Main Menu

उष्माको एक बिहान

  • गोविन्द वर्तमान

govinda-bartaman-story-saturdayआज धेरै उज्यालो भयो । सानी उष्मा ओछ्यानबाट उठेर झ्यालतिर गई । झ्यालबाहिर आज धेरै उज्यालो देखियो । उष्माले झ्यालको डण्डी समाती र बाहिरतिर हेरिरही । सडक देखियो । सडकमा मोटरहरु गुडेका देखिए । उष्मालाई रमाइलो लाग्यो । हिजो अस्ति एत्तिको रमाइलो थिएन । टम्म कुहिरो लाग्थ्यो । झ्यालबाहिर सेतो सेतो धुवाँजस्तो मात्र देखिन्थ्यो । त्यो सेतो धुवाँ चीसो चीसो हुन्थ्यो । उष्मालाई जाडो हुन्थ्यो । उष्माकी आमाले सानी उष्मालाई पेटेभोटोमाथि बाहुले भोटो लगाइदिनु हुन्थ्यो । तैपनि उष्मालाई जाडो हुन्थ्यो । उष्माकी आमाले सानी उष्मालाई बाहुले भोटोमाथि स्वीटर पनि लगाइदिनु हुन्थ्यो । तर आज उष्मालाई आज जाडो भएन । बाहुले भोटोमात्र लगाएकी उष्मा झ्यालमा गएकी छ । अनि झ्यालको डण्डी समातेर बाहिर हेरिरहेकी छ । आज सेतो धुवाँ छैन । सेतो धुवाँले सडक छोपेको पनि छैन । सडक देखिएको छ र सडकमा मोटरहरु गुडेका देखिँदैछन् । अरु दिनभन्दा आज धेरै उज्यालो भएको छ । त्यसैले उष्मालाई रमाइलो लागेको छ । ऊ बाहिरतिर हेरिरहेकी छ ।

उष्माकी आमा कोठामा आउनुभयो । आउनेवित्तिकै आमाले सोध्नुभयो – “झ्यालबाट के हेरेकी छोरी ?”

“आमा ! हेर्नुस् न आज कति रमाइलो हगि ?”

“के रमाइलो भो छोरी ?”

“आज सेतो र चीसो धुवाँ छैन, अनि रमाइलो भो !”

“कुहिरो नलागेर रमाइलो भो ?”

“हो आमा, आज त ऊ त्याँ मोटर दगुरेको पनि देखिन्छ ।”

“ल, भैगो, आऊ अब म स्वीटर लगाइदिन्छु ।” आमाले भन्नुभयो । तर उष्मा आमातिर फर्केकी छैन । अब ऊ झ्यालबाट आकाशतिर हेर्दैछ । आकाश नीलो छ । उष्माले स्कूल जाँदा लाउने लुगाजस्तै सफा छ । नीलो र सफा आकाशमा चराहरु उडेका छन् ।

“आमा ! आमा ! त्यो के हो ?” आकाशतिर देखाएर उष्माले सोधी । आमाले आकाशतिर हेर्नुभयो । अनि उष्मातिर फर्केर भन्नुभयो – “काक् काक् हो छोरी ! .. ल स्वीटर लाउन आऊ”

“नाईं म स्वीटर लाउँदिन !” उष्माले भनी ।

“किन नलाउने ?” आमाले सोध्नुभयो ।

“आज जाडो छैन !” उष्माले आमातिर फर्केर भनी ।

त्यसैबेला घाम लाग्यो । पहिला झ्यालबाहिर सडकमा घाम लागेको देखियो । त्यसपछि घामको एउटा धर्सो उष्माको झ्यालबाट पनि कोठाभित्र पस्यो ।

“आऊ म स्वीटर लाइदिन्छु !” आमाले फेरि भन्नुभयो । हातमा स्वीटर लिएर उष्माको नजिकै जानुभयो ।

“ई आमा आज त घाम पनि लागिसक्यो; हाम्रो कोठामा पनि आयो घाम । आज जाडो छैन । आज स्वीटर लाउँदिन है आमा ?” उष्माले विन्ति गरेझैं आमालाई भनी । ‘ल भैगो त भैगो’ भन्दै आमा कोठाबाट जानुभयो र उष्मा कोठामा आइपुगेको घामको धर्सोमा औंला राखेर खेल्न थाली ।

उष्माले हातको औंलाहरु जोडेर घामको धर्सोलाई छेक्न खोजी । औंलाका कापहरु राता देखिए । उष्मालाई मजा आयो । उसले अर्को हातको पनि औंला जोडेर घामको धर्सोलाई छेक्न खोजी । फेरि औंलाका कापहरु राता भए । उष्मालाई फेरि मजा भयो ।

“छोरी बुबु खान आऊ !” आमाले भान्साबाट उष्मालाई डाक्नुभयो ।

“नाईं, आफ्लाई कति मजा भइर’छ” उष्माले कराएरै जवाफ दिई । आज उष्मालाई त्यस्सै रमाइलो भयो ।

उष्माले हेर्दाहेर्दै कोठामा आइपुगेको घाम हरायो । उसले कोठाभरि खोजी तर त्यो घाम भेटिएन । उष्मालाई अलिकति नरमाइलो लाग्यो । आज घामसँग खेल्ने भनेर उष्मा कोठाबाट बाहिर गई । आँगनमा निस्किई । आँगनमा आमा हुनुहुन्थ्यो । आमाले एउटा हातले ढकी समात्नुभएको थियो । उष्मा आमाको नजिकै गई ।

“आमाको ढकी कति राम्रो !” उष्माले हाँसेर भनी । आँगनको पर्खाल नजिकै जाइको बोट थियो । जाइको बोटमा फूलहरु फुलेका थिए । आमाले जाइका पहेंला फूलहरु टिपेर ढकीमा हालिरहनुभएको थियो ।

“ढकी राम्रो कि फूल राम्रो ?” आमाले सोध्नुभयो ।

“ढकी पनि राम्रो, फूल पनि राम्रो !” उष्माले ढकमक्क फुलेका फूलहरुतिर हेरेर भनी । आमा विस्तारै हाँस्नुभयो । देव्रे हातले ढकी समातेर दाहिने हातले फूल टिपिरहनुभएको आमालाई उष्माले नजिकै उभिएर हेरिरहेकी थिई ।

“तिमी किन बाहिर आएकी छोरी ?” आमाले एकछिनपछि सोध्नुभयो ।

“घाम खोज्न आएकी” उष्माले ठुस्किएर भनी !

“के रे ?” आमाले फूल टिप्तै सोध्नुभयो ।

“कोठाको घाम हरायो आमा !” अँध्यारो मुख लाएर उष्माले भनी ।

“उः त्यहाँ बस न त ।” नजिकैको घामतिर देखाएर आमाले भन्नुभयो । उष्मा घाम लागेको बरण्डामा गएर थ्याच्च बसी ।

फेरि आमाले भन्नुभयो – “छोरी तिम्ले बुबु किन नखाएकी ?”

“अब खान्छु ।”

उष्माले विस्तारै भनी । आमाको हातको ढकीमा जाइको फूल भरियो । आमा फूलको ढकी लिएर भित्र जानुभयो । उष्मा आमाको पछि पछि घरभित्र गई । आमाले सानो गिलाँसमा दूध दिनुभयो । उष्माले गिलाँस समाती र आफ्नो कोठामा गएर बुबु खान थाली ।

एकछिनपछि घण्टको आवाज सुनियो– टिङ रिङ टिङ्रिङ्, टिङरिङ ! आमा पूजाकोठामा पूजा गर्दै हुनुहुन्थ्यो । उष्माले बुबु खाइ सकी; अनि ऊ पूजाकोठातिर हिँडी ।

“आमा म पनि घण्ट बजाउँछु !” उष्माले भनी । आमाले सानो घण्ट उष्माको हातमा दिनुभयो । उष्माले घण्ट बजाई – टिङ्रिङ् टिङ्रिङ् टिङरिङ ।

आज शनिवार हो । त्यसैले आज उष्मालाई हतार छैन । झलमल्ल घाम लागेकोले उष्मालाई रमाइलो लागिरहेको छ । आज स्कूल जानु पर्दैन, त्यसले पनि उष्मालाई रमाइलो लागिरहेको छ । बा तरकारी किन्न बजार जानुभएको छ । आज बालाई पनि अफिस जानुपर्दैन । आज उष्मा दिउँसभरि आमा र बासित घरमा बस्छे; त्यसले गर्दा पनि उष्मालाई मनमनै रमाइलो लागिरहेको छ । उष्माले घण्ट बजाइसकेपछि आमालाई भनी – “आज कति रमाइलो हगि आमा !” आमाले जवाफ दिनुभएन । उष्मालाई फेरि नरमाइलो लाग्यो । आमाले उष्माको निधारमा रातो टीका लगाइदिनुभयो र हातमा नैवेद राखिदिनुभयो – “ल लाउ !”

आजको नैवेद नरिवल रहेछ । नरिवलको टुक्रा हातमा लिएर उष्मा मुसुक्क हाँसी । नैवेदको नरिवल मुखमा हाली र फेरि दंग परी । उष्मालाई नरिवल धेरै मनपर्छ । नैवेद हातमा लिएपछि उष्मालाई फेरि रमाइलो भयो । नरिवल चपाउँदै उष्मा पूजाकोठाबाट बाहिर निस्किई ।

 

(Visited 276 times, 1 visits today)

टिप्पणी

comments