Main Menu

आज त्रिपक्षीय वार्ता, वार्ता सफल हुनेमा मोर्चा सशंकित

talks-todayमंसिर १४, काठमाडौँ । सरकारले मधेसको समस्या समाधानका लागि छलफल गर्न प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानका लागि सबै पक्षसँग छलफल गर्न सोमबार बिहान ११ बजे त्रिपक्षीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक निर्णायक बनाउने प्रयास हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । तीन ठूला दलले वार्ता निर्णायक बनाउन साझा धारणा बनाउने तयारी गर्दै छन् । पछिल्लोपटक औपचारिक रूपमा २ मंसिरमा सरकार र मधेसी मोर्चाबीच भएको वार्तापछि औपचारिक रूपमा दुई पक्षबीच वार्ता भएको छैन । वार्तामा प्रमुख तीन दलले मधेसका मागहरू सम्बोधन गर्न एउटै धारणा बनाउने प्रतिबद्धता जनाएका थिए ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा गठित सरकारी वार्ताटोलीसमक्ष राखेको ११ बुादे मागबारे प्रमुख दल कांग्रेस, एमाले र एमाओवादीको साझा धारणा आएपछि मात्र बस्ने भन्दै २ मंसिरको बैठकबाट मधेसी मोर्चाका नेताहरू उठेका थिए ।

प्रधानमन्त्री ओलीले मधेस समस्या समाधानबारे साझा धारणा बनाउन भन्दै ६ मंसिरमा सत्तारूढ १६ दल र प्रतिपक्षी कांग्रेसको बैठक बोलाएका थिए । तीन पार्टीबीच अनौपचारिक छलफलमा मोटामोटी रूपमा समावेशी समानुपातिक प्रतिनिधित्व र निर्वाचन क्षेत्रबारे संविधान संशोधनका लागि व्यवस्थापिका संसद्मा पेस भएको विधेयक अगाडि बढाउने, संघीय प्रदेशहरूको सीमांकन फेरबदल नगर्ने, आन्दोलनरत मधेसी मोर्चासहित सामेल रहेको राजनीतिक समिति बनाएर त्यसको सुझाबका आधारमा एक–दुई महिनामा सीमांकन सच्याएर असन्तुष्टि हल गर्ने अवधारणा बनेको थियो ।

मोर्चाले प्रदेशको सीमांकनमा फेरबदल, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समानुपातिक समावेशी प्रतिनिधित्व र नागरिकतासम्बन्धी मागलाई वार्ताको न्यूनतम सर्तका रूपमा लिएको छ । तर, सीमांकनको मुख्य मागमा दुवै पक्ष टसमस नभएपछि एमाओवादी अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सीमांकनको नयाँ प्रस्ताव अघि सारेका थिए ।

प्रचण्डको प्रस्तावअनुसार हालको प्रदेश नम्बर २ अन्तर्गत नवलपरासीदेखि बर्दियासम्मका थारू बहुल बस्ती समेटेर प्रदेश बनाउने, झापा र कञ्चनपुरलाई विवादित जिल्ला घोषणा गरी राजनीतिक समितिमार्फत टुंग्याउने, मोरङ र सुनसरीको जिल्ला सीमा परिवर्तन गरी पहाडी बहुल क्षेत्रलाई पहाडमा, मधेसी बहुल क्षेत्रलाई मधेसमा मिलाउने उल्लेख थियो । तर, यो प्रस्तावमाथि ठोस रूपमा छलफल नै भएन । मंगलबारको बैठकमा सीमांकनको यो विकल्पमाथि पनि छलफल हुने बुझिएको छ ।

बैठकका एजेन्डाबारे मोर्चा अनभिज्ञ

सोमबारको वार्ताबारे प्रधानमन्त्री केपी शर्मा ओलीका पिएले फोन गरेर जानकारी गराए पनि बैठकका एजेन्डाबारे थाहा नभएको मोर्चाका नेता महन्थ ठाकुरले बताए । ‘वार्ताबारे प्रधानमन्त्रीका पिएले जानकारी गराउनुभएको छ । सम्भवत: सामूहिक छलफल मात्रै होला । मोर्चाले राखेका मागको विषय वा नयाँ एजेन्डाबारे जानकारी दिएको छैन,’ उनले भने ।

भारतीय राजदूत सक्रिय

नेपालका लागि भारतीय राजदूत रणजीत रे

नेपालका लागि भारतीय राजदूत रणजीत रे

सोमबारको वार्ता निर्णायक बनाउन दलहरूले तयारी गरिरहेका वेला भारतीय राजदूत रणजित रायले एकाएक सक्रियता बढाएका छन् । रायले आइतबार दिउँसो कांग्रेस सभापति सुशील कोइरालासँग उनकै निवासमा पुगेर भेटवार्ता गरेका थिए ।

अस्वस्थ भएको भन्दै आइतबार बोलाइएको संवैधानिक परिषद्को बैठकमा सहभागी नभएका कोइरालासँग राजदूत रायले तराई–मधेसमा जारी आन्दोलन टुंग्याउन कांग्रेसले नै नेतृत्व लिनुपर्ने बताएका थिए ।

कांग्रेस सभापति कोइरालालाई भेटेपछि रायले आइतबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । भेटमा अघोषित नाकाबन्दी र तराई–मधेस समस्या समाधानबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।

(Visited 171 times, 1 visits today)

टिप्पणी

comments