आएर गोली प्रहार गर्दा चार नेपाली घाइते भएका छन्। सुनसरीको हरिपुर–७ मा पर्ने भन्टाबारीको पूर्वी टोलमा बिहान साढे ६ बजे एसएसबीका सुरक्षाकर्मीले ८ राउन्ड गोली चलाएका हुन्।

सुनसरीको हरिपुर–७ भन्टावारीको पुरबटोलामा भारतीय सीमा सुरक्षा बलका जवानहरु आएर गोली प्रहार गर्दा भुइँमा लागेको ठाउँ देखाउँदै स्थानीय । एसएसबीको गोली लागेर यही गाउँका ४ जना घाइते भएका हुन् । तस्वीर : वेदराज/कान्तिपुर

सुनसरीको हरिपुर–७ भन्टावारीको पुरबटोलामा भारतीय सीमा सुरक्षा बलका जवानहरु आएर गोली प्रहार गर्दा भुइँमा लागेको ठाउँ देखाउँदै स्थानीय । एसएसबीको गोली लागेर यही गाउँका ४ जना घाइते भएका हुन् । तस्वीर : वेदराज/कान्तिपुर

भारतको शैलेशपुर पोस्टको एसएसबी टोलीको गोली लागी हरिपुरकै अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयराज शर्माले बताए। अशोकको छातीको दाहिने भागमा गोली लागेको छ। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। नरेशको बायाँ कम्मरमा र सरोजको दाहिने तिघ्रामा गोली लागेको छ। उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। मनोज भने इनरुवा अस्पतालमा उपचार गरी घर फर्किएका छन्।

26112015082528Untitled-1-1000x0

प्रत्यक्षदर्शीका अनुसार बिहान करिब ६ बजेतिर भारतीय तस्करहरू तीनवटा साइकलमा एक बोरा रासायनिक मल र दुई–दुई ग्यालिन डिजेल लिएर नेपालतर्फ प्रवेश गर्न लागेपछि एसएसबीका जवानहरूले उनीहरूलाई रोकेका थिए। दुवै पक्षबीच भनाभन हुँदा हात हालाहालसमेत भएको थियो। त्यसै क्रममा भारतीय तस्कर भागेर नेपाली गाउँ छिरेपछि एसएसबीका जवानहरूले अन्धाधुन्ध गोली चलाउँदा निर्दोष नेपालीलाई गोली लागेको हो। एसएसबीको सतना पोस्टका इञ्चार्ज रणवीर सिंहले आफ्ना जवानले गोली चलाएको स्वीकार गरे।

उनले गलत तरिकाले गोली चलाएको पाइए जवानमाथि कारबाहीसमेत गरिने सुनसरीका एसपी शर्मालाई टेलिफोनमा जानकारी गराएका थिए।

तर एसएसबीकै ४५औं बटालियनका सेनानायक रामअवतार भलोटियाले तस्करहरूले ल्याएको अवैध मल र डिजेल रोक्ने क्रममा भारतीय सीमा सुरक्षा बलमाथि आक्रमण भएपछि आफ्ना जवानहरूले प्रतिरक्षाका लागि ६ राउन्ड हवाई फायर गरेको दाबी गरे।

तस्करहरू सामान त्यहीँ छाडेर नेपाली गाउँतिर भागेपछि सीमाभन्दा ५ सय मिटर उत्तर नेपाली भूमिमा पसेर एसएसबीका जवानले ८ राउन्ड गोली चलाएको स्थानीय ६० वर्षीय सत्यनारायण यादवले बताए।

स्थानीय उमेश यादवले एसएसबीका ६ जवान छिरेर गोली चलाएको बताए। गोली चलेपछि जुलेबीको रूखमा लागेको निसाना र बाटोमा लतपतिएको रगतसमेत एसएसबीले मेटाएको बताए। उनका अनुसार गोली चलिसकेपछि थप एसएसबीका जवानहरू आएर गोलीको खोकासमेत खोजेर लगेका थिए। घटनाका बेला घरबाहिर रहेकी मीनादेवी यादवले भनिन्,‘एसएसबीका जवानले घरघरै छिरेर अन्धाधुन्ध गोली चलाए।’ भारतीयहरूले नै तस्करी गरेर नेपालमा सामान ल्याउने गरेको उनले बताइन्। उनीहरूले यसपटक मात्र नभई अरू बेला पनि एसएसबीले नेपाली बस्तीमा आएर दु:ख दिने गरेको उमेशले बताए।

घटनाबारे बुझ्न प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, एसपी शर्मा, राष्ट्रिय अनुसन्धानका नायब निर्देशक नरेन्द्र दाहाल घटनास्थल पुगेका थिए। सँगै भारतीय अधिकारीहरू सुपौल जिल्लाका एसडीएम अरुणकुमार सिंह, डीएसपी सुधीर कुमार र एसएसबीका ४५औं बटालियनका सेनानायक रामअवतार भलोटिया पनि त्यहाँ आएका थिए। दुवै पक्षले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली घाइते छैनन् : भारत

भारतीय राजदूतावासले बुधबार बिहान सुनसरीपारि आफ्नो भूमिमा केही तस्करले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गस्ती टोलीमाथि आक्रमण गरेको भन्दै उक्त घटनामा कुनै नेपाली नागरिक घाइते नभएको दाबी गरेको छ। घटना भारतीय भूमिमा भएको समेत दूतावासको दाबी छ। ‘भारतीय भूमिमा भएको घटनामा कुनै नेपाली घाइते भएका छैनन्,’ दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै दाबी गरेको छ।
बुधबार बिहान भारतीय सीमा सुरक्षा बल एसएसबीको गस्तीसँग नेपालको सुनसरी जिल्लापारि भारतीय भूभागभित्र केही तस्करहरूको भेट भई धावा बोल्दा तस्कर र तिनका मतियारहरूले गस्ती टोलीमाथि आक्रमण गरी एक जवानलाई घाइते बनाएकाले एसएसबीका जवानले आत्मरक्षाका लागि हवाई फायर गरेपछि तस्करहरू भागेको दूतावासको दाबी छ।
दूतावासले नेपाली सञ्चार माध्यमहरूमा आएका समाचार वास्तविकताभन्दा फरक भन्दै एसएसबी जवानमाथि तस्करले भारतीय भूमिमा आक्रमण गरेपछि हवाई फायर मात्रै गरिएको र कोही पनि घाइते नभएको बताएको छ। ‘हवाई फायर गरेपछि तस्करहरू भागेका थिए,’ दूतावासले भनेको छ।

वास्तविकभन्दा फरक ढंगले आएको समाचार दूतावासले नजिकबाट नियालिराखेको विज्ञप्तिमा उल्लेख छ। भारतले नेपालतर्फ आपूर्ति सहज गर्न निरन्तर सघाउँदै आएको र नेपाल–भारत सिमानामा शान्ति सुरक्षाका लागि सीमा सुरक्षा बल निरन्तर खटिने पनि दूतावासले बताएको छ।

(Visited 223 times, 1 visits today)

टिप्पणी

comments