Main Menu

अखिल (क्रान्तिकारी) १४ क्याम्पसका स्ववियुमा विजयी

फागुन १४, काठमाडौँ । आज देशका विभिन्न क्याम्पसहरुमा भएका स्ववियू निर्वाचनमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) १४ क्याम्पसमा विजयी भएको छ ।

सानोश्री, बर्दियाको गुराँस बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा अखिल (क्रान्तिकारी)का धनसरा ढकाल विजयी भएका छन् । त्यस्तै, पुर्कोटदह, गुल्मीको जनज्योति क्याम्पसमा पन अखिल (क्रान्तिकारी)कै सृजना घिमिरे विजयी भएकी छिन् ।

त्यस्तै, नन्दादेवी बहुमुखी क्याम्पस, कालिकोटमा लक्ष्मण बुढा र कालिकोटकै जनचेतना बहुमुखी क्याम्पसमा अमस बम अध्यक्षमा निर्वाचित भएको अखिल (क्रान्तिकारी)का केन्द्रिय वरिष्ठ उपाध्यक्ष मदन अर्यालले मूल्याङ्कन अनलाइनसँगको कुराकानीमा बताएका छन् ।

अन्य १० स्थानमा भने अखिल (क्रान्तिकारी) निर्विरोध विजयी भएका छन् ।

यसैबीच, उपत्यकालगायत मुलुकका विभिन्न क्याम्पसहरुमा गरिएको तालाबन्दीका घटनाहरुप्रति अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले गम्भीर आपत्ति प्रकट गरेको छ ।

आगामी फागुन १८ गते हुने स्ववियू निर्वाचनको उम्मेदवार मनोनयन–पत्र दाखिला गर्ने दिन निर्वाचन प्रक्रिया अवरुद्ध गर्ने मनसायले प्रेरित रही विभिन्न बहानामा क्याम्पसहरुमा तालाबन्दी गरिएको हुनाले अखिल (क्रान्तिकारी)ले आज प्रकाशित गरेको एक प्रेस विज्ञप्तिमा आफ्नो आपत्ति प्रकट गरेको हो ।

विज्ञप्तिमा अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले विगत ८ वर्षदेखि हुन नसकिरहेको निर्वाचनलाई जुनसुकै हालतमा पनि निर्धारित मितिमै सम्पन्न गर्न अखिल (क्रान्तिकारी) लागिपरेको उल्लेख गर्दै आज निर्वाचनको निकै महत्वपूर्ण दिनमा अप्रत्याशित रुपमा बिहानैदेखि विभिन्न क्याम्पसहरुमा गरिएको तालाबन्दीले समग्र निर्वाचन प्रक्रियालाई धरापमा पार्ने काम भएको बताएका छन् ।

‘निर्वाचनको मुखमा आएर चालिएको यस्तो अलोकतान्त्रिक कदमप्रति घोर निन्दा र भत्सर्ना गर्दछौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।
साथै, निर्वाचन प्रक्रियाका क्रममा देखिएका सम्पूर्ण व्यवधानहरुलाई हटाएर निर्धारित मितिमै स्ववियु निर्वाचन सम्पन्न गर्न पनि अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसमक्ष जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

अखिल (क्रान्तिकारी)ले जितेका क्याम्पसहरू

क्याम्पसको नाम जिल्ला विजेता अध्यक्षको नाम कैफियत
गुराँस बहुमुखी क्याम्पस, सानोश्री बर्दिया धनसरा ढकाल विजयी
त्रिपुरा क्याम्पस, नाम्दु दोलखा शालिकराम उप्रेती निर्विरोध
जनज्योति क्याम्पस, पुर्कोटदह गुल्मी सृजना घिमिरे विजयी
बनगाड क्याम्पस, बनगाड सल्यान इन्द्रबहादुर बुढाथोकी निर्विरोध
फारुला बहुमुखी क्याम्पस, फारुला सल्यान रामप्रसाद शर्मा निर्विरोध
शिवजन क्याम्पस, सित्तलपाटी सल्यान हरिप्रकाश वली निर्विरोध
लटिनाथ बहुमुखी क्याम्पस, मार्मा दार्चुला नरबहादुर विष्ट निर्विरोध
गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुलेश्वर दार्चुला भुवन भण्डारी निर्विरोध
सिमृतु शिक्षा क्याम्पस, रुघा रुकुम जीवन पुन मगर निर्विरोध
सानोभेरी शिक्षा क्याम्पस, सिम्ली रुकुम राम ब. विष्ट निर्विरोध
स्यार्पु ब. क्याम्पस, बाफिकोट रुकुम नवराज के.सी. निर्विरोध
सिस्ने शिक्षा क्याम्पस, रुकुमकोट रुकुम श्रीकुमार बुढाथोकी निर्विरोध
(Visited 1,043 times, 1 visits today)

टिप्पणी

comments