Main Menu

गाउँ – विमल निभाको कविता

गाउँ

यो गाउँको नाम रामगढवा हो
यहाँ एक दिन बिताउने मौका पायौं भने

कवि विमल निभा

कवि विमल निभा

तिमीलाई थहा हुनेछ
यो गाउँ र सुक्खाले खाएको खेतमा
कत्ति समानता छ ?

सखारै यो गाउँ बिउँझन्छ
खेतमा जान्छ
हलो चलाउँछ
माटो सम्याउँछ
थाकेको गोरुलाई माया गर्छ
र गीत गाउँछ
‘जोवनवा हमरा बीत गइल हो…!’

दिनभरि कडा मेहनत गरेर
जब पेटभरि खान पाइँदैन तब
तिमीलाई थाहा हुनेछ
खेतमा थाकेको गोरुलाई माया गर्दै
गाइने गीतको अर्थ के हो ?

राति यो गाउँ एक ठाउँमा भेला हुन्छ
कहिले चोकटाकहाँ
कहिले बगडाभाइकहाँ
कहिले मखनाकाकाकहाँ
घुर ताप्छ
कुराकानी गर्छ
पानी परेन
बाली सप्रेन
बूढो साहू मरेन
परालको आगो तापेर एक रात

पेन्टिङ स्रोत : इन्डिया आर्ट डटकम

पेन्टिङ स्रोत : इन्डिया आर्ट डटकम

यहाँ बिताउने मौका पायौ भने
तिमीलाई थाहा हुनेछ
ब्याजको दर र बूढो साहूको लामो आयु
दुवै कत्ति दुःखदायी छ !

तिमी रामगढवामा एक रात जरुर बिताऊ
घर–आँगनमा डुल
खेत–खलियानमा जाऊ
र यहाँका मानिसहरूसँग भेट
तिमीलाई थाहा हुनेछ
यो गाउँ र सुक्खाले खाएको खेतमा
कति समानता छ ?

००० ०००
रचनाकाल : २०३७


कविता र व्यंग्य–लेखनमा समानान्तर रुपमा सक्रिय विमल निभा नेपाली प्रगतिवादी कविता क्षेत्रका सशक्त र अग्रणी कवि हुन् । ‘आगोनेर उभिएको मानिस’ ‘एउटा बाहुला नभएको बुसर्ट’ उनका चर्चित कविता संग्रह हुन् ।

(Visited 834 times, 1 visits today)

टिप्पणी

comments