Main Menu

तरकारीखेतीले फेरियो मुक्तकमैयाको दैनिकी

mukta-kamaiya-getting-better-farmingभदौ १५, कञ्चनपुर । दशकअघि मुक्तिको घोषणासँगै सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको ५ कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँट नगरपालिका–९ का महादेव चौधरीसँग परिवार पाल्नका लागि मजदुरीमात्रै एउटै विकल्प थियो । त्यहीमध्येको ३ कट्ठा जग्गामा उनले तरकारीखेतीको शुरुवात गरे । तरकारीखेतीबाट चौधरीले ३ महिनामा रु. २० हजार आम्दानी गरे ।

मजदुरी गरेर चौधरीले दैनिक रु. २०० मात्रै कमाइ गर्थे । मजदुरीको तुलनामा तरकारीखेतीबाट बढी आम्दानी हुने भएपछि उनले व्यावसायिक तरकारीखेतीलाई अंगालेका हुन् । तरकारीखेती गरेर परिवार पाल्न सहज भएको उनि बताउछन् ।

थोरै जग्गा भएपछि उनले वार्षिक रु. १ लाख ८७ हजार तिर्ने गरी हाल एक बिगाहा १० कट्ठा जग्गा भाडामा लिई तरकारीखेतीलाई निरन्तरता दिएका छन् । तरकारीखेती गरेर उनले वार्षिक रु. ८ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

बर्खायाममा काँक्रा, लौका, भिण्डी, करेला, बोडीलगायत तरकारीखेती गर्दै आएका चौधरीले हिउँदमा आलु, काउली, गोलभेँडा, खुर्सानी, भण्टा र हरियो तरकारीखेती गर्छन् । ६ जनाको परिवारको लुगाफाटो, अन्न र अन्य खर्च कटाएर केही रकम बैंकमा बचतसमेत गर्दै आएको उनको भनाइ छ ।

पक्की घर निर्माणका लागि रु. ५ लाखभन्दा बढी रकम बैंकमा बचत गरेको चौधरीले बताए । तरकारीखेतीकै रु. १ लाख ६० रकम खर्चेर छोरालाई वैदेशिक रोजगारीमा पठाएर अतिरिक्त आम्दानी उनि बताउछन् ।

यस्तै विपद्राम चौधरीले तरकारीखेती गरी मासिक रु. ६० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् । गरिबी निवारण कोषबाट पहिलो वर्ष रु. ३० हजार तरकारीखेतीका लागि ऋण लिनुभएका चौधरीले रु. २ लाख पहिलो वर्षमै आम्दानी गरेपछि उत्साहित हुँदै जग्गा भाडामा लिई तरकारीखेतीलाई विस्तार गरेका छन् ।

भूमि सुधार कार्यालयले पुनःस्थापन हुँदा उपलब्ध गराएको ५ कट्ठा जग्गासहित १० कट्ठा थप वार्षिक रु. १० हजार तिर्ने गरी भाडामा लिएर तरकारीखेतीलाई उनले विस्तार गरेका छन् । हिउँदमा बन्दागोभी, काउली र गोलभेँडा बेचेर दैनिक रु. २ हजार घरमै बसीबसी आम्दानी हुने र बर्खामा काँक्रा, लौका, तितेकरेला बिक्री गरेर रु. १ हजार ५०० दैनिक कमाइ हुने गरेको छ ।

तरकारी बेचेको रकमले ६ जना परिवारको खर्च कटाएर वार्षिकरुपमा रु. २ लाख बैंकमा बचत गर्दै आएको उनले बताए । बैंकमा बचत भएको रकम परिचालन गरी पक्की घर निर्माण गर्ने सोच उनले बनाएका छन् । तरकारीखेतीमा संलग्न चौधरी बस्तीमै सबैभन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनिन्छन् । बस्तीका प्रायः सबैले तरकारीखेती गर्दै आएका छन् । 

(Visited 143 times, 1 visits today)

टिप्पणी

comments