Main Menu

‘राष्ट्रपतिको भारत भ्रमणको तयारी पूरा’

president-india-visit-preparationवैशाख ३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि सुरु हुने मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपालको संविधान जारी भएपछि निर्वाचित भएकी राष्ट्रपति भण्डारीको यो पहिलो राजकीय विदेश भ्रमण हो । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी पाँचदिने राजकीय भ्रमणमा त्यसतर्फ जान लागेकी हुन् । राष्ट्रपति भण्डारी सोमबार बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको भ्रमणमा सवारीमन्त्रीका रुपमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीलगायतको सहभागिता रहने पराराष्ट्र मन्त्रालयले जनाएको छ । आज राष्ट्रपति कार्यालयमा राष्ट्रपति भण्डारीको उपस्थितिमा भ्रमण दलका सदस्यलाई भ्रमणको औपचारिक जानकारी गराइएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण निकट छिमेकी देश भारतबाट हुन लागेकाले यसलाई गौरवमय बनाइने विचार व्यक्त गरिन् । उनले भ्रमणले नेपाल–भारतको सम्बन्ध नयाँ उचाइमा पुर्याउने गरी सबैले भ्रमणलाई सफल पार्न ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सो अवसरमा परराष्ट्रमन्त्री डा. महतले राष्ट्रपतिको राजकीय भ्रमण देशको प्रतिष्ठासँग जोडिने भएकाले सबैले भ्रमण सफल पार्ने गरी प्रस्तुत हुने विश्वास दिलाए । कार्यक्रममा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक भट्टराइले भ्रमणको तयारीका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै, मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमण स्वीकृत गर्नुका साथै सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

(Visited 89 times, 1 visits today)

टिप्पणी

comments