Main Menu

शोक–गीत – कात्यायनीको कविता

शोक–गीत

– कात्यायनी

——————-

कात्यायनी

कात्यायनी

बस्, यस्तै यस्तैमा बितिगयो
एक बारको जिन्दगी !

न लेख्न सकियो कुनै महान् काव्य
न हुन सकियो पाठकको आँखाको नानी
न पाउन सकियो वरिष्ठ समालोचकको लाडप्यार
आफ्नो त
बस्, यस्तै यस्तैमा बितिगयो
सारा जिन्दगी !

माया गरियो एक सामान्य मान्छेले जस्तै
भातभान्सा जुटाइयो
तिहुन–तरकारी किनमेल गरियो
पूरै जिम्मेवारीपूर्वक
सम्पूर्ण आक्रोशहरूसहित
सहभागी भइयो महँगीविरुद्धका जुलुसहरूमा
कर्तव्य सम्झेर पुगियो मजदुर–हडतालहरूमा

बनाउन सकिएन
एक शान्त र आरामदायी अध्ययन कक्ष
जब एक उत्कृष्ट कविता
लेख्नुपर्ने समय थियो
त्यो विशेष मौकामा पनि
लेख्दै हिंडियो पर्खालभरि नाराहरू
जब लेख्नुपर्ने थियो
आफ्नो समयको सबैभन्दा चर्चित आख्यान
लेख्दै हिँडियो हडतालसम्बन्धी पर्चा ।

बस्, सामान्य नै रहियो अन्त्यसम्म
र त भइयो यस्तै असफल
आफ्ना सबै विलक्षण बुद्धि–बर्कतहरू
मानवताको सेवामा सुम्पियो
र, हुन सकिएन महान् ।

अब लेख्ने छैन
कुनै गन्यमान्य कविले
एउटा शोक–गीत
मेरो मृत्युपछि
बस्, यस्तै हुनेछ
एउटा कठिन
जीवन कथाको
सुखान्त !

———————

अनु : सङ्गीत श्रोता


कात्यायनी समकालीन प्रगतिशील हिन्दी कविताका क्षेत्रमा एक नेतृत्वदायी नाम हो । उनका हिन्दीमा ‘इस पौरुषपूर्ण समय में’, ‘जादू नहीँ कविता’, ‘फुटपाथ पर कुर्सी’, ‘राख–अँधेरे की बारिश मेँ’लगायत कविता संग्रह पाठकहरुद्वारा रुचाइएका पुस्तक हुन् । सामाजिक–सांस्कृतिक विषयमा माक्र्सवादी कोणबाट निरन्तर लेखिरहेकी कात्यायनीले वामधाराका ‘सृजन परिप्रेक्ष्य’, ‘दिशा सन्धान’ लगायतका जर्नलहरुको सम्पादन पनि गरेकी छिन् ।

(Visited 2,413 times, 1 visits today)

टिप्पणी

comments