Main Menu

यादव र महतोबीच मतभेद बढ्दै

Rajendra-Mahato_Upendra-Yadavमंसिर १६, काठमाडौँ । मधेसमा आन्दोलनरत संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतोबीच मतभेद बढेको छ।

यसले आन्दोलनमा समेत असर परिरहेको निकटस्थहरूको बुझाइ छ। दुई नेताबीच एकअर्काको अस्तित्व स्विकार्न नसक्ने दम्भका कारण मनमुटाव बढदै गएको कार्यकर्ताहरू बताउँछन्।

चर्को र उत्तेजक भाषण दिएर लोकप्रियता कमाउन खोज्ने महतोको बानी उपेन्द्रलाई मन नपर्ने अनि आन्दोलन क्रममा नरम भाषा प्रयोग गर्ने, राजधानी केन्द्रित बढी हुने र पहाडीसित सहकार्य गर्ने यादवको शैली महतोले मन नपराउने उनीहरू निकट स्रोतले जनाएको छ।

दुई नेताबीचको मनमुटाव कार्यकर्तास्तरमा पुगिसकेको छ। जिल्लास्तरमा पनि कार्यकर्ता पंक्तिमा आफूले गरेको आन्दोलन जस लिने होडबाजी चल्न थालेको हो। संयुक्त रूपमा सभा हुँदा मेरो कार्यकर्ता बढी उपस्थित थिए भन्ने दाबी दुवै नेताले गर्न थालेका छन्।

उनीहरूबीचको मनमुटाव केही समय अघिदेखि नै चल्दै आएको र अहिले सहकार्य हुँदा बाहिर देखिन थालेको हो। ‘फोरम, तमलोपा र सद्भावना पार्टी एकीकरण प्रयास भइरहेकै बेलादेखि दुई नेताबीच मत भिन्नता थियो,’ सद्भावनाका एक केन्द्रीय पदाधिकारीले भने, ‘त्यही बेलादेखि चलिआएको मनमुटाव अझ बढदै गएको हो।’

पार्टी एकीकरण नभएपछि सेलाएको दुई नेताबीचको मतभेद यादवले अशोक राईसित पार्टी एकीकरण गरेपछि महतोको उनीप्रतिको नकारात्मक टिप्पणीले फेरि सतहमा ल्याएको थियो। तर आन्दोलन सुरु हुनासाथ काठमाडौं नफर्किने गरी तराई मधेस झरेका महतो र यादवबीच सुरुवाती चरणबाटै मतभिन्नता बढदै गएको ती नेताले बताए।

आन्दोलन सुरु हुनासाथ सबै शीर्ष नेता तराई केन्द्रित हुनुपर्ने, वार्ता भए मधेस भूमिमै हुनुपर्ने अडान महतोले लिएपछि उपेन्द्रसितको सम्बन्धमा फेरि चिसोपना बढेको थियो। उपेन्द्रले आन्दोलन र वार्ता सँगसँगै लैजानुपर्ने, तराईमा मात्रै होइन, काठमाडौंसमेत पुगेर आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने अडान राख्दै आएका थिए।

आन्दोलन सुरु भएपछि संविधानसभाबाट राजीनामा दिनुपर्छ भन्ने महतोको अडान र तत्काल दिनुहुँदैन भन्ने यादव भनाइपछि फेरि एकपटक दुवैबीचको विवादलाई सतहमा ल्यायो। संविधानसभाबाट सद्भावना सभासदले राजीनामा दिएपछि यादवले सस्तो लोकप्रियताका लागि गरेको भन्दै आरोप लगाए भने महतोले पनि सत्ता र भत्ता मोहमा केही मधेसवादी दल फसेको खुलमखुला घोषणा गरे।

संविधानसभाबाट सामूहिक राजीनामा दिनुपर्छ भन्ने मोर्चाको निर्णय हुन नसकेपछि महतोले आफ्ना सभासदलाई पद त्याग गराए। ‘राजीनामा गरेर तत्काललाई सस्तो लोकप्रियता पाए पनि त्यो राम्रो कदम थिएन,’ यादव निकटका एक नेताले भने।

पछिल्लो चरणमा लामो समयसम्म आन्दोलन जारी रहँदा स्वरूप बदल्ने विषयमा मोर्चा बैठकमा कुरा हुनेबित्तिकै महतो चर्किने गरेका छन्। आन्दोलन जारी रहँदा राजविराज, वीरगन्ज, विराटनगरलगायत स्थानमा भएका बैठकमा पनि यादव र महतोबीच निर्णय के लिने भन्ने विषयमा विवाद देखिँदै आएको छ।

पछिल्लोपटक वीरगन्ज नाका कसेर बस्दै आएका महतोले यादवप्रति नाकामा धर्ना नबसेको आरोप लगाएपछि मतभिन्नता फेरि बढेको हो।

सोमबार विराटनगरमा स्थानीयस्तरका नेतासमेतलाई राखेर भएको मोर्चा शीर्ष नेताको बैठकमा समेत महतोले विराटनगर नाका खुला रहेको भन्दै यादवप्रति असन्तुष्टि जनाएका थिए। मंगलबार मोरङकै डायनियामा भएको सभामा पनि महतोले भाषण गर्दै आफूले वीरगन्ज नाकाबाट काठमाडौंको दानापानी बन्द गरेको भन्दै विराटनगर नाकामा धर्ना बसेर कडाइ नगरेको भन्दै उपेन्द्रप्रति पटकपटक असन्तुष्टि जनाएका थिए।

महतोले मधेसी मोर्चाभित्र विवाद रहेको कुरा अस्वीकार गरे पनि उपेन्द्रसित केही विषयमा आफ्नो रिजर्भेसन रहेको बताए। धनुषाको ढल्केबरमा बुधबार हुने सभामा भाग लिन मंगलबार अबेर विराटनगरबाट जाने क्रममा महतोले कान्तिपुरसित भने, ‘मोर्चामा विवाद छैन, त्यो आन्दोलन विरोधीको प्रचारमात्र हो, तर उपेन्द्रजीसित केही कुरामा रिजर्भेसन छ।’

उनले विराटनगर नाकामा कडाइ गर्ने सम्बन्धमा र उक्त नाकामा उपेन्द्र आफैं धर्ना बस्नुपर्ने विषयमा आफूले पटकपटक आग्रह गरेको बताए। ‘विराटनगर नाकामा उपेन्द्रजी धर्ना बस्नुपर्छ भन्ने मेरो टिप्पणीमात्र हो,’ महतोले भने। यादवले पनि महतोसित आफ्नो मनमुटाव अस्वीकार गरे।

सप्तरीमा रहेका उनले भने, ‘हामीबीच कुनै विवाद छैन, सँगै काम गर्दै जाँदा आआफ्ना लजिक हुन्छन्।’

(Visited 145 times, 1 visits today)

टिप्पणी

comments