Main Menu

‘समाजवादी क्रान्तिको मोडेल के हो ?’

maoist-headquartersम‌ंसिर २०, काठमाडौँ । एमाओवादीको जारी केन्द्रीय समिति बैठकमा समाजवादी क्रान्तिको मोडेलबारे प्रश्न उठेको छ । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै केन्द्रीय सदस्यहरूले समाजवादी क्रान्तिको मोडेल के हो भन्ने प्रश्न उठाएका हुन् ।

केही केन्द्रीय सदस्यले समाजवादी क्रान्तिको कार्यनीतिक आधार राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई बनाउनुपर्ने सुझाबसमेत दिएका छन् । पोलिट्ब्युरो सदस्य जगप्रसाद शर्माले समाजवादी क्रान्तिको मोडेल स्पष्ट हुनुपर्ने भन्दै क्रान्तिको मोडेल के हो ? भन्ने प्रश्न गरेका थिए । ‘जनयुद्धलाई नयाँ जनवादी क्रान्तिको मोडेल बनाइयो भने समाजवादी क्रान्तिको मोडेल के हुनसक्छ ?’ शर्माले उठाएको प्रश्न उद्धृत गर्दै एक पोलिट्ब्युरो सदस्यले नयाँ पत्रिकासँग भने, ‘त्यसको ठोस खाका के हो ?’

अर्का पोलिट्ब्युरो सदस्य लीलामणि पोखरेलले समाजवादी क्रान्तिको कार्यनीतिक रूपमा राष्ट्रिय स्वाधीनताको आन्दोलन सुरु गर्नुपर्ने धारणा राखे । केन्द्रीय सदस्य गिरिधारीलाल न्यौपाने, हकीकुल्ला खाँलगायत अधिकांश नेताले राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई समाजवादी क्रान्तिको कार्यनीति बनाउनुपर्ने सुझाब राखेका छन् ।

‘बैठकमा अधिकांश नेताले राष्ट्रिय स्वाधीनता र आन्तरिक राष्ट्रियतालाई बलियो बनाउनुपर्ने धारणा राख्नुभएको छ,’ केन्द्रीय सदस्य सूर्यमान दोङले भने । आइतबार रामकुमार राई, रामकुमारी चौधरीले पनि आन्तरिक राष्ट्रियतालाई बलियो बनाउनुपर्ने धारणा राखेका छन् । बैठकमा अध्यक्ष प्रचण्डले क्रान्तिको अबको रणनीति समाजवादी क्रान्ति हुने निष्कर्ष पेस गरेका छन् । उनले राष्ट्रिय स्वाधीनता हासिल गरेर समाजवादी क्रान्तिको तयारी गर्ने राजनीतिक कार्यदिशा हुने उल्लेख गरेका छन् ।

‘समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत नै सामन्तवादका अवशेषहरूको अन्त्य गर्ने तथा राष्ट्रिय स्वाधीनता हासिल गरी पुँजीवादी जनवादी क्रान्तिलाई पूर्णता दिँदै उत्पादक शक्तिको विकासद्वारा समाजवादी क्रान्तिको तयारी गर्ने नयाँ ऐतिहासिक राजनीतिक कार्यदिशा निश्चित गरेको छ,’ प्रचण्डले पार्टीको कार्यदिशा र रणनीतिबारे राजनीतिक प्रतिवेदनमा भनेका छन् ।

उनले स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकास गरेर समाजवादी क्रान्तिको आधार तयार पार्ने पार्टीको मूल कार्यनीति हुने बताएका छन् । प्रतिवेदनमा भनेका छन्, ‘समाजवादी क्रान्तिको राणनीति हासिल गर्न जनवादी क्रान्तिलाई पूर्णता दिँदै स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकासद्वारा समाजवादी क्रान्तिको आधार तयार पार्ने मूल कार्यनीति लिनु आवश्यक छ । यो मूल कार्यनीतिका निमित्त सडक, सदन र सकारका सबै सम्भव मोर्चाहरूबाट पहल लिने ठोस नीति, योजना र कार्यक्रम बनाई क्रान्तिकारी स्पिरिटका साथ कार्यान्वयनमा जानु आवश्यक छ ।’

आइतबार १६ नेताले प्रतिवेदनमाथि धारणा राखेका छन् । पार्टी प्रवक्ता दीनानाथ शर्माका अनुसार प्रतिवेदनमाथि धारणा राख्नेको संख्या ४३ पुगेको छ । शर्माले अधिकांश नेताले पार्टी रूपान्तरणमा जोड दिएको बताए । ‘रूपान्तरणको प्रश्न कसरी कार्यान्वयन हुन्छ ? व्यवहारमा कसरी लान सकिन्छ भन्ने प्रश्न पनि उठेका छन्,’ प्रवक्ता शर्माले भने, ‘मधेसी जनजाति नेताहरूले पार्टीमा पनि समावेशी हुनुपर्‍यो भन्नुभएको छ ।’

(Visited 212 times, 1 visits today)

टिप्पणी

comments