Main Menu

सहकारीले ग्रामीण भेगका जनताको जीवनस्तर उकास्दै

cooperative-increasing-living-standard-localsभदौ २०, रामपुर (पाल्पा) । ग्रामीण भेगका जनताको जीवनस्तर उकास्ने गतिलो माध्यम  बनेको छ सहकारी। गाउँगाउँमा पछिल्लो समय सहकारी स्थापना भएसँगै आर्थिक कारोबार गर्न सजिलो भएको छ ।

कृषि सहकारी, महिला सहकारी, बचत तथा ऋण सहकारीबाट ऋण झिकेर आयआर्जनमूलक व्यवसायमा लगानी गरेर अहिले मनग्य आम्दानी बढाउँदै गएका छन् । बिना धितो सहकारीले व्यवसाय गर्न चाहनेका लागि ऋण लगानी गरिदिन थालेपछि ग्रामीण बस्तीका जनताको जीवनस्तर उकासिँदै गएको हो ।

व्यवसायका लागि बिना झण्झट सहकारीले तत्कालै ऋण उपलब्ध गराएपछि हिजोआज विभिन्न व्यापार, व्यवसाय, उद्योग सञ्चालन गर्नेको संख्या बढ्दै गएको ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक चिरञ्जीवी सिग्देल बताउछन् । होटल, फेन्सी पसल, किराना पसल, सिलाइकटाइ, ब्युटीपार्लर, कृषिफार्म, कुखुराफार्म, गाईफार्म, पशुफार्मजस्ता व्यवसाय सञ्चालन गरेपछि उनीहरुको जीवनस्तर नै अहिले एकाएक बदलिएको छ ।

बिना धितो सहकारीले व्यवसायमा ऋण दिएपछि रामपुरका बलबहादुर रानाले च्याउखेती र बाख्रापालन गरिरहेका छन् । करिब ३ वर्ष विदेशमा पसिना बगाएर घर फर्कनुभएका रानालाई सहकारीले व्यवसायमा ऋण लगानी गरिदिएपछि उनि च्याउखेती र बाख्रापालनमा लागेका हुन् । रानाले एउटा याममा रु. ४ लाख बराबर तथा बाख्रापालनबाट १ वर्षमा रु. ३ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

त्यस्तै टकादेवी भट्टराईले पनि सहकारीबाटै ऋण लिएर तरकारी, कुखुरापालन व्यवसाय र कस्मेटिक्स पसल चलाउँदै आएका छन् । दुई चार पैसाका निम्ति सधैँ श्रीमान्को भरमा जीवन जिउनुको सट्टा आफैँ उद्यमी बन्ने सोच राखेर सहकारीबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेको उनले बताइन ।

सहकारीबाट ऋण झिकेर व्यवसाय गर्दा शुरुमा डुबिन्छ कि जस्तो लागेको थियो, व्यवसाय चलाउँदै जाँदा झण्डै आठ रोपनी जग्गामा तरकारी लगाएर एउटा याममै रु. २ लाखदेखि रु. ३ लाखसम्म आम्दानी भएपछि व्यवसाय बढाएको उनले बताइन्।

जिल्लामा आव २०७३/७४ मा २९१ वटा सहकारी दर्ता भएका छन् । बचत तथा ऋण सहकारी ९०, दुग्ध सहकारी १९, बहुउद्देश्यीय सहकारी ३४, कृषि सहकारी १०५, अदुवा सहकारी नौ, कफी १२, सामाजिक उद्यमी १४, विद्युत् दुई, सञ्चार, जडीबुटी र मौरी एक/एक, कोसेली घर र बिउबिजन एक/एक, स्वास्थ्य सहकारी एउटा रहेको सहकारी डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर बोहोराले जानकारी दिए ।

अघिल्लो वर्षको तुलनामा २२ वटा सहकारी दर्ता भएका छन् । २०७२/७३ मा २७१ वटा सहकारी सञ्चालनमा रहेका थिए । जिल्लामा हाल सञ्चालनमा रहेका सहकारीमा आबद्ध शेयर सदस्य पुरुषभन्दा महिला बढी छन् । सहकारीमा ५३ हजार ६०५ महिला र ३३ हजार ८०० पुरुष आवद्ध छन् । यीमध्ये केही सहकारीले रु. ६० करोडभन्दा बढीको कारोबार गर्न सफल भएका छन् ।

एघार लाख किलो तेजपात उत्पादन

जिल्लाबाट आव २०७३/७४ मा ११ लाख ३ हजार १८ किलो तेजपात उत्पादन भएको छ । २ लाख १४ हजार ९४२ किलो तेजपातको बोक्रा उत्पादन भएको जिल्ला वन अधिकृत दधिलाल कँडेलले जानकारी दिए ।

आव २०७२/७३ मा नौ लाख ९३ हजार ७११ किलो तेजपात तथा १ लाख ८८ हजार १२४ किलो तेजपातको बोक्रा उत्पादन भएको थियो । यहाँ उत्पादन भएको तेजपात भारतमा निकासी हुँदै आइरहेको छ । व्यावसायिक रुपमा तेजपात खेती गरेर यहाँका कृषकको जीवनस्तर उठ्दै गएको छ ।

एकजना कृषकले कम्तीमा १० रोपनीभन्दा बढी जग्गामा व्यावसायिक रुपमा तेजपात खेती गर्ने गरेको पाइएको छ । जिल्ला वन कार्यालयले कबुलियती र सामुदायिक वनमा आबद्ध कृषकलाई वनको सिफारिसअनुसार आवश्यक मात्रामा वन कार्यालयको नर्सरीमा उत्पादित तेजपातका बिरुवा निःशुल्क वितरण गर्न थालेपछि कृषकको तेजपाततर्फ आकर्षण बढेको हो । कोलडाँडा, सत्यवती, दोभान, छहरा, बल्डेङगढी, मित्याल, झडेवा, रहवासलगायतका स्थानमा व्यावसायिक रुपमा तेजपात खेती गरिँदै आएको छ ।

घरेलु उद्योगबाट ७४ लाख राजश्व

घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा रु. ७४ लाख ५३ हजार राजस्व संकलन गरेको छ ।

उद्योग दर्ता तथा नवीकरणबाट रु. २२ लाख ४२ हजार, वाणिज्यबाट रु. ४१ लाख ४० हजार, पसल भाडाबापत रु. १० लाख २६ हजार र अन्य जरिवाना तथा बिक्रीबाट रु. ४५ हजार राजस्व संकलन भएको कार्यालय प्रमुख बालकृष्ण गैह्रेले जानकारी दिए ।

यस आवमा व्यापार, व्यवसाय, उद्योग दर्ता नवीकरण गरेकाले अघिल्लो आवको तुलनामा राजस्व संकलनमा वृद्धि आएको उनले बताए । आव २०७२/७३ मा रु. ४५ लाख २० हजार राजस्व संकलन भएको थियो । उद्योगतर्फ रु. १७ लाख ९२ हजार, वाणिज्यतर्फ रु. १८ लाख ७३ हजार र पसल भाडाबापत रु. आठ लाख ५५ हजार राजस्व संकलन भएको थियो । 

(Visited 127 times, 1 visits today)

टिप्पणी

comments