Main Menu

एमाओवादी केन्द्रीय समिति बैठकमा दाहालको प्रतिवेदन

मधेस आन्दोलनको समाधान वार्ताबाटै

एमाओवादी केन्द्रीय समितिको मंगलबार पेरिस डाँडास्थित कार्यालयमा बसेको बैठक । प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

एमाओवादी केन्द्रीय समितिको मंगलबार पेरिस डाँडास्थित कार्यालयमा बसेको बैठक । प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

मंसिर १६, काठमाडौँ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेस आन्दोलनको समाधान वार्ताबाटै गर्नुपर्नेमा जोड दिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ । पेरिसडाँडा मुख्यालयमा मंगलबार सुरु केन्द्रीय समिति बैठकमा २७ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गर्दै दाहालले मधेसमा बल प्रयोग गर्नुको साटो राजनीतिक संवादमार्फत तनाव सुल्झाउनुपर्ने बताएका हुन् ।

संविधानले समाजवादउन्मुख पुँजीवादी लोकतन्त्र संस्थागत गरेको हुँदा त्यसैको स्पिरिटमा जारी संविधानको कार्यान्वयन हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ । ‘परम्परागत संसदीय लोकतन्त्रभन्दा उन्नत, समावेशी सहभागितामूलक लोकतन्त्रको संस्थागत भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सामाजिक न्याय, पूर्ण राष्ट्रिय स्वाधीनता, संविधानको कार्यान्वयन र समृद्धि अबको तत्कालीन लक्ष्य हुनुपर्दछ ।’

संविधान निर्माण भएलगत्तै स्वाधीनतामा चुनौती देखा पर्ने गरी गतिविधि भइरहेको संकेत गर्दै दाहालले पार्टीको ध्यान त्यसतर्फ संवेदनशील हुने बताए । संविधानमा एमाओवादीले राखेको असहमतिपत्रलाई जनताको बीचमा राजनीतिक मुद्दा बनाएर लैजाने दाहालको प्रस्ताव छ ।

सशस्त्र युद्धमार्फत स्थापित भएको पार्टीको अबको राजनीतिक लाइन घोषित रूपमै शान्तिपूर्ण हुनेसमेत प्रतिवेदनमा उल्लेख छ । सोही असहमतिपत्रका आधारमा संविधान संशेाधन गराउन संसद् र जनता दुवैमा जाने एमाओवादीको योजना छ ।

तीन साताअघि पार्टी परित्याग गरेका बाबुराम भट्टराई पक्षधर २१ केन्द्रीय सदस्यलाई एसएमएसमार्फत निम्ता गरिए पनि उनीहरू आएनन् । दाहाल प्रतिवेदनमा भट्टराईको बहिर्गमनलाई माक्र्सवाद र कम्युनिस्ट आन्दोलनबाट गम्भीर पथविचलन भनिएको छ । बाटो बिराएका नेता/कार्यकर्तालाई एमाओवादीमा र्फकनसमेत दाहालले आग्रह गरेका छन् । भट्टराई पक्षधरले भने मंगलबारै राजधानीमा प्रदेश नं ३ स्तरीय भेला आयोजना गरे ।
एमाओवादीबाट फुटेर गएका मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दलहरूसँग पुनः एकताको सम्बन्धमा दाहाल प्रतिवेदनले सैद्धान्तिक चर्चा गरेको छ । राजनीतिक लाइन मिलेमा मात्रै सिद्धान्तनिष्ठ एकता हुने, नत्र नहुने दाहालको भनाइ छ ।

दाहालले ६ महिने सांगठनिक पुनर्गठनको कार्ययोजनासमेत पेस गरेका छन् । त्यसअन्तर्गत संगठन पुनर्निर्माण, रूपान्तरण, कामकाजी कमिटी निर्माण, काम नपाएका कार्यकर्ता नेताका लागि परिभाषित जिम्मेवारी प्रदान गर्ने योजनामा उल्लेख छ । संविधान निर्माणको सन्देश लिएर जनताको बीचमा जाने गरी केन्द्रीय समितिले रणनीति बनाउने एमाओवादी स्रोतले जनायो ।

बैठकमा तीन ‘स’ अर्थात् संविधानको कार्यान्वयन, राष्ट्रिय स्वाधीनता र समृद्धिलाई जोड दिइएको छ । क्रान्तिकारी आन्दोलनको अबको बाटो शान्तिपूर्ण हुनेमा जोड दिइएको छ ।

यसैबीच आठ महिनाअघि एमाओवादीबाट राजीनामा दिएर हिँडेका पोलिटब्युरो सदस्य लोकेन्द्र विष्ट मंगलबारको बैठकमा आएका छन् । विभिन्न कम्युनिस्ट आन्दोलनलाई जोड्नुपर्ने भन्दै काभ्रेको भकुन्डेमा धान खेती गर्दै बसेका विष्ट अध्यक्ष दाहाल र महासचिव कृष्णबहादुर महरासँग परामर्शपछि पार्टी काममा फर्केको स्रोतले जनायो । विष्टको राजीनामा स्वीकृत गरिएको थिएन । उनलाई आत्मालोचना गराएर बैठकमा प्रवेश गराइएको समेत उच्च स्रोतले बतायो ।
एमाओवादी बैठकका कारण बुधबार तीन दलको साझा धारणा निर्माणसम्बन्धी बैठक बस्न सकेन । बुधबार साँझ मधेसी मोर्चासँग वार्ता गर्नुअघि कांग्रेस र एमालेसँग छलफल गर्ने र त्यसका लागि बुधबारको एमाओवादी केन्द्रीय समिति बैठक बिहीबार मध्याहन बस्ने गरी स्थगित भएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।

(Visited 147 times, 1 visits today)

टिप्पणी

comments