Main Menu

महाकालीमा चारलेनको पुल निर्माणकोे तयारी

mahakali-four-lane-bridge-constructionभदौ १३, भीमदत्तनगर । कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणका लागि शिलान्यासको तयारी गरिएको छ ।

८ सय मिटर लम्बाइ रहेको उक्त पुलको आगामी बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।

यसका लागि पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले पुल निर्माणस्थल भीमदत्तनगरपालिका–१२ ओदालीसित महाकाली नदी किनारमा आवश्यक तयारी गरेको छ । महाकाली पुल योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले पुलको शिलान्यासका लागि प्रधानमन्त्री भीमदत्तनगर आउने कार्यक्रम तय भइसकेको जानकारी दिए ।

प्रधानमन्त्री देउवासँगै पुल शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री, यातायात राज्यमन्त्री, मन्त्रालयका सचिव, विभागीय प्रमुखलगायतको सहभागिता रहने कार्यक्रम रहेको महाकाली पुल योजना कार्यालयले जनाएको छ ।

पुल निर्माणका लागि रकमको कुनै समस्या नहुने र पुल निर्माणका लागि निर्माण कम्पनीसित ठेक्का सम्झौता भइसकेकाले अब काम तत्काल अगाडि बढ्ने  पन्तले बताए ।

सरकारले पुल निर्माणका लागि चालु आवमा रु. ९९ करोड ६५ लाख रकम विनियोजन गरेको छ जसमध्ये रु. १० करोड रकम पुलसँगै निर्माण हुने सडकका लागि जमिन मुआब्जामा खर्च गरिने भएको छ । रु. ३ अर्ब २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएको छ र निर्माण अवधि ३ वर्ष तोकिएको छ ।

पुल निर्माणस्थल ओदालीदेखि उत्तरतर्फ गड्डाचौकीसम्म  ४ लेनको ७ किलोमिटर सडकसमेत निर्माण हुनेछ भने पुल छेउछाउमा मजबुत तटबन्धसमेत निर्माण गरिनेछ । पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले पनि निर्माणका लागि आवश्यक सुरुवाती काम थालिसकेको छ ।

कुमार श्रेष्ठ निर्माण सेवाका प्रबन्ध निर्देशक प्रेमकुमार श्रेष्ठ (पिके श्रेष्ठ) ले पुल निर्माणका लागि महाकाली नदी छेउमा क्याम्प स्थापना गर्नुका साथै विभिन्न मेसिनसमेत जडान गरिरहेको जानकारी दिए ।

पुलको काम दिनरात गरेर द्रुतगतिमा अगाडि बढ्ने, निर्माण संबद्ध पक्षबाट कुनै खालको समस्या नआउने उनले बताए । स्क्रीनिङ प्लान्टलगायतका विभिन्न संरचना स्थापना गर्ने काम जारी रहेको पनि निर्माण कम्पनीले जनाएको छ । दशैँलगत्तै पुलको काम द्रुतगतिमा अगाडि बढ्ने र अहिले शिलान्याससँगै अन्य काम हुने श्रेष्ठले बताए । गत चैत महिनामा पुल योजनाको कार्यालय महेन्द्रनगरमा स्थापना भएको थियो ।

त्यसैगरी, पुल निर्माणको सुरसार भएसँगै महाकाली किनार क्षेत्रका बस्तीमा भने खुसीयाली छाएको छ । पुलसँगै सडक र तटबन्ध निर्माण हुने खबरले स्थानीयवासी हर्षित छन् ।

अब त पुल बनेपछि आवागमन सहज हुनुका साथै यहाँको आर्थिक विकासमा समेत टेवा पुग्ने भन्दै स्थानीयवासी हर्षित छन् । सडक सञ्जाल विस्तार हुने जमिनमा ऐलानी बसोबास रहेकाले सोको व्यवस्थापनका लागि सघन छलफल गरिरहेको  पुल निर्माणस्थल भीमदत्तनगरपालिका–१२ का वडाध्यक्ष कृष्ण देउवाले बताए ।

उनले सडक विस्तारका क्रममा ऐलानीमा दशकौँदेखि बस्दै आएका स्थानीयलाई घरबास व्यवस्थापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासित पनि गुहार माग्ने योजना बनिरहेको सुनाय ।

त्यसैगरी, सँगै जोडिएका भीमदत्तनगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले पुल निर्माणले सुदूरपश्चिमकै आर्थिक विकासमा सहयोग पुग्नेमा आशावादी रहेको बताए ।

स्थानीयवासी पनि पुल बने किनारमा व्यापार/व्यवसाय फष्टाउने भयो भनेर खुशी भएको र यो पुल बनि पश्चिमकै ठूलो आर्थिक नाकाका रुपमा विकास भए त्यो बस्ती त्यसै विकसित हुने वडाध्यक्षले बताए ।

(Visited 145 times, 1 visits today)

टिप्पणी

comments