Main Menu

हतियारसहित पक्राउ एसएसबीका १३ जवान विनासर्त छाडिए

SSB-releasedमंसिर १३, झापा । हतियारसहित नेपाली भूमिमा पसेर स्थानीयवासीलाई दुव्र्यवहार गर्ने भारतीय सीमा सुरक्षा बल एसएसबीका १३ जवानलाई सात घन्टापछि त्यत्तिकै छाडिएको छ । भारतीय पक्षसँगको लामो छलफलपछि झापा प्रशासनले विनासर्त उनीहरूलाई आइतबार दिउँसो छाडेको हो । हतियारसहित आएका उनीहरूलाई सशस्त्र प्रहरी टोलीले झापाको केचनाबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकामध्ये चारजनासँग हतियार थियो ।

बिहान सवा ४ बजे नेपाली भूमिमा प्रवेश गरेका एसएसबीका दुई जवानले स्थानीय एक महिलालाई दुव्र्यवहार गर्न खोजेपछि स्थानीय गाउँले प्रतिकारमा उत्रिएका थिए । लगत्तै सीमा सुरक्षाबलको थप टोली हतियारसहित नेपाली भूमिमा प्रवेश गरेको हो।

‘सुरुमा विनाहतियार दुईजना आएर स्थानीयको घर खानतलासी गरेका रहेछन्,’ घटनास्थलबाट फर्किएका झापाका सहायक प्रमुख जिल्ला अधिकारी डमरुवल्लभ निरौलाले नयाँ पत्रिकासँग भने, ‘घर तलासी भएपछि गाउँले जम्मा भएर उनीहरूलाई घेरा हालेको पाइयो ।’

ज्यादती गरेको भन्दै गाउँलेले नाराबाजी गरेपछि सीमा सुरक्षार्थ परिचालित सशस्त्र प्रहरी बलको टोलीले एसएसबीका १३ जना जवानलाई नियन्त्रणमा लिएको थियो । यसअघि उनीहरूले नेपाली सुरक्षाकर्मी र गाउँलेमाथि बन्दुक ताकेका थिए । घटनालगत्तै सदरमुकाम चन्द्रगढीबाट सहायक प्रमुख जिल्ला अधिकारी निरौलाको नेतृत्वमा स्थानीय प्रशासनको टोली केचनातर्फ गएको थियो । टोली त्यहाँ पुग्दा स्थानीय बासिन्दा एसएसबीविरुद्ध नारबाजी गर्दै थिए ।

निरौला नेतृत्वको टोलीले तीन घन्टा लामो छलफलपछि एसएसबीका कमान्डर डिबी नागीलाई हतियारसहितको एसएसबी टोली जिम्मा लगाएको हो । ‘प्रजिअको आदेशअनुसार उनीहरूलाई भारतीय पक्षको जिम्मा लगाएको हुँ,’ उनले भने, ‘माथिको जे आदेश थियो, त्यहीअनुसार प्रक्रिया पूरा गरेर छोडियो ।’ यस विषयमा उनले थप बताउन चाहेनन् । झापाको केचना नाकाबाट नेपाल छिरेका भारतीय सुरक्षाकर्मीले पेट्रोलियम तस्करलाई खेद्दै भूलवश हतियारसहित नेपाली भूमिमा प्रवेश गरेको दाबी गरे पनि स्थानीय बासिन्दाले भने त्यो झूटो भएको बताएका छन् ।

विनाकारण एसएसबीले नेपाली भूमिमा आएर आफूहरूमाथि आक्रमण गरेको उनीहरू बताउँछन् । तस्कर लखेट्दै आएको भनिएका सीमा सुरक्षा बल एसएसबीका जवानले झापाको केचना–४ का मोहम्मद आलमलाई कुटपिट गरेका छन् । तेल तस्कर भागेर आलमको घरमा लुकेको भन्दै एसएसबीले उनलाई कुटपिट गरेको स्थानीय लाल मियाँले बताए । आलमको घर सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको कार्यालयदेखि ७० मिटरको दूरीमा पर्छ । आलमलाई एसएसबीले कुट्न थालेपछि स्थानीय नाराबाजी गर्दै विरोधमा उत्रिएका थिए ।

(Visited 108 times, 1 visits today)

टिप्पणी

comments