Main Menu

बिहान पर्खनेहरु नै जब रात भइदिन्छन्

shanibar-sahitya-poem-1

पूर्ण वैद्य

  • पूर्ण वैद्य

बिहान पर्खनेहरु नै

जब रात भइदिन्छन्
मेरो क्षितिजको के लाग्छ !
यद्यपि, आँखा भन्नु नै प्रकाशको साक्षी हो

बारीमा पहरा दिने बारहरुले नै

जब काँक्रो चोरी सिध्याउँछन् त
मेरो श्रमको के लाग्छ !
मैले रोप्नुको अर्थ के रहन्छ !
थद्यपि, रोप्नु भन्नु नै भविष्य उमार्नु हो

भित्तामा लेखिएको मयूरले नै

जब सँगै झुण्ड्याएको हीराको हार
एकाएक निकालिदिन्छ
यस अवस्थामा मेरो विश्वासको के लाग्छ !
मेरो अभिव्यक्तिको के अर्थ रहन्छ !
यद्यपि, अभिव्यक्ति भन्नु नै अन्तरसत्यको प्रकाशन हो ।

यसरी बोल्ने समय पर्खंदा पर्खंदै
सान्त्वनाको निहुँमा मात्र अड्केको जिन्दगीमा
मौनताका शून्यहरु तह तह जमेर
जब बोल्ने मुखहरु नै ढुङ्गा भइदिन्छन्
कुटिल द्रोणाचार्यहरुसामु
मुख खसेका युधिष्ठिरहरुका बाहिरा कानहरुभित्र
मेरो चिच्याहटको के लाग्छ !
मेरा मर्मान्त–सत्यहरुको के अर्थ रहन्छ !

यसरी, सबै अर्थ सम्हालेर पनि

अर्थहीन बन्छु म – कयौँचोटि
सराप र आशीर्वादको अर्थ खोज्दा खोज्दै
पागलझैं हिँडेको राजा मिडास हुँ म अहिले
सम्पूर्ण सराप–मुक्तिका लागि
विशुद्ध एक गाग्री पानीका लागि
र यहाँका प्रत्येक वस्तुको सही अर्थका लागि
प्रत्येक पाइलाको सही प्रयोगका लागि ।

(Visited 157 times, 1 visits today)

टिप्पणी

comments