Main Menu

लेकफूल भीरफूल

  • राजव

rajav-story-saturday-literatureउसको र मेरो भेट स्याउले देउरालीमा भयो । पुरै डेढ घण्टाको उकालो उक्लिएपछि यो देउराली देख्न पाइएको हो । यहाँ उसले मलाई आउँदै गरेको देख्नेबित्तिकै ऊ मुस्कायो । मैले पनि त्यस्तै औपचारिक मुस्कान फिर्ता गरें । ऊ देउरालीको चौतारोमा मभन्दा अगाडि बस्न पुगेको थियो । म पनि थकाइ मार्न ऊ नजिक नजिकै बसें । ऊ पनि मझैं पसिनाम्ये भएको छ । र, उकालोभरि फुलेको सास फाल्दै र लिँदैछ ।

ऊ प्याङ गाउँसम्मको ट्रेकिंगमा अन्य अमेरिकन पर्यटकसँग आएको रहेछ । उसका अन्य साथी अगाडि बढिसकेछन् । ऊ भने तिनको तालमा हिंड्न नसकेर सुस्त-सुस्त उक्लँदै रहेछ । मैले उसलाई सोधें – “अनि तपाईं तीबाट छलिनु हुन्न त ?”

उसले भन्यो – “हैन ती मलाई माथि नै कुर्नेछन् !”

“कत्ति जना छन् ?”

“एघारजना, तीसँगै तीनजना नेपाली भरिया पनि छन् ।”

ऊ लगभग पचास वर्षको भयो होला भन्ने अन्दाज म उसको गाला, आँखा र निदार हेर्दै गर्दैछु । उसको चिउँडोमा तीन-चार दिनअगाडिदेखिका दारीका ठोसा छन् । तीमध्ये केही फुलेका ठोसा छन् । उसको गालाभरिमा सिर्फ चिउँडोमा मात्र दारी रहेछ । किनभने उसको गालाको अन्यत्र मैले दारी खोजेर पनि पाइनँ । उसको सिरका कइला कपाल पनि केही फुल्न थालेका रहेछन् । मोटो र पाँच फिट एघार इन्चको मान्छे छ ऊ । आफू नजिक उसले पछाडि ढाडमा बोक्ने झोला बिसाएको छ ।

ऊ चौतारोबाट निकै रमाइलो मानेर टाढा-टाढाका हरिया डाँडाहरु हेर्दैछ । ती हरिया डाँडाहरु पारी हिमचुचुराहरु पनि देखिएका छन् । त्यतातिर हेरेर ऊ ‘आश्चर्य … आश्चर्य.. !’ भनेर बरबराउँदैछ ।

वास्तवमा म यतै पहाडको व्यक्ति भए पनि मलाई यहाँबाट देखिने प्राकृतिक रमाइलो सधैं अनौठो र नयाँ लाग्छ । निकै तल र पर फाँटमा स्याउलीमती खोला छ । घामले त्यसको गतिमान पानीलाई टल.. टल.. टल्काइरहेछ । र, त्यो सप्तरंगी टलकलाई ऊ निर्मिमेष हेरिरहेछ । हल्का चिसो हावा उसलाई पनि मीठो लागिरहेछ क्यार । यसलाई अझ राम्रोसँग भोग्न उसले आफ्नू कमिज पनि खोल्यो । उसका छातीका गन्न सकिने केही लामा रौं हावामा फुर्र.. फुर्र.. गर्न थाले । मैले पनि आफ्नो कमिजका पाँचमध्ये चार टाँख खोलेको छु । तर, मेरो छातीमा त्यसरी फुर्र… फुर्र.. गर्ने रौं छैनन् । त्यसकारण म पसिनाले ढाडिएको मयल माड्दैछु । ऊ पहाडी प्रकृतिको समग्र वयस्क रुपतिर आँखा लगाइरहेछ । आफ्नू पहाड र यसको वातावरणमा ऊ आल्हादित भएकोमा म गर्वले अत्यन्त संवेदित भएको छु । यस्तो बेलामा मेरो आँखा रसाउने गर्छ । त्यसकारण म आफ्नू आँखाको रस उसले देख्न नपाओस् भन्ने कोशिसमा छु । तर, उसले मेरो अनुहार हेर्न खोज्दै सोध्यो –  “हामी कत्ति हजार फिटमाथि छौं ?”

जानिफकारझैं मैले भनें – “हौलाउँ दश हजार फिट माथि ।”

“हो ! .. ?” – आश्चर्य व्यक्त गर्दै उसले सोध्यो ।

मैले थपें – “हो नि !”

“अच्छा !” भन्दै उसले मेरो अनुहार हेरेर निश्चय गर्न खोज्यो ।

मैले फेरि उसलाई भनें –“हो हामी लगभग दश हजार फिटमाथि छौं ।”

उसले फेरि सोध्यो –“ज्याङ गाउँ कत्ति हजार फिटमा छ ?”

“त्यो होला एघार हजार फिटमा ।”

“ गुड !”

मेरो शरीर सेलाइसकेको छ । मैले उसको पनि छाती र अनुहार हेरें । त्यहाँ पसिना सुकिसकेका छन् । मैले उसलाई सोधें –“अमेरिकामा तपाईं के गर्नुहुन्छ ?”

“म प्रोफेसर हुँ, युनिभरसिटीमा पढाउँछु ।”

आफ्नू पहाडमा अमेरिकाको विद्वान प्रोफेसर र ऊसँग मेरो निर्धक्क वार्ता – म आत्मगर्व र ऊप्रतिको श्रद्धाले भरिएँ ।

छ्याङ्ग खुलेको दिन छ । आकाश पुरै नीलो कन्चन देखिन्छ । च्याङलुङ डाँँडाको पछाडिका हिमश्रृङ्खलाहरु पुरै खुलेका छन् । प्रोफेसर पनि यो प्रकृतिको उदात्तताबाट दंग छ । अझ ऊ त यै प्रकृति भोग्न र छुन आएको मान्छे दंग हुने नै भयो । मैले उसलाई श्रद्धानत सोधें –“के पढाउनुहुन्छ ?”

“समाजशास्त्र” –उसले भन्यो ।

मलाई अझ मजा लाग्यो । किनभने यो विषयका पुस्तकहरुसँग पनि मैले पाएसम्मको सम्बन्ध गाँसेको छु । काठमाडौँ जाँदा यसको लागि पुस्तक पसलहरु र पुस्तकालयहरु चाहार्ने गर्छु । विशेषगरी म विश्वप्रशिद्ध समाजविज्ञानीहरुसँग प्रभावित छु । केही नयाँ नेपाली समाजशास्त्रीहरुको विश्लेषण पनि मलाई मन पर्न थालेको छ । यसै सिलसिलामा मैले उसलाई सोधें–“तपाईंले पनि समाजशास्त्रबारे पुस्तक लेख्नुभएको छ कि ?”

उसले भन्यो – “छ !”

“ए … कस्तो विषयको होला ?”

“त्यसको … अर्थात् त्यो पुस्तकको नाम हो – पोलिनेसियन एण्ड माउरी पिपुल … वास्तवमा पिलिनेसियनहरु धेरैजसो न्यूजिल्याण्ड र प्यासफिक क्षेत्रमा छन् । यी मूल रुपमा न्यूजिल्याण्डको पोलिनेसिया प्रायद्वीपका हुन् । यिनलाई विशेषगरी माउरी भनेर चिनिन्छ । यी कैला रंगका हुन्छन् । यस्ता माउरीजस्ता अझ माउरी जनसमुदायसँग ठ्याक्कै मिल्ने मानिसहरु मैले जापानको होकाइडोमा देखेको छु । वास्तवमा मेरो अध्ययनमा ती माउरी नै हुन् । यिनै माउरीहरु जापानका आदिवासी हुन् । अहिलेका जापानीहरु त चीनबाट आएका हुन्, तर जापानीहरु यो कुरा मान्दैनन् । वास्तवमा हाल होकाइडोमा बस्ने होकाइडीयन मेरो अर्थमा माउरीहरु जापानका आदिवासी हुन् । तर अहिले चिनीमूलका बहुसंख्या जापानीहरु यो कुरा मान्दैनन् र ती आफूलाई जापानीमूलकै भन्छन्, तर म मान्दिन…।”

यसरी ऊ आफ्नू पुस्तकबारे सललल बग्यो । वास्तवमा यसपछि म ऊसँग विश्वका प्रशिद्ध समाजशास्त्रीबारे कुरा गर्न खोजिरहेको थिएँ, तर मलाई उछिन्दै उसले मेरो खल्तीमा सिउरिएको कलम र अनुहार हेर्दै सोध्यो –“तपाईं के गर्नुहुन्छ नि ?”

“म मास्टर हुँ ”

“मास्टर !?”

“हजूर, हाइस्कूलका विद्यार्थीहरु पठाउँछु ।”

“काँ ?”

“यैँ पहाडमा”

“के पढाउनुहुन्छ ?”

“अंग्रेजी”

“राम्रो” उसले आफ्नै तरिकामा भन्यो ।

उसको यो भनाइको तरिका मलाई पनि साँच्चिकै राम्रो लाग्यो ।

थकाइ मार्नुभन्दा पनि यहाँबाट देखिने दृश्यले मन भर्न ऊ यहाँ बसेको थियो । त्यसकारण उठ्ने तरखर गर्यो । म पनि ऊसँगै अरु गफ लडाउँदै हिंड्ने विचारले उठें । बाटोमा मैले उसलाई सोधें–“तपाईं नेपाल धेरैपटक आउनुभएछ, त्यस्तै यताको पहाड पनि धेरै उक्लनु भएको रे’छ हैन ?”

“हो ।”

“त्यसकारण तपाईंलाई यहाँको केले बढी आकर्षित गर्यो र तपाईं घरीघरी नेपाल आउने र त्यसमा पनि यस्ता पहाड उक्लिरहने गर्नुहुन्छ ?”

तर, ऊ बोलेन । मौन हिंडिरह्यो । मैले फेरि उसलाई सोधें –“यताको हिमालले आकर्षित गरेर हो कि ?”

तर ऊ उस्तै मौन हिँडिरह्यो ।

मैले फेरि सोधें–“यताको ताल, झर्ना, हरिया पहाड, सूर्योदयको बिहान, गुराँस, लेकफूल, भीरफूल आदि केले तपाईंलाई बढी आकर्षित गरिरहन्छ र तपाईं नेपाल आइरहनुहुन्छ ?”

उसले भन्यो–“हेर्नुस् ती कुरा पनि हुन् … तर यहाँका हिमाली र लेकाली तरुनीहरुको न्यानोचाहिँ बढी हो … वास्तवमा म तिनैसँग बिछ्यौनामा बिताउन पाएको रातको स्मृतिको प्रेरणाले बेलाबेला अमेरिकाबाट यसरी यतातिर तानिइरहन्छु…. ।”

यसपछि उसले अरु केके बर्बरायो मलाई थाहा छैन । किनभने म चिप्लिएर धेरै तल गुल्टिएँ । र, भित्रभित्रै रगताम्मे भएर एउटा काँडे बुट्यानमा अल्झिएँ ।

चित्र : दिपमाला महर्जन

(Visited 213 times, 1 visits today)

टिप्पणी

comments