Main Menu

आधा सवारी कालोबजारीको तेलले

– ठमेलमा अडिट अफिस चलाउने सुजन दाहालले नाकाबन्दीयतामात्रै ३० हजार रुपैयाँको पेट्रोल खरिद गरेर व्यवसाय चलाइरहेका छन् ।
– न्युरोड क्षेत्रमा कार्गो भ्यान चलाउने बाबुकृष्ण बाँस्कोटाले पनि हालसम्म १७५ लिटर तेल कालोबजारीमार्फत खरिद गरिसकेका छन् ।
– पिकअप भ्यानमार्फत पसलहरूमा सामान आपूर्ति गर्दै आएका ठाकुर गौतमले २ महिनायता २ सय लिटरभन्दा बढी तेल कालोबजारीमा किनेर जसोतसो व्यवसाय चलाइरहेका छन् ।

black-marketमंसिर १५ काठमाडौं । माथिका ३ वटा उदाहरणले काठमाडौं उपत्यकासँगै समग्र मुलुकमा अभावबीच मौलाइरहेको कालोबजारीको सग्लो चित्र प्रस्तुत गर्छन् । भारतको नाकाबन्दीले घरको चुल्होदेखि दैनिक आउजाउ र उपचारसम्म समस्या खेपिरहेका नागरिक जसोतसो जीवन धान्न कालोबजारीकै तेलमा आश्रित भइरहेका छन्, तथ्यांक त्यही भन्छ । ट्राफिक प्रहरीका अनुसार उपत्यकामा सामान्यभन्दा ५० प्रतिशत सवारी चलिरहेका छन्, ती सबैमा कालोबजारीको इन्धन प्रयोग भइरहेको छ । दाहाल, बाँस्कोटा र गौतमजस्ता हजारौंले कालोबजारीमा इन्धन किनेर जसोतसो दैनिकी धानिरहेका छन् ।

“मैले अफिस चलाउन कालोबजारीमा प्रतिलिटर ३ सयदेखि ६ सय रुपैयाँसम्म तिरेर तेल किनें,” ठमेलका दाहाल भन्दै थिए, “सवारी नचलेपछि कामै नहुने अवस्था भएपछि के गर्ने ?”

सरकारले दसैंअघि सातामा १ दिन र तिहारअघि लटका आधारमा ३ दिनमात्र निजी सवारीलाई तेल दिएको थियो । मोटरसाइललाई ५ लिटर र चारपांग्रे सवारीलाई १० लिटर तेल दिइएको थियो । अहिले भने आयल निगमले निजीलाई तेल नदिने घोषणा गरिसकेको छ ।

नाकाबन्दी सुरु भएको १ सातादेखि सडकमा सवारी सामान्यको तुलनामा करिब १५ प्रतिशतमात्र चलेका थिए । तर, चार्डपर्वपछि राजधानीका सडकमा सवारी चाप बाक्लिएको छ । “नाकाबन्दीको १ सातापछि सडकमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको थियो, त्यतिबेला सडकमा १५ प्रतिशतमात्र सवारी निस्किएका थिए,” महानगरिय ट्राफिक प्रहरी प्रवक्ता पोषराज पोखरेल भन्छन्, “१५–२० दिनयता ५० प्रतिशतभन्दा बढी सवारी निस्किएका छन् । यिनमा निजी सवारीको संख्या अत्यधिक छ । त्यसमा पनि मोटरसाइकल । सार्वजनिक सवारी कमै निस्किएका छन् ।”

मंसिरयता सार्वजनिक सवारी सामान्यभन्दा ३० देखि ३५ प्रतिशतमात्र गुडेका छन् । सार्वजनिक सवारीलाई नियमित इन्धन वितरण भइरहेकाले लाइनमा बस्नुपर्दा संख्या कम देखिएको पोखरेल बताउँछन् । सामान्य अवस्थाको ‘पिक आवर’मा उपत्यकामा ६ देखि ७ लाख सवारी गुड्ने गरेको जानकारी उनले दिए । “अहिले करिब साढे ३ देखि ४ लाखसम्म निस्किएको हाम्रो अनुमान छ,” उनले भने ।

बागमती अञ्चलमा ७ लाख मोटरसाइकल दर्ता छन्, जसमध्ये ६० प्रतिशतभन्दा बढी उपत्यकामा छन् । बागमतीमै करिब १ लाख ५० हजार चारपांग्रे दर्ता छन् । देशभर २१ लाखभन्दा बढी सवारी छन् । यीमध्ये जति पनि सवारी सडकमा गुडिरहेका छन्, प्रायःले कालोबजारीकै तेल प्रयोग गरिरहेका छन् ।

“कालोबजारीबाट तेल नकिन्ने हो भने व्यावसाय छोड्नुपर्छ, होइन भने उपाय छैन,” पिकअप भ्यानमार्फत सामान आपूर्ति गर्ने गौतम भन्छन्, “मैले अहिले २८० रुपैयाँमा किनिरहेको छु, केहीअघि ३ सयदेखि ५ सय रुपैयाँसम्म तिरेको थिएँ ।”

कालोबजारीमा १७५ लिटर तेल किनिसकेका बाँस्कोटा पनि व्यवसाय धान्न कालोबजारीको भर नपरी सुख नपाएको बताउँछन् । भन्छन्, “लाइन बसेर काम गर्न सकिन्न, त्यसमाथि निजीलाई तेलै नदिएपछि कालोबजारीको विकल्प छैन ।”

कहाँबाट आउँछ तेल ?
उपत्यकाका लागि कालोबजारीको तेल भिœयाउने मुख्य माध्यम भनेका तराई क्षेत्रबाट चल्ने रात्रिबस र ढुवानीका साधन नै हुन् । यसबाहेक निजी सवारीले पनि फाट्टफुट्ट तेल ल्याइरहेका छन् । काठमाडौंबाट नजिकै रहेका ठोरी, बर्दघाटलगायत क्षेत्रबाट बढी मात्रामा तेल भित्रिरहेको जानकारहरू बताउँछन् । पूर्वको झापादेखि पश्चिमको महेन्द्रनगरसम्मबाट निर्वाध कालोबजारीको तेल भित्रिरहेको छ । कतिपयले ग्यासको समेत यसैगरी कारोबार गरिरहेका छन् । प्रहरीसँगको मिलेमतोमै यसरी कारोबार भइरहेका समाचार प्रकाशित भइरहेका छन् ।

(Visited 100 times, 1 visits today)

टिप्पणी

comments